Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

डा. सीके राउत र सरकार बीच ११ बुँदे सहमति

नेपाल सरकार र गठबन्धन बीच भएको सहमतीपत्र
डा. सीके राउत र सरकार बीच ११ बुँदे सहमति
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ फागुन । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउत र नेपाल सरकार बीच शुक्रवार ११ बुँदे सहमति भएको छ ।
स्वतन्त्र मधेश देशको माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दैआएको उक्त सङ्गठन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुवै पक्ष बीच सहमती भएको हो । राष्ट्रिय सभाकक्षमा आयोजित विशेष समारोहमा भएको सहमतिमा देशको स्वाधीनता स्वीकार्ने, लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने, असन्तुष्टिहरुको समाधान गर्ने सहितका सहमतीहरु भएको छ ।
सरकारले सिके राउतको सङ्गठनको मुद्दा फिर्ता लिने, सिके राउतको सङ्गठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने, विखण्डनवादी क्रियाकलाप नगर्ने सहमतीपत्रमा जनाईएको छ । संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने, गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने, घाइतेहरुलाई उपचार गर्ने, सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितकालागि उपयोग गर्ने उल्लेख छ ।
नेपाल सरकारसँग भएको सहमतीपत्रको अन्तिम अर्थात ११ नम्वर बुँदामा आजैबाट सहमती कार्यान्वयन हुने उल्लेख छ । उक्त समारोहमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा सहित विशिष्ठ व्यक्तित्वहरु सहभागी थिए ।

नेपाल सरकार र गठबन्धन बीच भएको सहमतीपत्र

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

२. राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।
३. लोकतन्त्रमा मतभेदहरु हुन सक्छन्। तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ । त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं ।
४. सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो। हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्र्त गतिमा अघि बढाउन प्रतिबद्ध छौं । त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समानता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं ।
५.स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्दाहरु फिर्ता लिइनेछ । कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निःशर्त रिहा गरिने छ ।
६.स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन ।
७. स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन। र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन ।
८.२०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ ।
९.स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ ।
१०.स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं ।
११.सहमति आजैका मितिबाट लागू हुनेछ ।

तस्विर सौजन्यःdeshsanchar.com

Online Saptari

About The Author

%d bloggers like this: