Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

गणतन्त्र नेपाल, रामराजा र हनुमाननगर जेल काण्ड

सन्दर्भः प्रजातन्त्र दिवस
गणतन्त्र नेपाल, रामराजा र हनुमाननगर जेल काण्ड
Bwtech New Add With Software & Bull SMS

-अजय कुमार झा

 अजय कुमार झा

विक्रम संवत् १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधनपश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोचसँगै नेपाल एकीकरणको आरम्भ भयो । पृथ्वी नारायणले आफ्नो पराक्रमले तर पटक पटकको हारबाट विचलित नभई ससाना राज्यहरूमाथि विजय प्राप्त गर्दै एकीकृत नेपालको निर्माताको सम्मान प्राप्त गरे । देश, काल, परिस्थितिहरूले पृथ्वी नारायण शाहको भूमिका, योगदान र सम्मानमाथि वाञ्छित/अवाञ्छित अनेकानेक प्रश्नहरू प्रहार गरेका छन्, तर ती प्रश्नहरूले नेपाल राष्ट्रका पितृत्वबाट भने उनलाई बेदखल गर्न सक्दैनन् । पृथ्वी नारायणले कायम गरेको शाहवंशीय सत्तालाई अढाई सय वर्षपछि संघर्ष र बलिदानको बलले समाप्त पार्दै आज गणतन्त्रात्मक राष्ट्र बनेकोमा नेपाल आज प्रसन्नचित्त देखिन्छ । तर नेपाली जनताको मुहारमा यो प्रसन्नता ल्याउने व्यक्तित्व र घटनाहरूप्रतिको समुचित सम्मान प्रदर्शन गर्ने दायित्वबाट पनि नेपाल र नेपाली जनमानस उदासीन हुन सक्दैन ।
गोर्खा नरेश पृथ्वी नारायण शाहले पटक पटकको आक्रमणपश्चात वि.सं १८०१ मा सर्वप्रथम नुवाकोटमाथि विजय प्राप्त गरे । त्यसपछि उनले कीर्तिपुरको युद्धमा पनि पटक पटक हार ब्यहोर्नुपर्यो तर कीर्तिपुरलाई हात नपारी छाडेनन् । पृथ्वी नारायणले वि.सं १८२५ भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा मनाइरहेका कान्तिपुरेमाथि चढाई गरे । त्यसपछि उनको विजयपथ सहज बन्दै गयो र क्रमशः पाटन, भक्तपुरमाथि विजय प्राप्त गरे । पृथ्वी नारायणले कान्तिपुर उपत्यकामाथि विजय हासिल गरिसकेपछि वि.सं १८२६ मा आफ्नो राजधानी गोर्खाबाट कान्तिपुर सार्दै नेपाल अधिराज्यको स्थापना गरे । उनले कायम गरेको अधिराज्य २ सय ३८ वर्षपछि उनको दशौं पुस्ताले शासन गरी रहँदा समाप्त भएर गयो । नेपाल अहिले गणतन्त्र भएको छ । पृथ्वी नारायणका उत्तराधिकारीहरूले नभई जनताका छोराछोरीहरूले नेपाल राज्यको शासकीय बागडोर सम्हाल्न थालेका छन् । नेपालले यस्तो भीषण परिवर्तन सहजै प्राप्त गरेको होइन । नेपाली जनताको ६ दशकको अविराम संघर्ष, युद्ध र बलिदानबाट नेपालले यो ऐतिहासिक उपलब्धि हात पारेको हो ।
पृथ्वी नारायण शाहले वि.सं. १७९४ मा तराईका अधिपति मकवानपुर नरेश हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गरे । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । कान्तिपुर उपत्यकाका शासकहरूलाई मकवानपुरको हरेक तरहको सहयोग प्राप्त थियो । कान्तिपुरमाथिको आक्रमणमा पटक पटक हार खानुको पछाडि मकवानपुरको तिरहुतिया सैन्यबल एक प्रमुख कारणको रूपमा रहेको थियो । मकवानपुर–कान्तिपुर उपत्यका सम्बन्धमाथि हस्तक्षेप नगरी नहुने ठानेर नै पृथ्वी नारायणले गोर्खा–मकवानपुर वैवाहिक सम्बन्ध कायम गरेका थिए । तर गोर्खा–मकवानपुरको नवस्थापित सम्बन्धले मकवानपुर–कान्तिपुर सम्बन्धलाई समाप्त गर्न सकेन । तसर्थ पृथ्वी नारायणले वि.सं. १८१९ मा ससुराली मकवानपुरलाई कब्जामा लिए । पृथ्वी नारायण र उनीपछि उनका छोरा बहादुर शाहले बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरूलाई कब्जामा लिएर एक विशाल नेपालको निर्माण गरे ।
उत्तरी छिमेकी तिब्बतसँग हिमाली मार्गमाथिको नियन्त्रणको सवालमा युद्ध हुँदा तिब्बतको चीन उभिएपछि नेपाल पछि हट्नुपर्यो । त्यस्तै दक्षिणी छिमेकी भारतको बेलायती शासकसँगको युद्धमा नेपालले आफ्नो सीमाको रक्षा गर्न असफल भयो र महाकाली पश्चिम र मेची पूर्वका आफ्ना क्षेत्रहरू गुमाउनुपर्यो । तर सन् १८५७ को सिपाही विद्रोहमा अंग्रेज शासकलाई सैन्य सहयोग दिएर नेपालले सन् १८६० मा राप्ती–महाकाकालीबीचको तराई भूभाग फिर्ता पायो । उक्त क्षेत्रको प्राप्तिको यश शाह शासकले नभई राणा प्रधानमन्त्री जङ्ग बहादुरको पोल्टामा गयो । नेपालको वर्तमान सिमाना यस प्रकार कायम हुँदै आएको हो ।
पृथ्वी नारायण शाहले अकण्टक अधिराज्यको स्थापना गर्न सफल भए पनि मुलुकको शासन भने नत उनले न उनका उत्तराधिकारीहरूले सहज रूपमा सञ्चालन गर्न सके । उनको जीवन युद्धैयुद्धमा बित्यो, युद्धोत्तर शासन गर्ने उनको प्रबल इच्छा अधुरै रह्यो । एक व्यवस्थित शासन कायम गर्ने उनको इच्छा अपूरै रहेको तथ्य मृत्युसैय्यामा उनले व्यक्त गरेको विचारबाट थाहा हुन्छ । पृथ्वी नारायणको शेषपछि दरबारभित्र गुटबन्दी, षडयन्त्र, कुशासन आदिले ठाउँ लिँदै शासनलाई अस्थिर बनाउँदै लग्यो । पृथ्वी नारायणको जेठो छोराको हैसियतले प्रतापसिंह शाहले शासकीय उत्तराधिकार त पाए तर उनले कुशलतापूर्वक शासन गर्न सकेनन् । उता पृथ्वी नारायणले छोडेर गएको युद्धहरूबाट शासनले मुख मोड्न नसक्ने अवस्था हुँदा कान्छा छोरा बहादुर शाहले युद्धको कमान थामे । बहादुर शाह साँच्चिकै बहादुर थिए । उनले पृथ्वी नारायणको विजय रथलाई अकण्टक अगाडि बढाए र देशको सिमानालाई पश्चिम कांगडा र पूर्व टिस्टासम्म पुर्याए । नेपाल अधिराज्यको क्रमिक विस्तारबाट दरबारमा खुसीको माहौल अवश्य नै थियो । तर शासन र सेनाको कमान दुई व्यक्तिमा निहित हुन पुग्दा त्यसले देश र दरबारभित्र द्वैध शासनको विजारोपण गर्यो ।
प्रतापसिंहकी महारानी राज्यलक्ष्मी र बहादुर शाहबीच नराम्रो तरिकाबाट संघर्ष यस प्रकार सुरु भयो कि त्यसले पुस्तादरपुस्तासम्म द्वैधशासनको संस्कार नै बसाल्यो । यो संस्कार शाहशासकका भाइभारदारमा मात्र सीमित रहेन । कालान्तरमा द्वैधशासनको नतिजा राजा र प्रधानमन्त्रीबीच समेत लामो समयसम्म कायम रह्यो । राजा श्री ५ र प्रधानमन्त्री श्री ३ को वैधानिक हैसियतको द्वैधशासन एक सय चार वर्षसम्म चल्यो । द्वैधशासन, सत्ता तथा शक्ति संघर्षको कुचक्रमा नेपाल यस प्रकार अल्झियो कि नेपाली शासन जनमुखी हुन सकेन । जो कालान्तरमा शासकहरूकै लागि विनाशकारी सिद्ध भयो र नेपाल गणतन्त्रको शरणागत हुन पर्यो ।
सन् १८४६ मा शासनको बागडोर सम्हालेकी रानी राज्यलक्ष्मीले सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्न खोज्दा जङ्गबहादुरले रानीका बफादार सयौं राजखलक, भारदार र रजौटाहरूको हत्या गरी मुलुकको शासनमाथि कू गरे । नेपालको इतिहासमा ‘कोतपर्व’ भनेर अध्ययन गरिने उक्त घटनापछि मुलुकको सैन्यशक्ति जङ्गबहादुरको हातमा आयो । उनले राजाबाटै अधिकारपत्र गराई राजालाई शक्तिहीन तुल्याए । आफू श्री ३ महाराजको उपाधि लिई श्री ५ लाई छायामा पारी देशको शासन चलाए । राजा र युवराजहरूलाई आफ्नो चेलीबेटी ब्याही ज्वाइँ बनाए । श्री ३ र प्रधानमन्त्रीलाई वंशाणुगत बनाई मुलुकको सम्पूर्ण शीर्षतहमा आफ्ना भाइभतिजाहरूलाई नियुक्त गरे । र मुलुकमा स्वेच्छाचारी तथा निरङ्कुश शासन प्रारम्भ गरे । यसलाई जहाँनिया राणा शासन भनेर जानिन्छ ।
वि.सं. १९१३ मा राजा सुरेन्द्रले गरी दिएको पञ्जापत्रअनुसार जङ्गबहादुरलाई कास्की र लमजुङका लागि मात्र श्री ३ महाराज घोषित गरिएको थियो तर पञ्जापत्रले जङ्गबहादुरलाई प्रदान गरेको अधिकार अनुसार श्री ५ नाममात्रको देशको राजा हुन पुगेका थिए । कास्की र लमजुङका उपाधि र सम्पत्तिको भोग चलन पनि जङ्ग बहादुरकै वंशजमा हस्तान्तरण हुँदै जाने व्यवस्था थियो । त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो । जसअनुसार यी दुई जिल्लाबाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने भए । जङ्ग बहादुरले वैधानिक रूपमा नै दोषीमाथि दण्ड सजाय तोक्ने, जीवनदान दिने वा प्राणदण्ड दिने अधिकार पाए । सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने, ब्रिटिश कम्पनी, तिब्बती र चिनियाँ सरकारलगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धिपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने, नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने अधिकार जङ्गबहादुरले पाए । राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध भए उनीमाथि पनि निग्रह (नियन्त्रण) गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो । जङ्गबहादुरले पाएका अधिकारहरू उनको शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि पञ्जापत्रमा लेखियो ।
पञ्जापत्रले जङ्गबहादुरलाई एकप्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनायो । जनताको आधारभूत मौलिक अधिकार खोसिएको थियो । राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो । राणाको अधिनायक्त्व र अत्याचारका कारण राजपरिवार र जनता दुवै आक्रोशित हुँदै गए । राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए त्यसैले आफ्नो स्थायित्व सुरक्षित ठान्दथे । तर सन् १९४० दशकको उत्तरार्धमा लोकतन्त्रको पक्षमा संघर्षहरूको उदय हुन थाल्यो । राजनीतिक दलहरू गठन भए र राणा शासनको विरुद्धमा उत्रे । देशमा संविधानहीनताको अन्त्य गर्दै राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको बैधानिक कानुन २००४ लागू त गरे तर अधिकार भने आफैंमा निहित राखे । तसर्थ जनसंघर्ष रोकिएन र जनबलमा संघर्षले उचाइ प्राप्त गर्दै गयो । अन्ततः संघर्ष सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासनको अन्त्य भयो । यस संघर्षलाई २००७ सालको जनक्रान्ति भनेर सम्बोधन गरिन्छ ।
२००७ को क्रान्तिमा प्रजा परिषद्, नेपाली कांग्रेस दलहरूले नेतृत्व गरे । भारत ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएर त्यहाँ जनताको सरकार गठन भइसकेकाले नेपालमा राणा शासक कमजोर पर्यो भने संघर्षकारी शक्ति सशक्त बन्दै गएको थियो । यसै अवस्थामा नेपाली कांग्रेसले सशस्त्र संघर्ष थाल्यो । अन्त्यमा भारतको नयाँ दिल्लीमा राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय सम्झौता भएपछि आन्दोलन रोकियो । दिल्ली सम्झौताले जनताद्वारा निर्वाचित विधानसभाले संविधान निर्माण गर्ने, नेपाली कांग्रेस र राणाहरूको अन्तरिम मन्त्री मण्डल गठन गर्ने, राणा प्रधानमन्त्रीमा निहित अधिकार राजालाई सुम्पिने, वैधानिक राजा त्रिभुवन हुने, फौजदारी अभियोग लागेकाबाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने, आन्दोलनकारीले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने व्यवस्था गरिएको थियो । दिल्ली सम्झौतापछि प्रजातन्त्रको घोषणासँगै नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो । त्यहाँदेखि हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन थालियो । आज मुलुकमा ६९औं प्रजातन्त्र दिवस मनाइँदैछ ।
नेपाली कांग्रेसको बैरगनिया सम्मेलन (असोज ११—१२, २००७) ले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्दै मुक्ति सेना गठन गर्ने निर्णय गर्यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे ।
मुक्ति सेनाले सुरुमा विराटनगरलगायत पूर्वी पहाडी क्षेत्र कब्जामा लियो । वीरगञ्जमा थिरबम मल्ल र पुरन सिंहले क्रान्तिको नेतृत्व गरे । पश्चिमी क्षेत्रमा डा. के. आई. सिंहले नेतृत्व गरे । पूर्वी नेपालको मोर्चा बी.पी. कोइराला र सुवर्ण शमशेरले सम्हाले । ठाउँठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गरे । ती ती ठाउँमा जनसरकार स्थापना हुँदै गयो । राणाहरूको उपस्थिति काठमाडौंमा सीमित रहन पुग्यो । स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गर्दै छोरा विजय शमशेरलाई दिल्ली पठाए । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, कांग्रेस र राजा त्रिभुवनबीच १ फागुन २००७ मा त्रिपक्षीय सम्झौता भयो । राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । राजा त्रिभुवनले देशको शासन अब उप्रान्त जनताले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस भन्ने आफ्नो इच्छा र निर्णय भएको भन्दै सो विधान तयार नभएसम्म मन्त्रिमण्डल गठन गरिएको घोषणा गरेका थिए ।
गणतन्त्र भनेको जनताको शासन हो । अर्थात् शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति निर्वाचित भएर पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई नै गणतन्त्र भनिन्छ । लोकतन्त्र अथवा प्रजातन्त्र गणतन्त्रभन्दा फरक हुन् । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमा सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणतन्त्रात्मक व्यवस्था अपनाएका छन् र साथसाथै लोकतान्त्रिक पनि । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
तर नेपाल वि.सं. २००७ मा राजा त्रिभुवनले घोषणा गरे झैं त्यति बेला नै गणतन्त्र भएको होइन । नेपाली जनताले फागुन ७ गते परम्परागत रूपमा मनाउँदै आएको प्रजातन्त्र दिवस वास्तवमा प्रजातन्त्र दिवस नै हो, गणतन्त्र दिवस होइन । देशले प्रजातन्त्र दिवससँगै वास्तवमा वैशाख ११ गते लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस पनि मनाउँदै आएको छ । भिन्न भिन्न मितिमा एक लहरले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवस मनाइनुका कारणहरू छन् ।
स्वेच्छाचारी तथा अत्याचारी निरंकुश राणा शासनबाट मुक्ति प्राप्त भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । वास्तवमा यो मुक्ति दिवस नै हो । तर यसलाई प्रजातन्त्र दिवस भन्नुमा पनि कुनै अतिशयोक्ति नहुन सक्छ । किनभने नेपालमा प्रजातन्त्र भनेको उदारवादी राजतन्त्रलाई बुझिन्छ । यस अर्थमा २००७ को क्रान्ति (परिवर्तन) बाट राजाले आफ्नो गुमेको अधिकार फिर्ता पाएको थियो ।
जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनस्र्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनापछि विकास र समृद्धिको बाटोमा नेपाल त अगाडि बढ्न खोजेको छ । तर वास्तवमा लोकतन्त्र, गणतन्त्र र संघीयता नेपालको भूराजनीतिक आवश्यकता हो अथवा परिस्थितले उत्पन्न गरेको परिणाम हो भन्ने सवाल केही समयसम्म बहसको रूपमा रही रहनेछ । विश्वका अझै पनि कतिपय विपन्न वा समृद्ध राष्ट्रहरूमा राजतन्त्रात्मक व्यवस्था कायम रहिरहेको अवस्थामा नेपालमा राजतन्त्रलाई फाल्नुका पछाडिको वास्तविक कारणको खोजी केही समय भई रहनेछ । यदाकदा शाह राजा पुनः सत्तामा फर्किने वा फर्काइने गन्थनमन्थन पनि नचलेको होइन । राजतन्त्र फर्किने कुरालाई कतिपयले असम्भव र कतिपयले अवश्यम्भावी भन्दछन् । बेलायत राजतन्त्रबाट मुक्ति पाएर पुनः राजतन्त्रमा गएको उदाहरणलाई अनदेखा गर्न नसक्नेले बेलायती प्रोटेक्टर ओलिवर क्रमवेलको कल्पना नेपाली नेताहरूमा गर्न सक्नुपर्छ । भविष्यका कुरालाई तत्काल भविष्यत् कालकै गर्भमा छाड्नुपर्छ ।
शाहवंशको कुल २३८ वर्षको शासनमध्ये शाह राजाहरूले प्रत्यक्ष रूपमा सम्पूर्ण अधिकार सम्पन्न राजाको रूपमा शासन गरेको पछिल्लो अवधि वि.सं. २०१७ देखि २०४६ सम्मको ३० वर्ष र २०५९ माघ १९ देखि २०६३ वैशाख १० सम्मको झण्डै साढे तीन वर्षको अवधि हो, जो मुलुकलाई गणतन्त्रतर्फ लाग्न विवश पार्यो । पञ्चायती व्यवस्थाको ३० वर्षले जनताको राजनीतिक आस्था र विचारको अधिकार खोसेका कारणले २०४६ सालको जनआन्दोलनबाट राजालाई दलीय स्वतन्त्रताको परिधिमा निरन्तरता दिने प्रयास गरेको थियो । तर राजा ज्ञानेन्द्रको कू र स्वेच्छाचारिताले भने राजाहरूले जनताको राजनीतिक अधिकार वर्दाश्त गर्न नसक्ने निष्कर्षमा देशलाई पुर्यायो । राजाले वि.सं. २००० देखिनै गणतन्त्रको आगो सल्किदै आएको भेउ नपाउनु, बेलाबखत फुट्दै आएको गणतन्त्रको लावालाई अनदेखा गर्नु र देशमा जनवादी सत्तामा लैजान थालिएको गुरिल्ला युद्धको सही मूल्यांकन गर्न नसक्नु पनि राजतन्त्र समाप्तिका प्रमुख कारणहरू भए । त्यसै गरी राजा स्वभावैले शासक र शोषक हुन्छन्; जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको चाहनालाई उचित महत्व दिन सक्दैनन् भन्ने धारणालाई पनि नेपाली राजाहरूले निमिट्यान्न पार्न नसक्नु गणतन्त्र बहालीको अर्को सशक्त कारण बन्यो ।
नेपाली जनता गणतन्त्रमा पुगेकोमा आज गौरवान्वित महसुस गर्दछन् । तर गणतन्त्र प्राप्तिका लागि जनताले ६ दशकसम्म अविराम संघर्ष गर्नु पर्यो र हजारौं नागरिकले बलिदान दिनुपर्यो । आवरणमा हेर्दा संघर्षका अनेक कालखण्ड, तिनका नायक र प्रतिफलहरू देखिन्छन् । तर सारमा हेर्दा समग्र संघर्ष गणतन्त्रमुखी र एकमात्र नायकको रूपमा राम राजा प्रसाद सिंह रहेको देखिन्छ । गणतन्त्रका सूत्रधार भएकाले नै उनलाई मात्र गणतन्त्रवादी नेता भनेर चिनिन्छ । नेपाल सरकारले उनलाई मरणोपरान्त (वि.सं. २०६९।१०।१२ गते) प्रदान गरेको विभूण अधिकारपत्रमा भनिएको छ- “रामराजाप्रसाद सिंह, गणतन्त्रवादी नेता (मरणोपरान्त) लाई नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएबापत राष्ट्रगौरव मानपदवीद्वारा विभूषित गरिएको छ ।”
रामराजा प्रसाद सिंहको जन्म वि.सं. १९९२ मा सप्तरीको कोइलाडी गाउँमा भयो । २०४२ सालको सिंहदरबार बम विस्फोट घटनाबाट उनी गणतन्त्रवादी नेताको रूपमा प्रख्यात भए । यद्यपि उनी नौ वर्षकै बाल्यकालमा नै देशलाई राजाविहीन बनाएर गणतन्त्रात्मक बनाउन संकल्पचित्त भएका थिए ।
गणतन्त्रको संघर्षमा आफ्नो सर्वश्व अर्पित गरे वापत कालचक्र रामराजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनसम्म पुर्यायो तर सम्झौतावादी अराजनीतिक गठजोडका कारण उक्त पद उनीबाट सुशोभित हुन पाएन । अन्यथा नेल्सन मण्डेलाको दक्षिण अफ्रिका झै नेपालले पनि रामराजाको कहलिने थप अवसर पाउने थियो ।
रामराजा प्रसाद सिंहले गणतन्त्रको प्रेरणा हनुमाननगर जेल काण्डबाट पाएका थिए । राणा शासनविरुद्धको संघर्षमा नेपाली कांग्रेसले २००७ मा सशस्त्र संघर्षको संकल्प लियो । तर सशस्त्र संघर्षको पूर्वाभ्यास भने वि.सं. २००० को हनुमाननगर जेल काण्डमा नै भइसकेको थियो । क्रान्तिकारी दृष्टिले हनुमाननगर जेलकाण्डको ठूलो महत्व छ । उक्त ऐतिहासिक घटनामा राणाको हिरासतबाट राम मनोहर लोहिया, जयप्रकाश नारायणलगायतका भारतीय स्वतन्त्रता सेनानीहरूलाई मुक्त गराउन रामराजा प्रसाद सिंहका आफन्तहरूले जेलमा सशस्त्र आक्रमण गरेका थिए । आक्रमणकारी दस्ताले जेल छेउमा रहेको परालको टालमा आगो लगाए । जेलका सिपाही आगोतर्फ लागेपछि उनीहरूलाई नियन्त्रणमा लिँदै गारथभित्र राखिएका समाजवादी नेताहरूलाई मुक्त गराइयो । त्यस क्रममा एक सेन्ट्रीको हत्या पनि भयो । जेलबाट भगाएपछि नेपाली नेताहरूले उनीहरूलाई कोसी हुँदै भारत पठाए । राणा शासनका विरुद्ध पहिलोपटक हनुमाननगर जेलकाण्डका बेला गोली चल्यो । प्रजा परिषदले काठमाडौं बाहिर गतिविधि गर्न नसकिरहेका बेला हनुमाननगर काण्डले राणाविरोधी आन्दोलनलाई सशस्त्र बनाउन पृष्ठभूमि तयार गर्यो । जेलमा आक्रमण गरी भारतीय नेताहरूलाई भगाइएपछि राणा शासकहरू नेपाली स्वतन्त्रता पक्षधर नेताहरूप्रति झन क्रुर भए । जयमंगलप्रसाद सिंह, रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह लगायत करिब २ सय जनालाई राणा शासनले पक्राउ गरी फौजदारी अभियोग चलाइयो । त्यस क्रममा त्यस बखत ९ वर्षका रामराजा प्रसाद सिंह र ६ वर्षका भाइ लक्ष्मण प्रसाद सिंहले पनि १७ महिना जेल बस्नुपरेको थियो । त्यतिबेलै रामराजाले राणा मात्र होइन राजालाई पनि सत्ताबाट बेदखल गर्ने सपना देखे । त्यस्तो सपना जो एक दिन पूरा भइकन छाड्यो । उनले आफ्नो सपना पूरा गर्न आफ्नो जीवन र धनसम्पत्ति सबै न्यौछावर गरे । भनिन्छ– पावरफुल ड्रिम्स इन्सपायर पावरफुल एक्सन ।

(लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।)

Online Saptari

About The Author

%d bloggers like this: