• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बलान बिहुलमा साइकल वितरण

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बलान बिहुलमा साइकल वितरण

राजविराज, २ फागुन । प्रदेश नम्वर २ मा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्य बुधबारदेखि शुरु गरिएको छ ।
सप्तरीको बलान विहुल गाउँपालिकाका माध्यमिक तहका ७० जना छात्राहरुलाई मुख्यमन्त्री लालबाबु राउतले साइकल वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । जागेश्वर गढाइ जनता माध्यमिक विद्यालय सेहराको प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउत लगायत अतिथिहरुले छात्राहरुलाई साइकलको साँचो हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको समाजिक रुपान्तरणको पहिलो खुडकिलो रुपमा आफुहरुले बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई अघि बढाईरहेको उल्लेख गरे । महिला शिक्षित नभएसम्म प्रदेशले समृद्धि हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले समाजमा व्याप्त महिलासँगको विभेद अन्त गर्न समेत यस कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरीहरुको विमा गर्ने कार्य समेत शुरु भई सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले फागुन ९ गते राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट विमा कार्यक्रमको औपचारिक शुरुवात गरिने जानकारी दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री रेणु यादवले प्रदेश सरकारले एक पछि अर्को गरि विभिन्न जनमुखी कार्यक्रमहरु ल्याईरहेको कार्यक्रमहरुले प्रदेशवासीलाई आफनो सरकारको अनुभूति गराई रहेको उल्लेख गरे । उनले प्रदेश सरकारको बेटी पढाउ, बेटीबचाउ, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुले समाजको रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । सांसद यादवले मुख्यमन्त्री राउतको यस्ता कार्यक्रमहरु प्रदेशभित्र मात्र नभई देशभरि नै चर्चाको विषय बनेको र अन्य प्रदेश तथा स्थानीय सरकारहरुले समेत अनुशरण गरि रहेको उल्लेख गरे ।
बलान विहुला गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसभामुख उपमा देव, प्रदेश सभा सदस्य अभिषेक यादव, मुख्य सचिव दिपक सुवेदी सहितको उपस्थिति रहेको थियो ।