
जनकपुरधाम, २९ माघ । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । मन्त्री यादवले आर्थिक अभावका कारण उपचारबाट कोही वञ्चित हुनु नपरोस् भन्ने उदेश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए ।
विपन्न, गरिबहरुको बीमा प्रिमियम सरकारले नै तिर्ने जानकारी दिँदै उनले प्राथमिक उपचार प्रत्येक नागरिकले अधिकारको रुपमा पाउने तयारी रहेको प्रष्ट पारे । स्वास्थ्य बीमाले परिवारमा स्वास्थ्यको चिन्ता नहुने उनले जिकिर गरे । नेपाल जस्तो अल्पविकसित देशमा स्वास्थ्य बीमा लागू गर्न चुनौती रहेको बताउँदै उनले यसमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउन मन्त्री यादवले मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह समेत गरे । स्वास्थ्य बिमा बारे जनमानसमा रहेको भ्रम हटाउनमा सहयोगको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
पाँच जना सदस्य रहेको परिवारले दुई हजार पाँच सय रुपैयाँ प्रिमियर बुझाएर स्वास्थ्य बीमा गराउन सक्ने भएको छ । बीमा गराएको परिवारले वर्षमा पचास हजार बराबरको स्वास्थ्य जाँच, औषधी, उपचार लगायतको सुविधा लिन सक्ने छन् ।
मुख्यमन्त्री लालबाबु राउतले आर्थिक अवस्था कमजोर रहेको परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी हुने धारणा राखे । प्रदेश २ को जिल्लाहरुमा लागु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमले यहाँको जनता लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।
प्रदेशमा राम्रो कामको थालनी भएको छ, उनले भने यसबाट प्रदेशका जनता लाभान्वित हुन्छन् । मानवीय विकास सुचकांकमा पछि परेको प्रदेश २ मा यो कार्यक्रमले नयाँ आयाम थपिने उनले विश्वास व्यक्त गरे ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादको अध्यक्षतामा भएको नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्वारा धनुषा जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सदस्यता दर्ता शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले ३६ जिल्लामा यो कार्यक्रम लागु भएको बताईन् ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र पुर्व राज्यमन्त्री रामसिंह यादवलाई स्वास्थ्य बीमा सदस्यता वितरण गरिएको छ ।