• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वास्थ्य शिविरलाई लक्षित गरी ४५ जनाले गरे रक्तदान

स्वास्थ्य शिविरलाई लक्षित गरी ४५ जनाले गरे रक्तदान

राजविराज, २९ माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा राजविराज स्थित गजेन्द्र चौकमा मङ्गलवार रक्तदान कार्यक्रम आयोजना गरियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बुधबारदेखि सुरु हुन लागेको वृहत स्वास्थ्य शिविरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् ।
सेना, प्रहरी र सर्वसाधारण गरी कुल ४५ जनाले रक्तदान गरेको सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । सप्तरी लगायत प्रदेश २ को सिरहा तथा प्रदेश १ का सुनसरी र उदयपुरका जनतालाई लक्षित गरी सञ्चालन गर्न लागिएको स्वास्थ्य शिविरमा अप्रेशन समेत गरिने भएकोले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
एक हप्ते बृहत् स्वास्थ्य शिविरमा पित्त तथा मृगौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको अप्रेसन, नाक, कानको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङ लगायतका स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार साना–ठूला गरी २ सयभन्दा बढी अप्रेसन गरिने र अन्य बिरामीलाई स्वास्थ्य उपचार, औषधि वितरण तथा सल्लाह सुझाव प्रदान गरिने छ । शिविर हुने स्थानका लागि सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा आवश्यक तयारी गरिएको छ । बिरामीको चाप बढ्दै गएपछि आवश्यकता अनुसार १० गतेसम्म शिविर सञ्चालन गर्ने सहमति भएको मेसु दासले बताए ।