• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

न्यूज टुडे र सत्यापनका प्रकाशक शिवनारायण साह सम्मानित

न्यूज टुडे र सत्यापनका प्रकाशक शिवनारायण साह सम्मानित

राजविराज, २७ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले न्यूज टुडे दैनिक र सत्यापन साप्ताहिकका प्रकाशक शिवनारायण साह सहित चारजनालाई सम्मान गरेको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ स्थित धारापानी पर्यटकीय क्षेत्रमा शनिवार आयोजित महासंघको वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व सम्पादक कृष्णराज वर्मा, पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता, जेठा पत्रकार शिशु प्रसाद देवकोटा र कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष समेत रहेका साह रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख रत्नेश्वर कायस्थले दोसल्ला तथा सम्मानपत्रका साथ कार्यक्रममा उपस्थित वरिष्ठ राजनीतिज्ञ वर्मा र साहलाई सम्मान गरेका छन् । सप्तरी जिल्लामा कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. नामक सञ्चारगृह स्थापना गरी जिल्लामै पहिलो पटक अफसेट प्रविधिबाट दैनिक तथा साप्ताहिक पत्रिका प्रकाशन गरी व्यवसायिक पत्रकारिताको विकासका साथै मिडिया मार्फत राजनीतिक परिवर्तनहरुमा समेत पुर्याएको योगदानको सराहना गर्दै साहलाई उक्त सम्मान प्रदान गरिएको छ ।
शाही शासनकालमा मिडियामा सेन्सरसिप लगाईएको अवस्थामा पनि त्यसलाई चुनौती दिँदै नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आह्वानमा अफसेट मेसिन बीच सडकमै ल्याएर पत्रिका प्रकाशन भएको क्षण सिङ्गो पत्रकारिता र प्रेस स्वतन्त्रताकालागि गौरवमय रहेको भन्दै सम्मानपत्रमा अगाडि भनिएको छ ‘पत्रकारिता क्षेत्रमा युवाहरुको आकर्षण बढाउनुका साथै विभिन्न कठिन परिस्थितिका बावजुद पनि यहाँले पुर्याउनु भएको योगदानको उच्च सराहना गर्दै स–गौरव यो सम्मान–पत्र सादर समर्पित गरिएको छ ।’
पत्रकार साह विगत दुई दशकदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदैआएका छन् । कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. अध्यक्ष साहले सप्तरी सदरमुकाम राजविराजबाट न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्यूज टुडे डट्कम डटएनपी अनलाइन सञ्चालन गर्दैआएका छन् । उनी नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ सप्तरीका अध्यक्ष समेत हुन् । पत्रकार साह मधेशको पक्षमा सशक्त रुपमा आवाज बुलन्द गर्दैआएका छन् ।