राजविराज, २० माघ । सप्तरी प्रहरीले एक भारतीय सहित तीन जना तस्करलाई ४२ केजी गाँजा सहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारत निकासी हुँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय पक्राउ रहेका छन् ।
तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्करहरु बीच हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढामा झडप समेत भएको थियो । प्रहरी टोलीलाई देखेर तस्करले २ राउण्ड गोली चलाएपछि प्रहरीले समेत एक राउण्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । गाँजा नियन्त्रणमा लिई उनीहरुलाई सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले बताए ।