Top_Header_Right_Add

सप्तरीमा क्यान्सर अस्पतालको सम्भाव्यताबारे छलफल

सप्तरीमा क्यान्सर अस्पतालको सम्भाव्यताबारे छलफल

राजविराज, १२ माघ । प्रदेश नम्वर २ सरकारले प्रदेशका जिल्लाहरुमा क्यान्सर अस्पतालको सम्भाव्यताबारे अध्ययन थालेको छ ।
समाजिक विकास मन्त्रालयको आयोजनामा शनिवार राजविराज स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सरोकारवालाहरुसँग सम्भाव्यताबारे छलफल गरेको हो । प्रदेश सरकारद्वारा डा. लक्ष्मी नारायण सिंहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले प्रदेश २ का ८ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन कार्यलाई निरन्तरता दिएका छन् ।
टोलीका संयोजक डा. सिंहले प्रदेशका ६ वटा जिल्लामा आवश्यक अध्ययन र सरोकारवालासँग छलफल समेत गरिएको जानकारी दिए । उनका अनुसार बाँकी रहेका दुई जिल्लामा पुगेर सुझाव संकलन गरी सरकारलाई प्रतिवेदन वुझाईने छ ।
समितिले करिब १० अर्बको लगानीमा अस्पताल भवन निर्माण हुने खाका तयार गरी त्यसका लागि जग्गाको छनौट, पुर्वाधारको ब्यवस्थापन, आवतजावतका लागि प्रशस्त मार्ग, जनघनत्व, स्वास्थ्यकर्मीहरुको वसोवासलगायतका विषयमा अध्ययन गरिरहेको उनले बताए ।
कार्यक्रममा अस्पतालका लागि वर्तमान ऐन–नियमको अध्ययन तथा सरोकारवालासँग छलफल गरी अस्पताल निर्माण गर्न उपयुक्त स्थानको सिफारीस गर्ने उनले बताए । प्रदेश ३ मा रहेको भरतपुर क्यान्सर अस्पतालमा रहेका करिव १५ हजार क्यान्सरका विरामी मध्ये ४० देखि ५० प्रतिशत विरामी प्रदेश २ कै रहेको डा. सिंहले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी भागत यादवले सप्तरीमा मात्रै करिव ५ सय क्यान्सरका रोगी भएको जानकारी दिए । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ३० भन्दा बढी क्यान्सर पीडितले उपचारका लागि सिफारिस लिएको बताए । गत वर्ष ८९ महिला र ९६ पुरुष गरी जम्मा १८५ जनाले क्यान्सरको उपचारका लागि सिफारिस लिएको तथ्यांक प्रस्तुत गरे ।
छलफल कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, स्थानीय तहका मेयर तथा अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी लगायतले प्रदेशको उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पुर्वका प्रदेश १ र २ मा क्यान्सर अस्पताल नरहेकाले दुवै प्रदेश तथा भारतीय विरामी समेतलाई लक्षित गरी सप्तरीमै अस्पताल निर्माण गर्न कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, अग्नीसाइर कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले क्यान्सर अस्पताल सप्तरीमै स्थापना गर्न हरतरहले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer