Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अधिकारको लागि आजन्म संघर्षरत नेता गजेन्द्र नारायण सिंह

अधिकारको लागि आजन्म संघर्षरत नेता गजेन्द्र नारायण सिंह
Bwtech New Add With Software & Bull SMS

-अजय कुमार झा

      अजय कुमार झा

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा नेपाल बसेको छ । १३ करोड वर्षअघि बनेका हिमालय पर्वत शृङ्खला, उपत्यका र तराइका क्षेत्रहरू प्राणीहरूको आकर्षण क्षेत्र बन्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि यस क्षेत्रमा मानवको बसोबास शुरू भइसकेको बुझिन्छ । वर्तमान काठमाण्डू उपत्यकालाई ने नामक मुनिले बसोबास लायक बनाएकाले उनकै नामबाट उपत्यका (राज्य) को नाम नेपाल परेको थियो । वैदिक कालमा नेपाललाई कामरूप, विदेह उदुम्बर, अवन्ती र कैकेय देशहरूसँगै राखी चर्चा गरिएको अथर्वपरिशिष्टमा उल्लेख छ । महाभारत काव्य, बौद्ध ग्रन्थ, कौटिल्यको अर्थशास्त्र तथा कालान्तरमा उदाएका सम्राटहरूले राखेका शिलालेखहरूमा नेपालको प्रसंग आएको देखिन्छ । स्वयं नेपालमा भने वि.सं. ५२२ पछिका अभिलेखहरूमा नेपाल शब्दको उल्लेख भएको छ । नेपालको पश्चिममा बाईसे–चौबिसे राज्य, दक्षिणमा विदेह (मिथिला) र पूर्वमा किराती राज्यहरू पर्दथे । चौबिसे राज्यमध्येका गोरखामा वि.सं. १७९९ मा पृथ्वी नारायण शाहले गद्दी सम्हालेका थिए ।


विक्रम संवत्को अठारौं शताब्दितिर गोरखा नरेश पृथ्वी नारायण शाहले आफ्नो राज्यलाई साम्राज्य बनाउन युद्ध अभियान चलाए । वर्तमान नेपाल त्यसै युद्ध अभियानको परिणामको रूपमा रहेको छ । पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरिसकेपछि वि.सं. १८२६ मा आफ्नो राजधानी गोरखाबाट काठमाडौं सारे र नेपाल अधिराज्यको स्थापना गरे । उनी राजाबाट महाराजा बने । उनका उत्तराधिकारीहरूले पनि नेपालको भूभाग बढाए र महाराजा पनि कहलाए । पृथ्वी नारायणलाई बडा महाराजा भनियो तर कहिल्यै सूर्यास्त देख्न नपर्ने विशाल ब्रिटिश साम्राज्यका अगाडि नेपालले साम्राज्यको घोषणा गर्न पाएन । भारत र चीनमाथि प्रभुत्व कायम गरेका बेलायतको गुलाम बन्नु नपरेकोमा नेपालले ठूलो राहत मान्यो । बरु नेपाली शासकले देशभित्रै उपनिवेशको अवस्था उत्पन्न गरेर साम्राज्यको आनन्द लिए । वि.सं. १९०३ देखि २००७ सालसम्मको शासन त बेलायती साम्राज्यभन्दा पनि बढी खतरनाक थियो ।
सन् १९३९ मा सुरु भई सन् १९४५ सम्म दोस्रो विश्वयुद्ध चल्यो । लगभग ७० देशका थल–जल–वायु सेना युद्धमा सम्मिलित भए । युद्धमा विश्व दुई भागमा बाँडिएको थियो । विभिन्न राष्ट्रका लगभग १० करोड़ सेनाले विश्वयुद्धमा हिस्सा लिए । मानव इतिहासको सबैभन्दा बढी घातक साबित भएको त्यस महायुद्धमा सात करोड़ व्यक्तिको ज्यान गयो । दोस्रो विश्व युद्धमा अवर्णनीय रूपमा जन–धनको क्षति भए पनि त्यस महत्वपूर्ण घटनाले विश्वको मानवीय विकासमा ठूलो गुण पनि लगायो ।
दोस्रो विश्वयुद्धको परिणामस्वरूप एशिया महाद्वीपस्थित यूरोपीय शक्तिको औपनिवेशिक साम्राज्यको अन्त्य भयो । जसरी प्रथम विश्वयुद्ध पश्चात् धेरै जसो राष्ट्रलाई स्वतन्त्रता प्रदान गरिएको थियो, ठीक त्यसै गरी भारत, लंका, बर्मा, मलाया, मिस्र तथा केही अन्य राष्ट्र ब्रिटिश उपनिवेशबाट मुक्त गरियो । हौलैण्ड, फ्रांस तथा पोर्चुगलको एशियाली साम्राज्य पनि कमजोर भयो तथा ती राष्ट्र अधीनस्थ एशियाली राष्ट्रहरू स्वतन्त्र भए । यस प्रकार दोस्रो विश्वयुद्धको परिणामस्वरूप एशिया महाद्वीपको राजनीतिक मानचित्र पूर्ण रूपमा परिवर्तित भएर गयो । स्वतन्त्रताको आँधीमा नेपालको आन्तरिक उपनिवेश पनि समाप्त भयो ।
वि.सं. १९९० मा नेपाली जनताले आन्तरिक उपनिवेशविरुद्ध सुरु गरेको क्रान्तिलाई विश्व स्वतन्त्रताको आँधीले उत्कर्षमा पुर्यायो र नेपाल पनि भारत झैं व्यक्तिको शासनबाट मुक्त भई विधिको शासनतर्फ लम्क्यो । तर मुलुकले तत्कालको परिवर्तनलाई संस्थागत गर्न सकेन र लामो समयको राजनीतिक अस्थिरताले राजालाई एक पटक फेरि लामो समयका लागि सिंहासनारुढ गरायो । परिस्थितिवश नेपाली जनता राजतन्त्रको समाप्ति र लोकतन्त्र/गणतन्त्रको स्थापनाका लागि एकपटक फेरि संघर्षोन्मुख हुनु पर्यो । जुन संघर्ष वि.सं. २०४६ को बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाको आन्दोलन हुँदै वि.सं. २०६३ को गणतन्त्र आन्दोलनमा आएर टुंगियो ।
नेपालमा दोस्रो खेपको लोकतान्त्रिक आन्दोलनको दायित्व नेपाली कांग्रेसले लिएको थियो । आन्दोलनमा तराई मधेशको बृहत् सहभागिता थियो । तर त्यो आन्दोलनले तराई मधेशको लोकतन्त्रसँगै असमानता विरुद्धको आन्दोलनकारी भावनालाई भने आत्मसात गर्न चाहेन । नेपालमा महाराजा पृथ्वी नारायण शाहकै शासनकालदेखि तराईका मधेशी र पहाडका जनजातिमाथि राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत हरेक तरहको विभेद लादिएको थियो । यस्तो विभेदबाट मुक्तिको चाहना तराई र पहाड सबै तिर व्याप्त थियो ।
वि.सं. २००७ मा तराई कांग्रेसको स्थापना र २०१० मा मधेशी जनक्रान्तिकारी दलको स्थापना त्यसै चाहनाको प्राकट्य थियो । तराई मधेशको स्पष्ट चाहना के थियो भने लोकतान्त्रिक आन्दोलनले सँगसँगै विभेदविरुद्धको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । तर तराई मधेशमाथिको पारम्परिक विभेदको समर्थन गरी रहेका जातीय तथा राजनीतिक समूहको प्रभावका कारण नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनलाई राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा नै सीमित राखी हिँड्ने कोसिस गर्यो । त्यसैको परिणाम थियो कि मधेश आन्दोलनका प्रणेता बाबा रामजन्म तिवारीलगायतको एक समूहले २००७ को परिवर्तनसँगै २००८ मा तराई कांग्रेसको स्थापना गरे ।
नेपाली कांग्रेसको प्रमुख सिद्धान्तहरूमा ‘समाजवाद’ पनि समाविष्ट थियो । तर पार्टीले समाजवादको जग सामाजिक समरसता हो भनेर बुझ्न सकेन । ‘सामाजिक समरसता’ सामाजिक आदर्शको प्रत्यय हो । यो एकत्वको चिन्तन हो, यो आत्मीयता वा आत्मवत व्यवहारको दर्शन हो । समाजको एकीकरणको, भावनात्मक एकताको र सामाजिक समानताको विम्ब हो । तराई मधेशले सामाजिक समरसता चाहेको थियो तर त्यो त्यत्तिकै सहज भने थिएन । मधेशले कांग्रेसलाई आफ्नो पार्टी मान्थ्यो तर पार्टीभित्र आफ्नो महत्व भने पाइरहेको थिएन । फलस्वरूप कांग्रेसभित्र पटक पटक मधेशको स्वर घन्किइरहेको थियो । कांग्रेसमा मधेशको आवाज उठाउने प्रखर नेताको रूपमा गजेन्द्र नारायण सिंह थिए, जो सामान्य कार्यकर्ताको तहबाट उठेर केन्द्रीय समितिसम्म पुगेका थिए । कांग्रेस केन्द्रीय समितिमा मधेश विरुद्धको विभेदको समाप्तिका लागि एक विशेष प्रस्ताव पारित गर्न उनले एक प्रस्ताव दर्ज गराए । तर उक्त प्रस्ताव फिर्ता लिन उनलाई बाध्य पारियो । गजेन्द्र नारायण सिंहले उक्त प्रस्ताव त फिर्ता लिए तर त्यस घटनापछि कांग्रेस पार्टी नै त्याग गरे । गजेन्द्र नारायण सिंहले नेपाली कांग्रेस त्याग गरेपछि वि.सं. २०३४ मा पूर्वाञ्चल कांग्रेस गठन गरे । तर २०३६ सालको जनमत संग्रहको घोषणा अगावै नेपाल सद्भावना परिषद् नामक भूमिगत संगठन बनाएर मधेश आन्दोलनलाई ऊर्जा प्रदान गर्न थाले । यस प्रकार उनको राजनीतिक जीवनमा विभेद विरुद्धको आन्दोलनले जो कालान्तरमा मधेश आन्दोलनको नामले जानियो, एउटा अभियानको स्थान लियो ।
मधेशविरुद्धको आन्दोलनको श्रीगणेशकर्तामध्ये रामजन्म तिवारी पछिको दोस्रो प्रमुख व्यक्तित्व रघुनाथ ठाकुर थिए, जसले आफ्ना रचनामार्फत मधेश आन्दोलनलाई एउटा विचार र सिद्धान्तको रूपमा प्रस्तुत गर्ने काम गरेका थिए । आफ्नो प्रसिद्ध रचना ‘परतन्त्र मधेश और उसकी संस्कृति’ पुस्तकमा उनले मधेश आन्दोलनको औचित्य र सिद्धान्तको व्याख्या गरे । वि.सं. २०२७ मा उनको रहस्यमय ढंगबाट निधन भयो । कालक्रममा मधेशको विचारधारालाई विकसित र विस्तारित गर्ने काम गजेन्द्र नारायण सिंहले गरे । कांग्रेस त्यागेको साल वि.सं. २०३४ देखि मृत्यु (२०५८ माघ १०) अघिसम्म अर्थात मधेश आन्दोलनको झण्डै अढाई दशकको महत्वपूर्ण हिस्सा गजेन्द्र नारायण सिंहको नाममा रहेको छ । वि.सं. २०६३ को मधेश विद्रोहको आधार खासमा गजेन्द्र कालमा नै बन्यो । वि.सं. २०६३ को मधेश विद्रोहबाट मुलुक संघीयतातर्फ मोडियो । मुलुकलाई संघीयतासम्म पुर्याउनमा धेरैले होस्टेमा हैस्से गरे तर संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक रोकछेकसँग जुध्दै निरन्तर धक्का लगाउँदै गतिशील बनाउने काम गजेन्द्र नारायण सिंहले गरे । नेपालको राजनीतिक इतिहासमा गजेन्द्र नारायण सिंह यस कारणले अमिट रहने छन् । १७ औं गजेन्द्र पुण्यतिथिको सन्दर्भमा उनको स्मरण स्वाभाविक हुन आउँछ ।
गजेन्द्र नारायण सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि अनेक उपनाम दिइन्छ । समकालीनले उनलाई बोलाउँदा गजेन्द्र बाबू भन्दथे । कुनै समय थियो, जब राज्यले उनलाई पटक पटक झ्यालखानामा जाक्ने काम गर्यो । तर एक यस्तो समय आयो, जब राज्यले राज्यको अभिभारा समेत गजेन्द्र बाबूको हातमा सुम्प्यो र कुनै बेला यस्तो पनि आयो, जब राज्यले उनलाई राजकीय सम्मानका साथ अनन्त यात्रामा विदाइ गर्यो र राष्ट्रिय विभूतिको दर्जा प्रदान गर्यो । हुलाक टिकट प्रकाशन गर्यो ।
गजेन्द्र बाबू सप्तरी जिल्लाकाे कोइलाडी गाउँका थिए । गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंह पनि यसै गाउँका थिए । कम्युनिष्ट नेता तथा अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइत, डा. सीके राउत पनि यसै भेगका हुन् । उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा यसै क्षेत्रबाट प्रतिनिधित्व गर्दछन् र उनी पनि यसै भेगका मूल वासिन्दा हुन् । अन्यान्य महत्वपूर्ण व्यक्तित्वलाई जन्माएको यस भेगका छोरा गजेन्द्र बाबुको जन्म वि.सं. १९८५ को रामनवमीको दिन भयो । राजविराज र भारतको बनारसमा उनले शिक्षा प्राप्त गरे । गजेन्द्र बाबू नेपाल सद्भावना परिषद्को संयोजक र नेपाल सद्भावना पार्टीको अध्यक्ष रहे । उनी एक पटक राष्ट्रिय पञ्चायतमा, दुई पटक प्रतिनिधिसभामा, एक पटक राष्ट्रियसभामा निर्वाचित भए भने दुई पटक संयुक्त सरकारमा सम्मिलित भए । तर हरेक क्षण उनी अधिकारका लागि संघर्षशील रहे ।
वि.सं. २००७ को जनक्रान्तिमा उनले उल्लेखनीय काम गरे । त्यस क्रान्तिमा कांग्रेस नेता कृष्ण प्रसाद भट्टराई कुनौली क्याम्पका इन्चार्ज थिए । भट्टराईकै हातबाट गजेन्द्रबाबूले नेपाली कांंग्रेसको सदस्यता लिए । निरंकुश शासन विरुद्ध देश दन्किरहेका बेला प्रशासनले राजविराजमा पनि प्रदर्शनमा रोक लगाउन कफ्र्यु लगायो । कफ्र्युलाई तोडेर नाराबाजी गर्न गजेन्द्र बाबू कुशेश्वर पाठक र महेन्द्र मुखियाका साथ निस्के । नाराबाजी गर्दै गर्दा उनीहरूलाई प्रहरीले गिरफ्तार गरी राजविराज जेल पुर्यायो । गजेन्द्र बाबूको यो पहिलो जेल यात्रा थियो । राजा महेन्द्रले टेक ओभर गरेको वि.सं. २०१७ देखि २०३६ मा जनमत संग्रहको घोषणाअघिसम्मको दुई दशकको अवधिमा उनी ११ वर्ष भारत प्रवासमा र बाँकी समय पटक पटक गरी बढीमा सात वर्षसम्म लगातार गरी राजबन्दी बनाइए । बहुदलको पुनस्र्थापनापछि मधेश आन्दोलनको क्रममा प्रहरीद्वारा टाउकोमा लाठी बजारिएको फोटो उनको अनेक चर्चित फोटोमध्येको एक हो । यसै क्रममा उनले राजधानी काठमाडौंमा दुई पटक अनशन बसे, मेची काली यात्रा गरे र पटक पटक आन्दोलन चलाए । गजेन्द्रबाबू पहिलोपटक अनशन बसेको बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारको तर्फबाट गृहमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी नेपाल सद्भावना पार्टीसँग गरेको सम्झौता नै मधेश आन्दोलनसँग गरिएका अनेकानेक सम्झौतामध्येको सबैभन्दा पहिले गरिएको सम्झौता हो ।
गजेन्द्र बाबूले देश र मधेश दुवैलाई योगदान गरे । उनको संघर्षको लक्ष्य लोकतन्त्र र समानता दुवै रह्यो । उनले मधेशी र पहाडका जनजाति तथा दलितको उत्पीडनको सवाल त्यति बेला उठाउनुभयो, जतिबेला यस प्रकारका आवाज उठाउनेहरूलाई राज्यले अराष्ट्रिय, साम्प्रदायिक भन्ने र थुन्ने गरेको थियो । गजेन्द्र बाबूले जसको हितमा संघर्ष गरे त्यसै समुदायबाट पनि पटक पटक अपहेलित भए । तर उनी संघर्षबाट विचलित भएनन् । फलतः उनी राष्ट्रिय विभूति पनि कहलाए ।
गजेन्द्र बाबूले नागरिकता वितरणमा मधेशी समुदायप्रति राज्यद्वारा गरिएको रंगविभेदको कुरा उठाए । उनको संघर्षको बलले नागरिकता प्रक्रिया क्रमशः सरल बन्दै गयो । आज पनि मधेशीको नागरिकता मुद्दा कुनै न कुनै रूपमा कायमै छ । तर नागरिकताविहीनको पीडादायी स्थिति भने अब विद्यमान छैन ।
गजेन्द्र बाबूले उठाएका सांस्कृतिक पहिचानको मुद्दा पनि एक हो । उनले मधेशका चाडपर्वमा सार्वजनिक अवकाशको मागबाट सांस्कृतिक पहिचानको आन्दोलन चलाए । आज सांस्कृतिक विभेद छोट्टिदै र सामुदायिक सहिष्णुता बढ्दै गएको अवस्था छ । मधेशी भनेर पहिचान लुकाउने वा हेप्ने अवस्था आज एक तरहले समाप्त भइसकेको छ ।
गजेन्द्र बाबूले आरक्षणको मुद्दा उठाए । आरक्षणको मागबाट राज्य रन्थनियो । यद्यपि उनको निधनको पाँच वर्षपछि वि.सं. २०६३ मा समावेशी ऐन आयो र आरक्षणको मागले एउटा आकार ग्रहण गर्न लाग्यो । १२ वर्षको तदन्तरमा समावेशी ऐनले संरचनात्मक तथा संस्थागत विकासको मानेमा निकै फड्को मारी सकेको अवस्था छ ।
गजेन्द्र बाबूले पाँच विकास क्षेत्रको भोगौलिक विभाजनलाई अवैज्ञानिक भनेका थिए । त्यसको साटो तराईमा दुईवटा र पहाडमा दुईवटा तथा काठमाडौं उपत्यका एकवटा गरी पाँचवटा विकास क्षेत्रको विभाजन गर्न माग गरे । उनले तराईको स्वायत्तताको माग पनि गरे तर राजनैतिक साझेदारी संघीय शासन व्यवस्थाबाट हुने भन्दै संघीय शासन प्रणालीको माग पनि गरे ।
मागका लागि मात्र माग गर्ने चरित्र गजेन्द्र बाबूको थिएन । उनले जनताको आवाजलाई सर्वप्रथम जनताकै माझमा उठाए । उनले मधेशीलाई मधेशी हुनुमा गर्व गर्न सिकाए । अधिकार प्राप्तिका लागि संघर्ष गर्न सिकाए । उनले वि.सं. २०३९ देखि २०५८ सम्म लगातार आन्दोलन चलाई राखे । उनी बितेको वर्ष पनि ऋतिक रोशन प्रकरणमा मधेश उनकै नेतृत्वमा आन्दोलनरत थियो । मधेश आन्दोलनको इतिहासमा पहिलो पटक रूपनीको राजमार्ग जाम पारियो । शहीद खुसीलाल यसै बेलाका शहीद हुन् । गजेन्द्रबाबूले उठाएका सबाल र मुद्दाहरू अझै पनि धेरै थिए र छन् । गजेन्द्र बाबूले उठाएका सवालहरू उनले नै पहिलो पटक उठाएका हुन् भन्ने होइन । ती सवालहरू धेरै पहिलेदेखि उठ्दै आएका हुन् । तर गजेन्द्र बाबूको योगदानको महत्व के हो भने उनले मधेश आन्दोलनलाई २४ वर्ष एक्लो नेतृत्व गरेर उपलब्धिको नजिक पुर्याए । वि.सं. २०५१ मा गजेन्द्र बाबूको आमरण अनशनको दबाबमा नेपाल सरकारले पहिलो पटक सरकारी स्रेस्तामा मधेशका समस्या दर्ज गर्न बाध्य भयो ।
गजेन्द्र बाबूको योगदानको कदर गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले उनको शालिक लगाउने, सार्वजनिक प्रतिष्ठानको नामकरण गर्ने र जनहितका कार्यक्रमहरू चलाउने गरेका छन् । यी कुराहरू अवश्य पनि उचित नै छ । तर आवश्यक के पनि छ भने गजेन्द्र बाबू जे कुराका लागि होमिए ती कुराहरूको स्थापना र सफलतम प्रयोग हुन सकोस् । राज्य व्यवस्थामा असमानताका स्थिति अझै पनि एक तरहले उस्तै छ । देशले प्रतीकात्मक उपलब्धि मात्र खोजेको होइन । गजेन्द्र बाबूले सोचेको देश समतामूलक समाजको देश हो । अर्थात् सामाजिक समरसत्ताको स्थापना हो । मधेश आन्दोलनको सूत्रपात गर्दा उनले निर्माण गरेका राजनैतिक मञ्चको नाम नेपाल सद्भावना परिषद् राख्नुको पछाडि उनको ध्येय राष्ट्रिय सौहाद्र्रताको स्थापना थियो न कि द्वन्द्वको आगोमा देशलाई झुलस्याउनु ।
वास्तवमा गजेन्द्र बाबू मात्रको चाहनाका लागि होइन कि समस्त नेपाली जनताको चाहनाको एउटै कुरो समानता, विकास र अमन चैन हो । उनले फगत नयाँ भूगोल कोर्नुपर्ने कुरा गर्नुभएको थिएन । एकात्मक र केन्द्रीय ढाँचाको असफलतालाई हेरेर नै उनले वैकल्पिक प्रणालीको रूपमा संघीयताको कुरा गरे । संघीयताले राज्य व्यवस्थालाई सन्तुलित गर्दछ कुनै एकतिर ढल्कन दिँदैन । मानवताको बाटो खोल्दछ । वस्तुतः संघीयताको मूल चरित्रको दिगोपना र संस्थागत विकासका लागि नयाँ सरकारहरूले काम गर्न सक्यो भने त्यही आजको आवश्यकता हो र गजेन्द्र बाबूप्रतिको श्रद्धाञ्जलि हुनेछ ।
(लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।)

Online Saptari

About The Author

%d bloggers like this: