• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशमा स्तरीय शिक्षा र मर्यादित परीक्षा प्रणाली आवश्यकः प्रा. डा. अर्याल (भिडियो हेर्नुहोस् )

मधेशमा स्तरीय शिक्षा र मर्यादित परीक्षा प्रणाली आवश्यकः प्रा. डा. अर्याल (भिडियो हेर्नुहोस् )

श्यामसुन्दर यादव
राजविराज, ५ माघ । त्रिभुवन विश्व विद्यालयका भौतिक शास्त्र विभाग प्रमुख प्रा. डा. विनिल अर्यालले तराई–मधेशका कलेज तथा विद्यालयहरुमा स्तरीय शिक्षाको अभावमा दक्ष जनशक्ति उत्पादन हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘न्यूज टुडे’सँगको साक्षात्कारमा उनले शिक्षण संस्थाहरुमा गुणस्तरीय पठन–पाठन तथा मर्यादित परीक्षा प्रणाली हुनुपर्नेमा जोड दिँदै उत्पादित जनशक्ति असल भए मात्र समाज र देशले गति लिने बताए । विद्यालयहरुमा समुचित प्रयोगशाला, खेल मैदान, र समुचित वातावरण समेत आवश्यक रहेको बताउँदै प्रा. डा. अर्यालले भने ‘संघ, प्रदेश र स्थानीय सरकारले समेत शिक्षालाई प्राथमिकतामा राख्नु जरुरी छ ।’
हालको प्रदेश नम्वर २ लाई कृषि र औद्योगिक जोनको रुपमा विकास गरिए समृद्धि सुनिश्चित रहेको बताउँदै यो भूमीलाई भारतको गुँड गाउँ, पञ्जाब, हरियाणा तथा चीनको संघाई जस्तै बनाउन सकिने उनको भनाई थियो । ‘अमेरिकामा २.३ प्रतिशत जग्गामा मात्र खेती गरिन्छ, त्यसबाटै युरोपमा समेत निर्यात गरिन्छ’ डा. अर्यालले भने ‘पर्यटनमा मात्र फोकस गरेर हुँदैन, प्रदेश २ को यो क्षेत्रलाई एग्रिकल्चर एण्ड इन्डिष्ट्रियल जोन बनाउनुपर्दछ ।’
तराई मधेशका युवाहरु उच्च शिक्षा अध्ययनलाई भन्दा वैदेशिक रोजगारीतर्फ आकर्षित भएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो अवस्थालाई रोक्न सरकारले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक समय भारत र कोरियामा समेत रोजगारीकालागि युवा जनशक्ति विदेशिने क्रम यस्तै भयावह रहेको चर्चा गर्दै डा. अर्यालले भने ‘आफ्नै भूमीमा सम्भावना नदेखेपछि समुदायले बाँच्न तथा आधारभूत आवश्यकता पूर्तिकालागि स्वतः स्ट्रगल गरेको छ, यहि प्लेटफर्म तयार भईसकेपछि बिस्तारै विदेशबाट आएकाहरुलाई यहि टिकाउन सकिने रणनीति सरकारसँग हुनु आवश्यक छ ।’
किसान आन्दोलन भएको यो क्रान्तिकारी भूमीले देशमै परिवर्तन ल्याएको चर्चा गर्दै प्रा.डा. अर्यालले भने ‘देशको पूर्वी र पश्चिमी क्षेत्र निक्कै अपगे्रड भएको छ तर दुःख लाग्छ अपेक्षाकृत यो भूमीले कृषिमा समेत अपेक्षाकृत परिवर्तन ल्याउन सकेन ।’ कोशी क्षेत्रको यो भूमीमा टुरिज्मको समेत प्रवल सम्भावना रहेको बताउँदै साइबेरिया सहित विभिन्न देशबाट हज्जारौंको झुण्डमा वर्षेनी चराहरु आउने गरेकोले बर्ड टुरिज्मको रुपमा समेत अगाडि बढाउन सकिने उनको भनाई थियो ।
त्रिभुवन विश्व विद्यालय सभा, राष्ट्रिय योजना आयोजना (उच्च शिक्षा), विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्पेस साइन्स सेटेलाइट एडभाइजरी कमिटी, विश्व विद्यालय बोर्डको सदस्य सहित विभिन्न समितिको जिम्मेवारीमा रहेका उनले नेपाल सरकाले अझैं आफ्नो आकाश प्रयोग गर्न नसकिरहेकोमा चिन्ता व्यक्त गरे । विश्वमा ६ हजार मिटरभन्दा बढीका हिमाल नेपालमा मात्रै २४० ओटा रहेको तथा विश्वमा मात्र ११० ओटा मात्र रहेकोले यो ठाउँ रिसर्चका लागि समेत अति महत्वपूर्ण रहेको उनले बताए ।
इन्टरनेशलन स्पेश एभिएसनबाट नेपालले केही वर्ष अघिमात्र मेम्बरसिप पाएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले वर्षेनी ९ देखि १५ अर्बसम्म विदेशी सेटेलाइटलाई पे गर्ने गरेको बताए । ‘आफ्नै सेटेलाइट भए नेपालले २०–२५ प्रतिशत आफै प्रयोग गरेर अन्यबाट अर्न गर्न सकिन्छ’ उनले थपे ‘गुगल म्यापले नेपालको स्लट युज गर्दैआएको थियो, दुई वर्ष अघिमात्र पत्राचार गरेपछि केही पाउन थालेको छ ।’
सप्तरीको साबिक बैरबा वडा नम्वर–१ (हाल कञ्चनरुप नगरपालिका) निवासी प्रा. डा. अर्याल आफुलाई जन्मभूमी एकदमै प्यारो लाग्ने गरे पनि कार्यक्षेत्रको जिम्मेवारीका कारण समय दिन नसकिरहेको बताए । कुनै बेला देशमै शिक्षित एवम् बौद्धिक जिल्लाको रुपमा परिचय पाए पनि केही वर्षयताको अवस्थाले आफुलाई चिन्तित तुल्याएको बताउँदै उनले भने ‘कलेज तथा विद्यालयहरुको अवस्थाबारे बुझ्न तथा गुणस्तर सुधार्ने उद्देश्यले बेलाबेलामा सप्तरी आउने गर्छु, विदेशमा पनि बेस्ट रिसर्चर सहित विभिन्न अवार्डहरु पाउँदा जतिबेला बिनिल अर्याल, सप्तरी भनेर उद्घोषण हुँदा म जन्मभूमी बैरबा, कोशी, कंकालिनी मन्दिर र राजविराज झलझली सम्झिन्छु ।’
युरोपको अष्ट्रियाबाट पिएचडी, अमेरिकाको वासिङ्गटनबाट पोष्ट डक्ट्रेटसम्मको अध्ययन गरी ५० वर्षिय अर्यालले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेका छन् । भौतिक शास्त्रमा पोष्ट डक्ट्रेट गरेका तीन जनामध्येका एक अर्याल स्पेश साइन्स विषयका वैज्ञानिक हुन् । उनकै मातहतमा रहेर सप्तरी निवासी भौतिक शास्त्रका चर्चित प्राध्यापक शिवनारायण यादवले एक वर्ष अघि पिएचडी गरेका छन् । फिजिक्समा पिएचडी गर्ने प्रा.डा. यादव जिल्लामै पहिलो हुन् ।