• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुसहर बालबालिकालाई ट्युसन पढाउँदै पूर्व सिचाई मन्त्री यादव

मुसहर बालबालिकालाई ट्युसन पढाउँदै पूर्व सिचाई मन्त्री यादव

राजविराज, ३ माघ । मुसहर समूदायमा शिक्षाको स्तर उकास्ने र विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले पूर्व सिचाईमन्त्री उमेशकुमार यादवले टोलमै पुगेर निःशुल्क ट्युशन कक्षा सञ्चालन गरेका छन् ।
‘भर्ना अभियान २०७५’ मा भर्ना भएपनि विद्यालयमा अनुपस्थित रहने गरेका राजविराज वडा नं.९ गढिया टोलका १ सयबढी मुसहर बालबालिकालाई लक्षित ट्युशन कक्षा सञ्चालन गर्नु भएको हो । सरकारले सुरु गरेको ‘विद्यालय भर्ना अभियान २०७५’ ले सप्तरीमा झण्डै ८० प्रतिशत बालबालिका भर्ना भए । तर, जनचेतनाको कमी र गरिबीका कारण विद्यालयमा अनुपस्थित रहने गरेका मुसहर बालबालिकाका लागि पूर्व सिचाईमन्त्री उमेशकुमार यादवले निःशुल्क ट्युशन कक्षा सञ्चालनमा ल्याएका छन् ।
विपन्न र निमुखा जनताका छोराछोरीमा पनि शिक्षास्तर वृद्धि गर्नका लागि राजविराज वडा नम्वर ९ गढिया टोलका १ सय १० मुसहर बालबालिकाकालागि टोलमै ट्युशन कक्षा सञ्चालनमा ल्याइएको पूर्व सिचाई मन्त्री यादवले बताए । राजनीति व्यवसाय नभएर सेवा भएकोले शिक्षामा मुसहर समूदायको पहुँच पु¥याउन टोलको दुई स्थानमा प्रत्येक दिन विहान डेढ घण्टासम्म उनले ट्युशन कक्षा सञ्चालन गरिरहेका छन् । उनले एउटा टोलमा शिक्षक नियुक्ति गरेर तथा अर्को टोलमा आफै कक्षा सञ्चालन गरिरहेका छन् ।
निःशुल्क ट्युशन कक्षा सुरु भएसँगै अभिभावक पनि खुशी भएका छन् । गिरहतका छोराछोरी ट्युशन पढ्न गईरहेको हेर्दा आफना छोराछोरीलाई पनि पढाउने इच्छा हुँदा समेत आर्थिक समस्याका कारण पठाउन नसकेको अवस्थामा कक्षा सुरु भएसँगै राम्रो भएको अभिभावक हरिलाल सदाले प्रतिक्रिया दिए । पठनपाठनतर्फ बालबालिकालाई केन्द्रित गर्न विहानको वेला ट्युशन शिक्षाको आवश्यकता रहेकोले मुहसर समूदायमा शिक्षास्तर वृद्धि गर्न र विद्यालयतर्फ आकर्षण गर्न यो प्रयास सराहनीय रहेको जनता आधारभुत विद्यालय गढियाका प्रधानाध्यापक श्यामसुन्दर पासवानले बताए ।
नेकपाका नेता समेत रहेका पूर्व मन्त्री यादवले एक महिनाअघि नै सञ्चालन गरेको ट्युशन कक्षामा एक ठाउँमा ६५ तथा अर्को ठाउँमा ४५ जना मुसहर बालबालिकाकाहरु सहभागी रहेको जनाईएको छ । उक्त कार्यलाई आवश्यकता अनुसार अन्य वस्तीहरुमा समेत निरन्तरता दिईने पूर्व मन्त्री यादवले जानकारी दिए ।