• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेशका छोरीहरुको एक लाखको बीमा कार्य सुरु

थारु समूदायको उत्थानकालागि प्रदेश सरकार प्रतिवद्ध छः मुख्यमन्त्री राउत
प्रदेशका छोरीहरुको एक लाखको बीमा कार्य सुरु

सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘वेटी बचाउ, वेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेशमा माघ १ गतेबाट जन्मिने छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु भएको घोषणा गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कुशहामा मङ्गलवार आयोजना गरिएको माघी महोत्सव २०७५ को उद्घाटन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले सप्तरीकै महादेवा गाउँपालिकाबाट पनि बीमा गर्ने कार्य सुरु गरिएको बताए । ‘महादेवा गाउँपालिकासहित प्रदेश २ का आठ जिल्लाका आठ वटा स्थानीय तहबाट मङ्गलवारबाटै बीमा गर्ने कार्य सुरु गरिएको हो’ उनले भने–‘विरगञ्ज महानगरपालिका, बाराको सुवर्ण गाउँपालिका, रौतहटको यमुना माइ नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकामा बीमा गर्ने कार्य सुरु गरिएको हो ।’
उनले अब जन्मिने प्रदेशका सवै छोरीहरुको बीमा गरेर छोरीलाई पनि छोरा सरह सक्षम र सवल बनाउन तथा छोरीप्रति रहेको सोच परिवर्तन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए । ‘राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ उनले भने–‘पछाडि पारिएका यी समूदायको उत्थानकालागि प्रदेश सरकार प्रतिवद्ध छ ।’
उनले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नकालागि प्रदेश सरकारले प्रहरी ऐन र करारमा कर्मचारी भर्ना ऐन ल्याएको बताए । यस बाहेक पनि प्रादेशिक लोक सेवा आयोग ल्याउन लागिएको बताउँदै मुख्यमन्त्री राउतले त्यसपछि जनसंख्या र लिङ्ग (महिला–पुरुष) को अनुपातमा कर्मचारी भर्ना गरिने प्रतिवद्धता जनाए ।
थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ४ का सांसद समेत रहेका पूर्व राज्यमन्त्री तेजुलाल चौधरी, प्रदेश सभा सदस्यद्वय गोबिन्द न्यौपाने, रुबी कुमारी कर्ण, सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी महोत्सवमा लहान नगरपालिकाकी उपमेयर सरियाल चौधरी, थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य दिलकुमारी चौधरी, वडा अध्यक्ष देबेन्द्र चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय कोषाध्यक्ष जयराम पञ्जियार, थारु भाषा साहित्य संरक्षण केन्द्रका अध्यक्ष भुलाई चौधरी, थारु कल्याणकारिणी सभाकी रामबती चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
दुई दिन (बुधवार) सम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ । महोत्सवमा सप्तरी, सिरहा र उदयपुर जिल्लाका थारु समूदायको सहभागी रहेको छ ।