राजविराज, २८ पुस । सिर्जना फाईनान्स लिमिटेडको १८औं बार्षिक सधारण सभा मोरङ्ग व्यापार संघ, बिराटनगरको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा शुरु भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाञीले शेयर सदस्यहरुलाई स्वागत गर्दै सिर्जनाको विगत र भावी योजनाहरुबारे जानकारी गराए । पूर्व सञ्चालक लिला ढुङ्गेल, नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक मणी अज्र्याल, गोबिन्दराम कावरा, राजीव मिश्र लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन प्रभाकर देबकोटा र धन्यबाद ज्ञापन सञ्चालक सुवास आचार्यले गरे ।
सभाले २०७५ असारमसान्तको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ९.५ पाँच नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्व सम्मतिले पारित गरेको छ । यस बर्ष नेपाल राष्ट्र बैकको स्वीकृति लिएर झापा र ईलाममा कार्यक्षेत्र बिस्तार गरी सप्तरी, सुनसरी र मोरंग सहित पाँच जिल्ला कार्यक्षेत्र बनाउने र २०७६ असारभित्र ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरी चालु वर्षको मुनाफाबाट बोनस शेयर बितरण गरी २०७६ असोजभित्र सिर्जनालाई राष्ट्रिय स्तरको बनाउने निर्णय समेत गरेको छ ।
सभाले सात सदस्यीय सञ्चालक समितिको संख्या घटाएर पाँच सदस्यीय बनाएको छ भने आगामी चारवर्षे कार्यकालकालागि सञ्चालक समितिमा संस्थापकबाट सुयश प्याकुरेल, सुवास आचार्य र सर्वसाधारणबाट मुकेश राठी, राजीबकुमार मिश्रलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा डा. प्रमोद कुमार झालाई यस अघि नै सञ्चालक समितिले नियुक्त गरिसकेको जनाईएको छ ।
कुल ४६ करोड ७ लाख ८२ हजार शेयर पूँजी, एक लाख पच्चीस हजार ग्राहक संख्या, पाँच अर्ब ४० करोड निक्षेप, तीन अर्ब ५० करोड कर्जा र १९ करोड तीन लाख सञ्चालन मुनाफा रहेको सिर्जना फाईनान्सको २०७५ असार मसान्तको बार्षिक प्रतिवेदनलाईसाधारण सभाले सर्वसम्मतिले पारित गरेको सिर्जना फाइनान्स, विराटनगरका नायब प्रमुख कार्यकारी अधिकृत प्रभाकर देवकोटाले जानकारी दिएका छन् ।