• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुप नगरपालिकामा स्वास्थ्य अभियान

१८ क्यान्सर र १ हजार २४ मधुमेहका रोगी
कञ्चनरुप नगरपालिकामा स्वास्थ्य अभियान

राजविराज, २४ पुस । सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ अभियान अन्तर्गत क्यान्सर र मधुमेहका विरामीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरियो ।
नगरका १२ वटै वडामा ‘विशेषज्ञ स्वास्थ्य शिविर’ आयोजना गरिएको हो । सोमवार वडा नम्वर १, वैरवामा ८५ जना विरामीको चेकजाँच गरिएको छ । जसमध्ये ६५ जना मधुमेह र १ जनामा क्यान्सरको लक्षण देखिएको जनाईएको छ ।
शारीरिक र मानसिक रुपमा स्वस्थ्य नागरीकवाट मात्रै नगरको समृद्धि सम्भव भएको भन्दै कञ्चनरुप नगरपालिकाले अभियान थालेको जनाईएको छ । नगरको समग्र विकासका लागि नागरिकको स्वास्थ्य पहिलो सर्त भएकाले ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ अभियान प्राथमिकताका साथ अगाडि बढाएको नगरपालिकाका मेयर वसन्त मिश्रले जानकारी दिए ।
पहिलो चरणमा क्यान्सर र मधुमेहका विरामीहरुलाई लक्षित गरी नगरका १२ वटै वडामा ‘विशेषज्ञ स्वास्थ्य शिविर’ सुरु गरिएको उनले बताए । वडा नम्वर १, वैरवामा ८५ जना विरामी जाँच गरिएकोमा ६५ जना मधुमेह र १ जनामा क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक डम्वर गुप्ताले जानकारी दिएका छन् ।
नागरिक अस्वस्थ रहेको अवस्थामा विकासलाई अपेक्षाकृत अगाडि बढाउन नसकिने भन्दै स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।
अभियान अन्तर्गत मङ्गलवार वडा नम्वर २ मा ९० जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य जाँच गरिएकाहरुमध्ये ७५ जना मधुमेह र २ जनामा क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक गुप्ताले जानकारी दिए । विरामीहरुलाई आवश्यक औषधी र थप उपचारको ब्यवस्था समेत गरिएको उनले बताए ।
शिविरमा प्राथमिक स्वास्थ्य केन्द्रका डा. सञ्जिव झा, जितेन्द्र यादव, कुन्दन ठाकुर, संजय साहलगायतका टिम परिचालित रहेको जनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले तीन महिनाअघि गरेको एक सर्वेक्षणमा नगरपालिकामा १८ क्यान्सर र १ हजार २४ मधुमेहका रोगी फेला परेको थियो ।