Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

दश बुँदे घोषणा–पत्र जारी गर्दै अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

दश बुँदे घोषणा–पत्र जारी गर्दै अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

जनकपुरधाम, ९ पुस । धनुषाको जनकपुरधाममा आयोजित २ दिवसीय १६ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन १० बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।
पुस ७ र ८ गतेसम्म चलेको उक्त सम्मेलनले मिथिला, मैथिलीसँग सम्वन्धित महत्वपूर्ण निर्णयहरु पारित गर्दै सम्मेलन सम्पन्न भएको हो । नेपालको प्रदेश नम्बर १ र २ मा मैथिलीलाई प्रदेश भाषा घोषणा गर्न जोडदार माग गरिएको छ । स्थानीय तहको सरकारी, अद्र्धसरकारी, गैरसरकारी कार्यालयहरुमा मैथिलीलाई आधिकारिक भाषाको मान्यता दिइनुपर्ने, विद्यालयको पाठयक्रममा प्रारम्भिक बाल शिक्षा केन्द्रदेखि कक्षा १२ सम्म १०० पूर्णाकको एउटा मातृभाषा अनिवार्य राख्नुपर्ने माग गरिएको छ । प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपमा मातृभाषाको माध्यममा शिक्षण गर्नुपर्ने, प्रदेश १ र २ मा मुख्य कार्यक्षेत्र राख्दै देशैभरि मैथिली भाषाको संरक्षण र सम्वद्धन गर्न मैथिली केन्द्रको स्थापना गरिनुपर्नेमा सरकारसँग माग गरिएको छ । मैथिली भाषामा पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुलाई संरक्षण दिनु पर्ने, लोकसेवाको परीक्षामा मातृभाषालाई मान्यता दिनुपर्ने, संविधानमा उल्लेख भाषा आयोगलाइ पूर्णता दिनुपर्ने, मैथिली भाषाविज्ञलाई समानुपातिक रुपमा समावेश गर्न पर्यटकीय विकास र मिथिला पर्यटन सर्किट निर्माण गर्नुपर्ने लगायतका विषयहरुलाई घोषणापत्रमा समावेश गरिएको छ ।
कार्यक्रम संयोजक रामभरोस कापडी भ्रमर र महासचिव वैधनाथ चौधरी बैजुद्वारा हस्ताक्षरित घोषणापत्र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको छ । सम्मेलनमा नेपाल तथा भारतका भाषाविद्, मैथिली अभियानी, लेखक, पत्रकार, साहित्यकार, कलाकार समेतको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न विद्वानहरुद्वारा कार्यपत्र प्रस्तुति, टिप्पणी समिक्षा गरिएको थियो ।
सम्मेलनको उद्घाटन प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले भव्य समारोहका बीच गरेका थिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।