• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पान–गुट्खा खाएर अस्पताल प्रवेशमा रोक

गेटमै जाँच्नेदेखि मुख धुनेसम्मको कार्य
पान–गुट्खा खाएर अस्पताल प्रवेशमा रोक

राजविराज, ८ पुस । पान गुट्खा खाई जथाभावी थुकेर पर्खालहरु फोहोर पार्ने समस्याबाट मुक्ति पाउन राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नयाँ अभ्यास थालिएको छ ।
वर्षौदेखि निदान हुन नसकेको समस्यालाई समाधान गर्न बहिरा तथा श्रवण क्षमता कम भएका व्यक्तिहरुको प्रयोग गरिएको हो । अस्पतालको भित्ताहरु जोगाउन देवीदेवताको तस्विर राख्दा पनि केही नलागेपछि मूल गेटमै कुरुवाहरुको मुख जाँच गर्ने कार्य थालिएको छ । गुट्खा, पराग वा पान ईत्यादि खाएकालाई गेटमै रोक्ने गरिएको छ । उनीहरुलाई कुल्ला गराएर मात्र भित्र जान दिने गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
आफु अस्पतालमा हाजिर भएदेखि नै सरसफाई कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाएकोमा देवी देवताका तस्विर पनि कुनामा टाँस्ने काम ग¥र्यौं, जति जे गरे पनि केही नलागेपछि नयाँ शैली अपनाएको उनले बताए । ‘कुरुवाहरुले पान, गट्खा, तम्बाकु ईत्यादि खाएर अस्पतालको कुनाहरुमा थुक्ने गरेकोले हेर्नै नसक्ने गरी फोहोर पार्ने गरेको थियो’ उनले भने ‘नित्य सफा गर्ने र कुरुवाहरुले फेरी फोहोर पारिदिने गर्ने क्रम महिनौसम्म चल्दा पनि सम्भव नदेखिएपछि मूल गेटमै चेकजाँच गर्ने कार्यलाई अगाडि बढाएका छौं ।’
जथाभावी कुरुवाहरुको मुख चेक गर्ने र भित्ता जोगाउन पहिलो चरणमा दुईजना कर्मचारी नियुक्त गरिएको छ । दुवै जना कान नसुन्ने रहेकोले सेवाग्राहीसँग विवाद हुने वा झगडा हुने सम्भवना पनि कम रहेकोले यो अभ्यास सफल भएको छ । कान नसुन्ने तथा बोल्न नसक्ने व्यक्तिलाई समेत क्षमता अनुसारको काम गर्ने अवसर दिनुपर्छ भन्ने सोचका साथ पहिलो चरणमा दुई जनालाई राखिएको डा. दासले बताए ।
पोशाक सहित परिचालन गरिएका कर्मचारीहरु बोल्न नसक्ने तथा सुन्न नसक्ने भएकाले अनावश्यक विवाद हुने सम्भावना समेत नरहेकोले यो प्रयास सफल भएको उनले बताए । अस्पताल भित्र छिरिसकेका कुरुवाहरुमाथि समेत निगरानी गर्नुका साथै अनावश्यक प्रवेश न्यूनिकरण गर्न बाहिरै बस्ने प्रबन्ध समेत मिलाएको डा. दासले जानकारी दिए । उनका अनुसार बाहिर बस्ने कुरुवाहरुलाई लक्षित गरी स्वास्थ्यकर्मीहरुद्वारा सचेतनामूलक जानकारी समेत दिने गरिएको छ ।
अञ्चल अस्पताल मात्र नभई सप्तरीमा अन्य सरकारी कार्यालयहरुमा समेत पान, गुट्खा खाएर फोहोर गर्ने प्रवृति बढ्दैगएको छ । उक्त समस्याबाट मुक्ति पाउन कार्यालयहरुको पर्खालको कुनामा देवीदेवताको तस्विर राख्ने गरिएको छ ।