• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्य व्यवस्था अझैं विभेदकारी छः नेता आङ्काजी

राज्य व्यवस्था अझैं विभेदकारी छः नेता आङ्काजी

विरेन्द्र बजार, ५ पुस । आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले राज्य व्यवस्थाले आदिवासी, जनजाती, मधेशी, मुस्लिम लगायतका जातजातीको भाषा एवम् धर्म संस्कृति अझैं समावेशी हुन नसकेको बताएका छन् ।
सप्तकोशी नगरपालिका वडा नम्वर–५ स्थित मित्र युवा क्लव गङ्गाजलीद्धारा आयोजित सामाजिक रुपान्तरणका आयामहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने ‘इसिहास हाम्रो लागि भ्रमात्मक छ, ब्राह्मणवादी सोचाईलाई समेटर कोरिएका पाठयपुस्तकले आदिवासी जनजाती मधेशी मुस्लिम लगायतका उत्पीडित समुदायकोे संस्कति, भाषा, संस्कृति दबिएको छ ।’
अन्तरराष्ट्रिय श्रम संगठन १६९ को महासन्धीमा उल्लेख भएको बुदाहरु प्रस्तुत गर्दै उनले स्थानीय स्तरमा राज्य पक्षले गर्ने कुनै पनि विकास निर्माण कार्यको विवरण आदिवासी जनजातीलाई दिनुपर्ने बताए । प्रदेशहरुको नामांकरण संशोधन र सरकारले कटौती गरेको आदिवासी जनजातीको विदा फिर्ता लिनुपर्नेमा नेता शेर्पाले जोड दिए ।
थारु कल्याणकारी सभाका महामन्त्री तथा प्रदेश नं. २ का नीति आयोग समितिका सदस्य राजकुमार लेखीले देशमा थारुहरुको छुटै पहिचान रहे पनि पछाडि पारिएको बताए । तराईको धर्ती पुत्रको रुपमा रहेका थारुहरुले छुटै प्रदेशको माँग राखी गरेको आन्दोलन खस बाहुनवादी सत्ताधारीले तुहाउने काम गरेको उनले आरोप लगाए । सांसद रेशम चौधरी, लक्ष्मण थारु सहितका २६ जना थारु नेता विरुद्ध झुटो मुद्दा लगाइएको विरोधमा लेखीले कडा शब्दमा विरोध जनाउँदै अविलम्व रिहाई हुनुपर्नेमा जोड दिए ।
यसैगरी नेपाल आदिवासी जनजाती महासंघको पूर्वाध्यक्ष पासाङ्ग शेर्पाले यथास्थितीको अवस्थाबाट सामाजिक रुपान्तरणको अन्त्य नहुने बताए । सामाजिक रुपान्तरणको अनुभुती हुन सवै भन्दा तल्लो वर्गमा रुपान्तरण हुनु आवश्यक रहेको उनले आवश्यकता औल्याए । आदिवासी जनजाती लगायत दलित, उत्पीडित समुदायलाई दलीय बिल्ला भिडाएर सधैं फुटाउने काम भएको आरोप लगाउँदै उनीहरुले जुट्नु आवश्यक रहेको शेर्पाले बताए ।
प्रदेश नम्वर २ शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रमाकान्त शर्माले प्रदेशको शिक्षाको अवस्था र तिनको नीतिवारे प्रकाश पारे । उनले स्थानिय तहलाई वालवालिकाको शिक्षामा मौलिक अधिकार दिएको जानकारी दिँदै यस प्रदेशमा धेरै आदर्श र दर्शनको उत्पति भएको इतिहास भए पनि अरु प्रदेशको तुलनामा शिक्षा अवस्था कमजोर भएको बताए । बालबालिका तथा महिला साक्षरमा यो प्रदेश झनै पिछडिएको शर्माले बताए । शिक्षाको स्तर उकास्न इन्डोनेशिया, जापान, कोरिया, सिंगापुर लगायतका देशमा ठुलो लगानी गरेको उदाहरण दिदै शर्माले भने ‘जनताको जिवनस्तर उकास्न शिक्षामा लगानी गर्नुपर्छ ।’ गुणस्तरीय शिक्षाका नाममा अग्रेजी शिक्षालाई प्रोत्साहन दिने विद्यालयको पनि कुनै औचित्य नरहेको उनले बताए ।
अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भन्दा मातृभाषामा नै अध्ययन गरेको छात्रछात्राले प्रगति गर्ने विश्वास गर्दै शर्माले सृजनात्मक पढाई दिगो हुने धारणा राखे । कमलकान्त चौधरीको अध्यक्षतामा आयोजित विचार गोष्ठिमा डा. सुरेन्द्र झा, डा. भोगेन्द्र झा विष्लेशक ज्योती दनुवार लगायतले सम्वोधन गरे ।