• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सप्तरीबाट ११ हजार २ सय जना वैदेशिक रोजगारीका क्रममा

सप्तरीबाट ११ हजार २ सय जना वैदेशिक रोजगारीका क्रममा

राजविराज, ३ पुस । पछिल्लो बर्ष मात्रै सप्तरीबाट ११ हजार २ सय जना वैदेशिक रोजगारीका क्रममा देश छाडेको एक तथ्याङ्कले देखाएको छ ।
सप्तरीको तोपामा मङ्गलवार अन्तर्राष्टिय आप्रवासन दिवस २०१८ को अवसरमा आयोजित कार्यक्रममा सूचना तथा परामर्श केन्द्र राजविराजका संयोजक रामप्रमेश मण्डलले जानकारी दिएका हुन् । बैदेशिक रोजगारमा धनुषाका बासिन्दा सर्वाधिक वैदेशिक रोजगारीमा गएको, दोस्रो नम्वरमा झापा, तेस्रोमा मोरङ्ग चौथोमा सिरहा र पाँचौमा सप्तरी रहेको उनले बताए । सामी परियोजनाको सहयोगमा बैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका परिवारका ६६ जना बालवालिकाले ५ लाख ८० हजार छात्रबृति पाएको छ भने ८७ जनाले केन्द्रको संयोजनमा ८७ जनाले एक महिने निःशुल्क सीप तालिम लिएको र लाखौ ब्यक्तिलाई जिल्लाको विभिन्न स्थानिय तहमा सुचना प्रवाह गरिएको सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताए ।
उक्त अवसरमा सप्तरी सामुदायिक विकास केन्द्र तथा गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शंभुनन्द चौधरीले आप्रवासन दिवसको अवसरमा अनुरोध पत्र वाचन गर्दै सप्तरीमा आव ०७४÷०७५ सम्ममा ८८ हजार १८१ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क प्रस्तुत गरे । आ.व. ०६५ देखि हालसम्म बैदेशिक रोजगारमा गएका १४२ जना युवाले ज्यान गुमाएको बताए ।
सप्तरीमा सञ्चालित सूचना तथा परामर्श केन्द्र स्थापना भए यता १६ सय ६० वटा ठगीमा परेको उजुरी दर्ता भएको छ भने त्यसमध्ये १ हजार ८२ वटा घटना फरफारक भई ६ करोड ५६ लाख २५ हजार ३ सय १८ रूपैया क्षतिपुर्ति दिलाएको अध्यक्ष चौधरीले जानकारी दिए । उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले स्थानिय एजेन्टहरू मार्फत सिधै बिदेश जान चाहने ब्यक्तीहरूलाई दुःख भोग्नुपरिरहेको बताउदै कुन काममा लागि जाने हो, त्यस सम्बन्धी कामहरू सिकेर जानुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बैदेशिक रोजगारमा जानु अघि सीप सिकेर राहदानी, सम्झौता पत्र, स्वास्थ परिक्षण प्रमाणपत्र, जीवन बिमाको कागज, भिसा, श्रम स्वीकृति पत्र लगायत महत्वपुर्ण कागजात आफनौ घरपरिवारमा प्रतिलिपि छोडनुपर्ने बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अवधेश कुमार झाले सबै कुरा बुझेर, सीप सिकेर बिदेश गए राम्रो आम्दानी समेत गर्न सकिने भएकोले हतारमा विदेश जाने निर्णय नगर्न सुझाव दिदँै बैदेशिक रोजगारवाट प्राप्त आम्दानी बिलासीमा नभई उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
सामीरहेल्भेटास नेपालले सप्तरी समुदायिक विकास केन्द्रद्वारा सूचना तथा परामर्श केन्द्र र सबल नेपाल द्वारा मेडियापार्टनरको रूपमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गर्दै आएको छ । तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादव, वडा ५ का वडा अध्यक्ष राजिन्द्र साह, निमित्त प्रशासकीय अधिकृत राजु झा, जिसस सल्लाहाकार बिनोद यादव, गैसस अध्यक्ष शम्भुनन्द चौधरी, तोपा मावि ब्यबस्थापन समितिका अध्यक्ष राधेश्याम यादव, आप्रवासन हकहित केन्द्रका अध्यक्ष जयबिन्द सिंह, नेपाल पत्रकार महासँघ सप्तरी सहसचिव चन्दनकुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।