Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

यस्तो छ काठमाण्डौबाट गाउँ सरेको सिंहदरबार

समाचार सङ्कलन गर्न जाँदाको अनुभूति
यस्तो छ काठमाण्डौबाट गाउँ सरेको सिंहदरबार
Bwtech New Add With Software & Bull SMS
श्यामसुन्दर यादव

श्यामसुन्दर यादव

सदा झैं म मर्निङ्ग वाकमा थिएँ । मोबाइलमा घण्टी बज्यो । एक पटकमा उठाउन भ्याईन । केही मिनेटको फरकमा क्रमशः तीन जनाले फोन गरेर एक एकल महिलाको परिवारलाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्वर–९ अध्यक्ष कर्णदेव चौधरीले आफ्नै निर्देशनमा चारैतिरको बाटो बन्द गर्न लगाएर थुनेर राखेको सूचना पाएँ । आफ्नै घर अगाडि रहेकी छिमेकी एकल महिला सीता देवी शर्मासहित ९ जनाको परिवारलाई निर्णय नमानेको निहुँमा थुनेको जानकारी पाएपछि म र जनता टेलिभिजनका जिल्ला सम्वाददाता विद्यानन्द राम बुधबार करिब ११ बजे पत्थरगाडा चौकमा पुग्यौ ।
पीडितको घर पत्ता लगाउन स्थानीयहरुसँग सोधपुछ गरिरहँदा वडा अध्यक्ष चौधरीलाई देखें । मैले उनलाई यहाँ एक परिवारलाई थुनिएको विषय के हो भनी सोध्दा सबै कुरा गलत हो, कतै केही भएको छैन भन्दै आफुहरुको निर्णय नमानेकोले एकल महिलाको परिवार हिँड्ने बाटो बिहारी शर्मा लगायतको निजी जग्गामा परेकोले बन्द मात्र गरेको बताए । ती महिलाले स्थानीय पञ्चायती नमानेर अदालत गएको तथा अदालतबाट समन पत्र समेत आएकोले अदालतले नै बाटो दिलाएपछि मात्र छिनोफानो हुन्छ भन्ने चौधरीको जिकिर थियो । मैले प्रश्न तेस्र्याएँ ‘तैपनि यसरी कुनै पनि व्यक्तिलाई थुन्न मिल्दैन नि ? उनले यसलाई कसरी थुनेको भन्नुहुन्छ ?, हामीले थुनेको होइन भनी दावी गर्दै रहे । त्यसपछि हामी दुईले ती महिला थुनिएको घरको आँगन छिर्ने प्रयास ग¥यौं । तर चारैतर्फ घेरबेर गरिएकोले भित्र जान सकेनौं । भित्र नगई भिडियो तथा तस्विर खिँच्न सकिने कुनै सम्भावना देखिएन ।
सीताको घरदेखि पश्चिमतर्फको बाटो टिनले घेरिएको थियो । भित्र छिर्ने केही उपाय निस्किन्छ कि भनी सोच्दै मैले ढोका खोल्ने प्रयास गरे । भाइ विद्यानन्दको हातमा क्यामरा थियो । घेरेको टिनलाई अलिकति हटाएर भित्र छिर्न खोज्दा बिहारीका परिवारसहित ८–९ जना व्यक्तिहरुले हल्ला गर्दै मलाई रोक्न खोजे । हामी पत्रकारहरु एकैछिन भित्र छिरेर हेर्छौं के भएको हो ? भन्यौं । तर आगो झैं भएका युवादेखि बृद्धसम्मले अपशब्द प्रयोग गर्दै भित्र छिर्न दिएनन् । ‘कसको आदेशले यहाँसम्म आको ? हामी पत्रकार सत्रकार जान्दैनौं’ उनीहरुले झण्डै कुट्न आँट्दा मलाई पनि भित्रदेखि नै रिस उठिरहेको थियो, तर हामी पत्रकारहरु धैर्यले काम लिनुपर्छ भन्ने कुरा मलाई थाहा थियो । किनभने सशस्त्र द्वन्द्वकालमा चारैतर्फबाट बन्दूकधारीहरुले अचानक घेर्दा तथा मधेश आन्दोलनका क्रममा भएका आततायी घटनाहरु भईरहँदा बन्दुकको नोकको जोखिममा पनि नआत्तिकन सामना गरेको थिएँ । मैले सक्दो उनीहरुलाई बुझाउने प्रयास गरिरहेँ । तर पनि उनीहरुले हाम्रो कुरा सुन्न चाहेनन् ।
भोकाएको बाघहरुको झुण्डले हरिणलाई शिकार बनाउन खोजिरहेको अवस्था झैं भयो । छेउमै वडा अध्यक्ष चौधरी मुखमा पान चपाउँदै यो दृष्य हेरिरहेका थिए । अब पनि बुद्धि नपुर्याए कुटाई खानु बाहेक अर्को विकल्प छैन भनी सोच्दै सहकर्मी पत्रकार भाइ विद्यानन्दलाई त्यहाँबाट निस्किन ईशारा दिँदै अगाडि बढेर जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बोक्ने ९८५२८९०३२७ नम्वरमा फोन गरे । फोन उठ्यो । ‘डिएसपी साब नमस्ते, म पत्रकार श्यामसुन्दर यादव, उपाध्यक्ष नेपाल पत्रकार महासंघ सप्तरीको ।’ अनि होइन, म ईन्सपेक्टर बोल्दै छु, डिएसपी साब जनकपुर जानु भा’छ । ‘अनि एसपी साब जिल्लामा हुनुहुन्छ कि ?’ मैले सोधें । उनले ‘होइन, बाहिर हुनुहुन्छ’ भने । हामी दुई जना पत्रकार रिपोर्टिङ्गमा आएको र हामीमाथि आक्रमण हुने अवस्था छ आदि ईत्यादि सबै वृतान्त फोनमा सुनाएँ ।
रिपोर्टिङ्गमा जाँदा हामीलाई जानकारी गराएर जानुपथ्र्यो नि ! भन्ने जवाफ आयो । अनि मैले सर, हामी पत्रकारहरु त दैनिकजसो रिपोर्टिङ्गमै हुन्छौं, हामीलाई के थाहा यस्तो हुन्छ’ भने । त्यसपछि ल ठिक छ, पत्थरगाडा चौकीलाई भन्छु भनेर ईन्सपेक्टर साबले फोन राखिदिए । एकछिन प्रतिक्षा गरे पनि प्रहरी नआएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ९८५२८५७७७७ मा फोन गरेर ईतिवृतान्त भन्दा उनले ढाडस दिँदै भने ‘ल म कुरा गर्छु ।’
म र विद्यानन्द त्यहाँबाट स्थानीय वासिन्दा रामदेव यादवलाई साथ लिएर त्यहाँबाट अलि अगाडि बढ्यौं । समाचार संकलन नै नगरिकन हामी जाँदैनौं, जे पर्ला पर्ला, हामीले निधो ग¥यौं । फेरी चार–पाँच मिनेट वरिपरि चहा¥यौं । तर केही उपाय लागेन । थुनिएको घरको पूर्वतर्फ छिमेकीलाई आग्रह गरेर उनको आँगनमा छिर्यौं । तर घरमूलीले ‘हामीलाई त यहाँ बस्नुछ, वडा अध्यक्षले थाहा पायो भने हामी आफै समस्यामा पर्छौं’ भने । तर हामी सम्झाउँदै उनको घरको छतबाट क्यामेरा जुम गरेर केही भिडियो र तस्विर खिंच्यौं ।
आँगनमा रहेकी सीतादेवीलाई मैले ठूलो आवाजसँगै हातको ईशारा दिँदै बाहिर आउन ईशारा गरे । ‘आमा, जसरी पनि अलि बाहिर आउनु न, हामी पत्रकार हौं, तपाईसँग केही कुरा गर्नुछ ।’ अनि सीतादेवी रुँदै टिनको घेराबेरा उप्काउँदै हामी नजिक आउने प्रयास गरिन् । जीउ नै अडकिने चेपलाई छिचोल्दै उनी बाहिरिईन् । के भएको हो भनी सोध्दै गर्दा सीतादेवी मुर्छा परिन् । स्थानीय महिलाले सीतादेवीलाई दाँती लागेको भनेपछि भाइ विद्यानन्दले क्यामरा अफ गरेर महिलाको मुखमा औंला पसाएर दाँती छोडाउने प्रयास गरे । अन्ततः उनको प्रयास सफल भयो । मुखमा पानी खुवाएपछि सीता होसमा आइन् ।
करिब तीस वर्ष अगाडि उनका पतिको मृत्यु भएको रहेछ । पतिको मृत्यु भएपछि लालाबालाको पालन पोषण गर्ने क्रममा उनले निक्कै संघर्ष गरेकी रैछिन् । घरको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेकोले उनका दुई छोरा शिवचन्द्र र धर्मेन्द्र वैदेशिक रोजगारीमा साउदी गएका रहेछन् । घरमा दुई बुहारी, नातिनातिना समेतको अभिभावक सीतादेवीको घरमा पुरुष मान्छे कोही नभएको मौकामा आफ्नै अंशियारहरुले जग्गाको विषयलाई लिएर पटक–पटक विवाद गर्दै आएका रहेछन् । आफ्नो नाममा रहेको एक कठ्ठा आठ धुरमध्ये १४ धुर जग्गा देवरले नै भोगचलन गरिरहेकोले पीडित सीताले सुनाईन् । ‘उक्त समस्या समाधान गर्न मैले गाउँले र प्रहरी पनि गुहारेँ तर कसैले वास्ता नगरेपछि अदालतमा मुद्दा दर्ता गराएँ’ उनले आँसु पुछ्दै भनिन् ‘त्यसैको प्रतिशोध साँध्न चारैतर्फको बाटो बन्द गराईदिएपछि बाहिर निस्किन पाएकी छैन, पशु चौपाया समेत थुनिएका छन् ।’
पञ्चायतीमा आफु अन्यायमा पर्ने भएपछि न्यायकालागि अदालत गएको आक्रोशमा वडा अध्यक्ष चौधरीले नै चौतर्फी बाटो घेरबेर गर्न लगाएको उनले सुनाईन् । कुनै पनि व्यक्तिलाई स्थानीय स्तरमा हुने पञ्चायती वा छलफलको निर्णयमा चित्त नबुझे स्वेच्छाले अदालत वा अन्य न्यायिक तथा अर्ध–न्यायिक निकाय जान सकिने प्रावधान छ । सोही अनुसार न्याय माग्न अदालत जाँदा जनप्रतिनीधिबाट नै यस्तो अमानवीय कार्य भएको थाहा पायौं । तैपनि उक्त विषयमा स्थानीय छिमेकीहरुसँग बुझ्दा वडा अध्यक्ष शुरुदेखि नै आर्थिक रुपले सम्पन्न रहेको तथा वडा अध्यक्षमा निर्वाचित भएपछि उनमा प्रभुत्व जमाउने प्रवृत्ति अझैं प्रष्फूटित भएको बुझियो । हुनत त्यहीको प्रहरी चौकीलाई घटनाको विषयमा थाहा हुँदा पनि असईले उल्टै वडा अध्यक्षको कुरा मान्न दवाब दिईरहेको पीडित महिलाबाटै थाहा पाईयो ।
त्यतिकैमा स्थानीय चौकीका असई भागेश्वर माझी मोटसाइकल चढेर हामीकहाँ आईपुगे । घटनाबारे जानकारी गराउँदै रिपोर्टिङ्ग सकाएर छेउमै रहेको चोकमा जाँदै गर्दा पुनः वडा अध्यक्ष चौधरी सडक छेउँमै उभिरहेका थिए । हामी वडा अध्यक्षसँग प्रतिक्रिया लिएर पत्थरगाडा चौकमा राखिएको मोटरसाइकल चढेर राजविराजतर्फ लाग्यौं ।
बेलुकी ४ बजेको समयमा राजविराज स्थित प्रमुख जिल्ला अधिकारीको निवास (सिडियो बङ्गला)मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका केही नेता तथा कार्यकर्ताहरुले सरकारी वार्ता टोली समक्ष हतियार बुझाउने कार्यक्रम थियो । उक्त कार्यक्रमबाट आएर समाचार लेख्न तथा नेपाल टेलिभिजनमा पठाउन र ‘न्यूज टुडे’ दैनिककालागि समाचार तयार पार्नमै ढिलो भएकोले बुधवार एकल महिलासहित ९ जना थुनिएको परिवारको समाचार सार्वजनिक गर्न भ्याईएन ।
त्यो समाचार पठाउन नसकिएकोमा रातभरि मलाई चिन्ताले सताईरह्यो । त्यहाँको दृष्य मेरो दिमाग दोहोरिरहेको थियो । गाउँगाउँमा सिंहदरबार आएको भन्ने गरिन्छ । तर सिंहदरबार त काठमाण्डौमै छ, साना–ठूला सिंहहरु गाउँगाउँमा आएका रहेछन् । करोंडौंको बजेट चलाउन पाएका छन् । भ्याए जति सुविधा लिएकै छन् । विभिन्न योजना तथा कार्यक्रमहरुमा खुलेयाम जनप्रतिनीधिहरुले कमिशन लिने गरेको कुरा दिने मान्छेहरुले नै हाकाहाकी भन्ने गरेका छन् । यस्तै हो… एक त जनतामाथि अनावश्यक करहरु लादिएको छ नै । त्यसमाथि जनप्रतिनीधिहरुको यो रबैयाले कसरी सुधिन्छ गामघर र निमुखाले न्याय कसरी पाउने ? यावत कुराहरु मनमा खेलाउँदै कुनबेला निद्रामा परें, थाहा भएन ।
विहीबार विहानै हामीले आ–आफ्नो सञ्चारमाध्यममा समाचार सम्प्रेषण ग¥र्यौं । साँझसम्ममा त राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरुमा ती एकल महिलाको समाचार छ्यापछ्याप्ति झैं भयो । मैले काम गर्दै गरेको नेपाल टेलिभिजनले समेत राती आठ बजेको समाचारमा प्रशारण ग¥यो ।
उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई राखेर सीतादेवीका छोराहरु विदेशबाट नआएसम्मका लागि बाटो खोल्ने सहमती भयो । सोही अनुरुप साँझ एउटा बाटो मात्र खोलियो । उक्त समाचारको विषयमा फोलोअप गर्ने उद्देश्यका साथ खोजी गर्दै जाँदा वडा अध्यक्षमाथि समाचारको असर भएपछि शुक्रवार विहान चौतर्फी रुपमा बन्द गरिएको बाटो खोलिएको जानकारी पायौं । त्यसपछि मन अलिक हलुको भयो ।
पीडित महिला सीता देवीसँग फोनमा कुरा गर्दा ‘पत्रकारहरु नआएको भए शायद हामी घेरिएकै हुन्थ्यौं, तपाईहरुलाई धेरै धेरै धन्यवाद छ, हाम्रै कारणले दुव्र्यवहार झेल्नुप¥यो, भगवानले तिमीहरुको भलो गरुन्, अझैं केही भयो भने म फोन गरेर भन्छु’ भनिन् । ‘ल राम्रोसँग बस्नु, हामी पत्रकारको कामै यही हो, केही छैन’ भन्दै फोन राखें । पत्रकारले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्यायमा परेकाहरुको आवाजलाई बुलन्द पार्नु हामी पत्रकारको कर्तव्य हो । समाजिक बेथिति विरुद्ध रिपोर्टिङ्गका क्रममा पत्रकारले जोखिम उठाउनु भनेको उसको कर्तव्य हो । समाचार उजागर भएपछि पीडितले न्याय पाएर राहतको सास फेर्न पाउनु हाम्रा लागि सुखद भएको अनुभूती गर्दै हामी नित्य झैं रिपोर्टिङ्गमा जुट्यौं । यद्यपी समाचार सङ्कलनका क्रममा दर्जनौं अनुभूतिहरुमध्येकोे यो पनि अर्थात २०७५ मंसिर २६ गते मेरो मानसपटलमा अविस्मरणीय रहनेछन् ।
(लेखक ‘न्यूज टुडे’का सम्पादक एवम् नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता हुन् ।)

Online Saptari

About The Author

%d bloggers like this: