• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रदेश स्तरीय प्रेस काउन्सिल गठन गर्दैछौंः मुख्यमन्त्री राउत

प्रदेश स्तरीय प्रेस काउन्सिल गठन गर्दैछौंः मुख्यमन्त्री राउत

जनकपुरधाम, २१ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सञ्चारक्षेत्रको वृति विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
प्रेस काउन्सिल नेपालले शुक्रवारदेखि जनकपुरमा आयोजना गरेको आचार संहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशका पत्रकारहरुसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको बताए । उनले पत्रपत्रिकाहरुको वर्गिकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकार छुट्टै प्रदेश स्तरीय प्रेस काउन्सिल गठन गर्ने तयारी गरेको समेत उल्लेख गरे ।
मुख्यमन्त्री राउतले पत्रकारहरुलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटो लग्न सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकारहरुको वृतिविकासको लागि प्रदेश सरकारले यसै आर्थिक वर्ष आम संचार प्रतिष्ठान समेत गठन गर्न लागेको जानकारी गराए ।
आम संचार प्रतिष्ठान र प्रदेश प्रेस काउन्सिल सम्बन्धि विधेयकमा पत्रकारहरुको समेत सुझाव लिने उल्लेख गर्दै उनले प्रदेशले प्रेस काउन्सिल गठन गर्दैमा केन्द्रिय प्रेस काउन्सिललाई आतिनु पर्ने अवस्था नरहेको उल्लेख गरे । उनले प्रदेशमा गठन हुने काउन्सिलको विषयमा संघको काउन्सिलसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ काउन्सिल पदाधिकारी समेतको उपस्थिति थियो । प्रशिक्षणमा आठ ओटै जिल्लाका पत्रकारहरुको प्रतिनीधिमूलक सहभागिता रहेको छ ।