• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समुदायमा लोकप्रिय बन्दै सुरक्षित र भरपर्दो बाँसको घर

समुदायमा लोकप्रिय बन्दै सुरक्षित र भरपर्दो बाँसको घर

वृजमान तामाङ
विरेन्द्र वजार, १४ मंसिर । सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा असहाय तथा विपन्न वर्गकालागि सञ्चालित सुरक्षित आवास कार्यक्रम समुदायमा लोकप्रिय बन्दै गएको छ ।
ह्यावीटेट फर ह्युमानिटी इन्टरनेशनल र महुली समुदायिक विकास केन्द्रको सहकार्यमा ‘अर्थपुर्ण जीवनको लागि आवास’ मुल नाराका साथ सञ्चालन गरेको बाँसबाट निर्मित सुरक्षित आवास कार्यक्रम समुदायमा लोकप्रिय बन्दै गएको हो । स्थानीय श्रोत साधनको उपयोगमा प्राकृतिक प्रकोप र विपद्बाट समेत सुरक्षित रहन सकिने, बाँसको प्रयोग गरी बनाएको घर निर्माणतर्फ स्थानीयवासी आकर्षित भएका छन् ।
कम लगानीमा सुरक्षित र आरामदायी घर बन्ने भएपछि बाँसको प्रयोग गरि घर बनाएको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ का रमा परियारले बताईन् । बाँसको प्रयोग गरी घर वनाउँदा भुकम्प प्रतिरोधात्मक र हावाहुरीवाट समेत सुरक्षित रहन सकिने भएकोले यो घर प्रभावकारी सिद्ध भएको उनले बताईन् । विहे भएको केही वर्षमै पति गुमाएकी उनलाई ३ लाखको लागतमा सुरक्षित आवास बनाई दिएपछि जिवनयापमा सहज भएको छ । उनले भनिन् ‘घरबार विहिन अवस्थामा बाँसको घर पाएपछि ठूलो सहारा पाएको छु, मेरा लागि यो घर निक्कै आरामदायी छ ।’
दैवी प्रकोपको दृष्टिकोणले पनि सुरक्षित रहेको बाँसको सामग्री प्रयोग गरि बनाईएका घर टिकाउ समेत अन्य घरहरु भन्दा बढी हुने अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ का किशोर चौधरीले बताए । छिप्पिएका बाँसलाई प्रशोधित गरी घर निर्माणमा प्रयोग गरिने भएकोले बाँसमा घुन किरा लाग्ने तथा मक्किने समस्याबाट निश्चिन्त हुने भएकोले यो घर सुरक्षित र प्रभावकारी हुने बताए ।
अग्नीसाईर कृणासवरन गाउँपालिका वडा नम्वर ५ की फुदनी देवी सदाले संस्थाको सहयोगमा सुरक्षित र सुविधा सम्पन्न घर पाएको भन्दै खुशी व्यक्त गरिन् । महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरीले गरिब, विपन्न र असहायका लागि थोरै खर्चमा सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम समुदायको लागि उपयोगी भएको बताए ।
अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले काठको विकल्पको रुपमा वाँसको प्रयोगले वन व्यवस्थापन हुनुका साथै स्थानीय उत्पादनको सदुपयोग हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ह्यावीटेट फर ह्युमानिटी इन्टरनेशनलका कार्यक्रम व्यवस्थापक संदिव पौडेलले बाँसबाट निर्मित सुरक्षित आवासलाई सुरक्षित, बलियो र टिकाउ बनाउन बाँस प्रशोधन केन्द्र संस्थापना र प्रविधिक तालिम सञ्चालनमा गरेको जानकारी दिए । बाँसको माँग बढ्दै गएकोले बाँसको बीउ र वृक्षारोपनका लागि समेत सहयोग गर्दै आएको उनले बताए ।
अग्नीसाईर कृणासवरन गाउँपालिकाको विभिन्न वडामा सञ्चालित योजना र सुरक्षित आवासको विहिवार साझेदार संस्थाका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीहरु र पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेका छन् । टोलीले स्थलगत निरीक्षण गर्दै विभिन्न प्रकोपको जोखिमवाट बँच्न बाँसवाट निर्मित सुरक्षित आवास नमुना हुने बताए । बाँसवाट निर्मित सुरक्षित आवासप्रति जनआर्कषण बढ्दै गएको जानकारी दिँदै महुली सामुदायक विकास केन्द्रका लिला प्रसाद निरौलाले विपतको जोखिम न्यूनिकरण गर्ने उदेश्यले गरिव, असाहाय र विपन्नलाई लक्षित गरी गाउँपालिकाको सहकार्यमा आव २०७५÷०७६मा ५० परिवारका लागि बाँसका घर निर्माण गर्ने योजना रहेको जानकारी दिए ।