• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठी कोइलाडि गापाद्वारा पुर्ण निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण सेवा

तिलाठी कोइलाडि गापाद्वारा पुर्ण निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण सेवा

राजविराज, ३ मंसिर । ज्येष्ठ नागरिक एवम् अशक्तहरुलाई लक्षित गरी तिलाठी कोइलाडि गाउँपालिकाले पुर्ण निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी घरमै स्वास्थ्य सुविधा दिने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सोमवार वडा नम्वर ५ बाट उक्त कार्यक्रमको सुरुवात गरेका छन् । प्रथम चरणमा वडा नम्वर ५ कोइलाडि वरसाईनका २ सय २२ ज्येष्ठ नागरिक र ११ जना पुर्ण अपाङ्गता भएक व्यक्तिहरुको स्वास्थ्य चेकजाँच र औषधी वितरणको काम गरिनेछ ।
उक्त सेवा सम्पूर्ण वडाहरुमा समेत सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाका १ हजार ३ सय ८२ ज्येष्ठ नागरिक तथा सरदर ५० जना पुर्ण अपाङ्गता भएका ब्यक्तिको किड्नी, सुगर, ब्लड प्रेसर, दम, खोकी, ज्वरो लगायतका रोगहरुको जाँच गरी नेपाल सरकारको नियमानुसारका निःशुल्क औषधीहरु समेत उपलब्ध गराईने अध्यक्ष सिंहले जानकारी दिए । घरदैलोका लागि स्वास्थ्य चौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली वनाईएको छ । हरेक वडामा स्वास्थ्य चेकजाँचका लागि आवश्यक उपकरण र औषधीको थप ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
१८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा घरमै गएर ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याउने तिलाठी कोईलाडी गाउँपालिका पहिलो गाउँपालिका भएको छ । घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम आफु अध्यक्षको जिम्मेवारीमा रहुञ्जेलसम्म निरन्तरता दिईने अध्यक्ष सिहले बताएका छन् । छ जनाको स्वास्थ्यकर्मीको टालीले निःशुःल्क जाँच र औषधी प्रदान गर्ने कार्यक्रम रहेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए ।
कार्यक्रम शुभारम्भका अवसरमा उपप्रमुख सुचिता यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, उपाध्यक्ष सुचिता कुमारी यादव, स्वास्थ्य चौकी प्रमुख राजेश कुमार यादव, स्वास्थ्य संयोजक शैलेश मिश्र लगायतले शुभकामना दिदैं कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।