सुध्रिंदैछ राजविराजको अञ्चल अस्पताल (भिडियो हेर्नुहोस्)

चिकित्सक संख्या २६ पुग्यो, इमरजेन्सीमा २४ औं घण्टा चिकित्सक
मेसु दास भन्छन् ‘अब रेफर गर्नुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ’
सुध्रिंदैछ राजविराजको अञ्चल अस्पताल (भिडियो हेर्नुहोस्)
Bwtech New Add With Software & Bull SMS

श्यामसुन्दर यादव
राजविराज, ३ कार्तिक । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभावमा रेफरल सेन्टरको उपमा पाएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा प्रभावकारी हुन थालेको छ ।
देशमै कुशल चिकित्सक एवम् उच्च प्रशासनिक क्षमतावान डा. चुमनलाल दास मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा करिब चार महिना अघि हाजिर भएपछि गरेका प्रयासका कारण सेवा सुविधामा व्यापक सुधार आएको हो । उनी आउनु अघि चिकित्सक तथा सुविधा अभाव रहेको अवस्थामा रहेको अस्पतालमा ३ जना मात्र चिकित्सक थियो । हाल अस्पतालमा चिकित्सक संख्या थपिदै २६ जना पुगेको छ । जसमध्ये १९ जना विशेषज्ञमध्ये ६ जना स्थायी दरबन्दीमा तथा दुई जना करारमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल अस्पतालमा मेडिसिन, सर्जरी, गाइने, पेडियाट्रिक, ओर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन लगायतका सेवाहरु सञ्चालनमा आएका छन् भने साइक्याट्री र डर्माटोलोजी, ईएनटि, २४ घण्टे नमूना प्याथोलोजी, डिजिटल एक्सरे सेवाको तयारी अन्तिम चरणमा पुगेको मेसु डा. दासले जानकारी दिए ।

यसैगरी अस्तव्यस्त रहेको ईमरजेन्सी सेवामा समेत उनले व्यापक सुधार ल्याएका छन् । अहेवको भरमा स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीहरुको सहयोगमा सञ्चालन हुँदैआएको इमरजेन्सी सेवामा भदौदेखि चिकित्सक २४ औं घण्टा अन ड्युटीमा बस्न थालिएको छ । कुल ५ जना चिकित्सकमध्ये ४ जना राजविराज नगरपालिकाको सहयोगमा तथा एक जना स्थायी दरबन्दीका चिकित्सकबाट भदौ १ गतेदेखि सेवा दिन थालिएको छ ।

यतिमात्र होइन, अस्पतालमा सरसफाई, खानेपानी, सुरक्षा लगायतका विषयलाई समेत गम्भिरतापूर्वक लिँदै सेवालाई प्रभावकारी बनाउने प्रयासहरु भईरहेको डा. दासले जानकारी दिएका छन् । भारत सरकारको सहयोगमा २०१८ सालमा स्थापना भएको ५० शैय्याको यो अस्पतालमा हाल ८३ शैय्या सञ्चालन हुँदैआएको छ ।
यसरी बदलिँदै छ अस्पताल
थरिथरिका समस्याले वर्षौंदेखि रोगी रहँदैआएको अस्पतालको सुधारमा उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ठूलो योगदान रहेको छ । उनी सप्तरीको संसदीय क्षेत्र नम्वर २ बाट चुनाव लड्न आएका बेला मतदातासँग भेट्न गाउँगाउँ पैदलै पुगे । त्यस क्रममा सर्वसाधारण जनताले सुविधा सम्पन्न अस्पताल नहुँदा मृत्युवरण गर्नुपरेको पीडा सुनाएका थिए । अत्यधिक मतले चुनाव जितेका उनी सरकारमा सामिल भएपछि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई प्राथमिकतामा लिए । अस्पतालको अवस्था सुधार गर्नसक्ने उत्कृष्ट मेसुहरुको सूचीमा डा. चुमनलाल दास नै परे । उनलाई विशेष जिम्मेवारीका साथ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल खटाईयो ।
डा. दास अस्पतालमा आएदेखि नै बदनामी कमाएको अस्पतालमा व्यापक सुधार ल्याउन लागि परेका छन् । सञ्चालनमै नआई कार्टुनमै प्याक रहेका उपकरण सहितका सामानहरु खोलेर चेक गर्दै प्रयोगमा ल्याएका छन् । यसअतिरिक्त कमी रहेका सामानहरु देशका अन्य अस्पतालहरुबाट समेत सहयोगमा ल्याएर डा. दास अस्पताल सुन्दर बनाउनमा जुटेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री यादवले यो अस्पताललाई आवश्यक सुविधासम्पन्न बनाई ३ सय शैय्याको बनाउने निर्णय समेत गराईसकेका छन् । यतिमात्र होइन, सोही अनुसारको भौतिक पूर्वाधारकालागि करिब ७० करोड रुपैयाँको बजेट समेत विनियोजन गरिसकिएको छ । निर्माण कार्य अगाडि बढाउन टेण्डर प्रक्रिया समेत अगाडि बढिसकिएको छ ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा पठाइएका डायलायसिस मेसिनहरु डा. दासले हाजिर भएको केही सातामै सञ्चालनमा ल्याएका छन् । सेवा सञ्चालनको औपचारिक रुपमा उद्घाटन गर्न आएका बेला मन्त्री यादवले अस्पतालमा तत्कालै एम्बुलेन्स पठाउने प्रतिवद्धता अनुसार नै यो अस्पतालमा नयाँ एम्बुलेन्स समेत भित्र्याईसकिएको छ ।
विभिन्न बाधा अवरोधका बीच डा. दासले बाहिरबाट आएका चिकित्सकहरुको बास तथा समुचित व्यवस्थापन र काम गर्ने वातावरण बनाउनमा आफु जुटेको बताउँदै भारतीय दूतावासको सहयोगमा निर्माणाधिन प्रसुती भवनको काम सम्पन्न गर्न आवश्यक पहल थालिएको जानकारी दिए । न्यून श्रोत साधनलाई नै प्रयोग गर्दै आफुहरु अगाडि बढिरहेको जानकारी दिँदै उनले भने ‘मैले मात्रै गरेर हुँदैन, बाहिरबाट आएका चिकित्सकहरुलाई काम गर्ने वातावरणका साथै अन्य पक्षहरुमा समेत सहयोग आवश्यक छ ।’
विद्युत अनियमितताले डायलायसिस लगायतका सेवाहरु सञ्चालन गर्नमा समस्या रहेकोमा हाल जेनरेटर समेत ल्याईसकिएको तथा शुद्ध पानीका लागि प्रयास भईरहेको उनले बताए । अस्पताललाई सुधार गर्न स्थानीय तहहरुको समेत जिम्मेवारी रहेकोले समन्वय गर्ने कार्य भईरहेको जानकारी दिँदै उनले भने ‘अबको केही महिनापछि यो अस्पतालमा भर्ना भएका विरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ, सकारात्मक सोचका साथ सप्तरीवासीलाई सहकार्य गर्न आग्रह छ, चिन्ता लिनु पर्दैन, यो अस्पताल चाँडै बदलिन्छ ।’ गम्भीर प्रकृतिका विरामीकालागि आइसियु र सिटी स्क्यान आवश्यक रहेकोले रेफर गर्नुपर्ने बाध्यता रहेकोले यो समस्या पनि टरेर जानेमा आफु विश्वस्त रहेको जानकारी दिए । उनले भने ‘यहाँ भर्ना भएका विरामीहरुलाई रेफर गर्नुपरेको कारण सहितका विषयमा विस्तृत विवरण राखिने गरिएको छ, त्यसलाई म नियमित हेर्ने गर्छु ।’
डा. दासले देशका विभिन्न अस्पतालहरुमा कार्यरत रहँदा उत्कृष्ट काम गरिसकेका छन् । निर्भिक एवम् कामप्रति जिम्मेवार चिकित्सकको रुपमा चिनिएका उनी कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेका छन् ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

Online Saptari

About The Author

%d bloggers like this: