• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनसंख्याको आधारमा बजेट नदिए कर पठाउन बन्द गर्छौंः मन्त्री सोनल

जनसंख्याको आधारमा बजेट नदिए कर पठाउन बन्द गर्छौंः मन्त्री सोनल

राजविराज, २ कात्तिक । प्रदेश नम्वर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जनसंख्याको आधारमा बजेट विनियोजन नगरिए संघीय सरकारलाई कर पठाउन बन्द गर्ने बताएका छन् ।
सप्तरी सिरहामा कार्य गर्न एकीकृत रुपमा कायम भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्वर–१ को कार्यालय राजविराजमा आइतवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कुल जनसंख्याको आधारमा २० प्रतिशत जनसंख्या प्रदेश २ मा रहे पनि २ प्रतिशत पनि बजेट नपठाएको आरोप लगाउँदै उनले भने ‘बजेटमा पनि प्रदेशलाई विभेद गएिको छ, वित्तिय आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा जनसंख्याको आधारमा बजेट पठाईनुपर्दछ, यदी यसो गरिएन भने प्रदेशबाट कर पठाउन बन्द गर्छौं ।’
प्रदेशका आठ जिल्लामा फुल फेजेज बजेट तथा फुल फेजेज अधिकार नदिंदा काम गर्न समस्या भईरहेको गुनासो गर्दै मन्त्री सोनलले अझैं पनि संघीय सरकारले कानून बनाएर अगाडि बढ्नमा ढिलाई गरिरहेको आरोप लगाए । ‘अझैं पनि संघीयतालाई काठमाण्डौबाट कन्ट्रोल गर्ने काम भईरहेको छ, यस्तो अवस्थामा संघीयता कसरी संस्थागत हुने ?’ उनले भने ‘जनताको जीउधनको सुरक्षा गर्नु प्रदेश सरकारको दायित्व हो ।’
संघीयतालाई बलियो बनाउने बेलामा अझैं पनि प्रहरी प्रशासन प्रदेश सरकारको मातहतमा नआएकोप्रति आक्रोश व्यक्त गर्दै प्रदेश सरकारले जनताको जीउधनको सुरक्षाकालागि प्रदेश प्रहरी भर्ना गरिने जानकारी दिए । पाँच हजार कर्मचारी प्रदेशमा आवश्यकता रहेकोमा करिब पाँच सय कर्मचारीले काम चलाउनुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री सोनलले भने ‘जहाँ पाँच हजार कर्मचारीको आवश्यकता छ, त्यहाँ पाँच सयले कसरी धान्ने ?, अब पनि कर्मचारी पठाउन संघले ढिलाई गरे करार सेवा ऐन ल्याएर कर्मचारी भर्ना गर्छौं ।’
भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा प्रदेशको विकास गर्न आफुहरु प्रतिवद्ध रहेको बताईन् । संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै विभिन्न बाधा अवरोधलाई पन्छाउँदै प्रदेश सरकार अगाडि बढिरहेको जानकारी दिईन् ।
कार्यालयका डिभिजन प्रमुख राजेश कुमार कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, सांसदहरु नेत्रविक्रम साह, गीता यादव, मन्त्रालयका सचिव जिबछ मण्डल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सप्तकोशी नगरपालिकाका मेयर उत्तम कुमार गौतम, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, राजविराज नगरपालिकाकी उपमेयर साधना झा लगायतले मन्तव्य व्यक्त गरे ।
सप्तरी र सिरहा दुई जिल्ला हेर्ने गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्वर–१ को कार्यालय राजविराजमा स्थापना गरिएको हो ।