चुरे तराई मधेशको लाइफ लाइन हो, यसलाई जोगाऔंः पूर्व राष्ट्रपति

चुरे तराई मधेशको लाइफ लाइन हो, यसलाई जोगाऔंः पूर्व राष्ट्रपति
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ कात्तिक । नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे तराई मधेशको लाइफ लाइन भएकोले यसलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–५ स्थित मुसहर बस्तीमा न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रबि लामिछानेको संयोजनमा निर्माण गरिएको नयाँ घर हस्तान्तरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । मंगलबार सम्बोधन गर्दै डा. यादवले देशमा सबै मिलेर अघि बढे मात्र देशको भलो हुने बताए । चुरे विनास व्यापक रुपमा भईरहेकोले यसलाई अविलम्व रोक्नुपर्ने बताउँदै प्रमुख अतिथि यादवले भने ‘चुरे तराई मधेशको लाइफ लाइन हो, यसलाई जसरी पनि जोगाउनु पर्छ, यदि यस्तो रह्यो भने अबको केही वर्षमै तराई मधेश मरुभूमिमा परिणत हुनेछ ।’
विकासको नाममा देशैभरि डोजर आतङ्क रहेको भन्दै विकासको नाममा चुरे मास्ने काम अविलम्ब बन्द हुनुपर्ने बताए । ‘विकास हुनु हुँदैन भन्ने मेरो भनाइ होइन, तर लाखौं रुख कटान गर्न मिल्दैन’ उनले भने ‘हचुवा तालमा जेसुकै निर्णय गरेर अगाडि बढ्न मिल्दैन, बरु कम क्षति हुने गरी वैकल्पिक उपायहरु खोजियोस् ।’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा समेत पुनर्विचार हुनुपर्नेमा जोड दिैदै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
मिडिया गणतन्त्रको अक्सिजन भएकोले कुनै पनि बहानामा अंकुश लगाउन नमिल्दै बताउँदै पूर्व राष्ट्रपति यादवले भने ‘सरकारले गर्ने काम मिडियाले गरेर देखाएको छ, यो एकदमै सराहनीय छ ।’ बाढी पीडित मुसहर समुदायलाई भूकम्प र बाढी प्रतिरोधी घर दिएर ठूलो गुण लगाएको भन्दै उनले न्यूज २४ टेलिभिजन र प्रस्तोता रबि लामिछानेको मुक्तकण्ठले प्रशंसा गरे ।
२०७४ साल साउन २८ गते आएको भीषण बाढीका कारण उपचार नपाएर मृत्यु भएका कमलु सदालाई पानीमै बगाउनु परेको समाचार सार्वजनिक भएपछि लामिछाने सहितको टोली मुसहर बस्ती पुगेका थिए । सोही क्रममा उनले बस्तीमा घर बनाउने घोषणा गरेका थिए । उक्त बस्तीमा उनकै संयोजनमा ३५ वटा घर निर्माण गरिएको छ । मुसहर समुदायको बसोबास रहेको यो गाउँमा अझै १७ वटा घर बन्ने क्रममा रहेको छ । निर्माण भईसकेका उक्त घरहरुको साँचो छठको अवसर पारेर पीडित परिवारलाई प्रमुख अतिथि यादवद्वारा हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, तिलाठी कोइलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतले उक्त कार्यको सराहना गरे । कार्यक्रम सञ्चालन न्यूज २४ टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्र कुमार झा ‘जितु’ले गरे । यता नयाँ घर पाएपछि मुसहर बस्तीका बाढीपीडितहरु खुशी भएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: