सप्तरीका डोम समुदायलाई छठ सामग्री बनाउन भ्याई–नभ्याई

सप्तरीका डोम समुदायलाई छठ सामग्री बनाउन भ्याई–नभ्याई
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ कार्तिक । सप्तरीका डोम समुदायलाई यतिबेला छठ पर्वका लागि बाँसका सामग्री तयार गर्न भ्याई–नभ्याई भएको छ ।
वर्षभरीमै सर्वाधिक बाँसबाट निर्मित सामानहरु प्रयोग हुने भएकोले उनीहरुलाई भ्याई–नभ्याई भएको हो । बाँसको कोयाबाट बनाईएका कोनियाँ, ढक्की, छिट्टी इत्यादी सामानहरु छठ पर्वमा अनिवार्य रुपमा प्रयोग गरिन्छ ।
विवाह तथा भोजभत्तेरमा समेत बाँसका सामान प्रयोग हुँदैआए पनि छठ पर्वका बेला सामानहरु अत्यधिक खपत हुने गरेको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–२ रम्पुराका धर्मेन्द्र कुमार मरिक बताउँछन् । पुख्र्यौली पेशाको रुपमा रहँदैआएको बाँसका सामान बनाउने पेशाले यतिबेला जीवन धान्न गाह्रो रहेको बताउँदै उनी भन्छन् ‘दुनियाँ कहाँदेखि कहाँसम्म पुगिसक्यो, हामी डोम समुदाय जहाँको त्यहिँ छौं, एक त बाँस महँगो भयो, समान बनाउन घण्टौं लाग्छ तर बेच्न जाँदा उचित दाम नदिई मोलमोलाई गरिन्छ ।’ टाढाटाढाको गाउँबाट बाँस किनेर त्यसलाई चिरेर आवश्यकता अनुसारको कोया बनाई तयार पारिएको समानले उचित दाम नपाउँदा मन कटक्क दुख्ने गरेको उनी दुखेसो सुनाउँछन् ।
यस्तै दुःखेसो सुनाउँछन् स्थानीय ईनरदेव मरिक । बाँसका सामानहरुले उचित दाम नपाउँदा पेशाले बालबच्चाको छाक टार्न समेत समस्या भएको बताउँदै उनी भन्छन् ‘अब त यसले जीवन धान्ने अवस्था छैन, अर्कै काम गरुँ कि जस्तो लाग्छ तर गर्ने के त्यो पनि समस्या छ ।’
धर्मेन्द्र र ईनरदेब भन्दा फरक छैन बेल्हीचपेना गाउँपालिका–४ का फुदन मरिकको । बाँसका सामानहरुले उचित बजार नपाउँदा यो पेशाले जीवनजिविका चलाउन समस्या भएको उनी बताउँछन् । उनका अनुसार धातु तथा प्लाष्टिकका सामग्रीहरुको बढ्दो प्रयोगले गर्दा डोम समुदायले बनाएका सामानहरुको प्रयोगकर्ता घट्दै गएको छ । फुदन भन्छन् ‘वर्षमा एकपटक आउने छठ पर्वमा बाँसका ढक्की, कोनियाँ सहितका सामग्रीहरु प्रयोग हुँदै आएकोमा केही वर्षयता धातु तथा प्लाष्टिकका सामानहरुप्रति उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ, यसले गर्दा हाम्रो पेशा फस्टाउनुको साटो ह्रास आउँदै गएको छ ।’
प्लाष्टिक तथा धातुका सामानहरु बाँसबाट बनाईएका सामग्रीहरु भन्दा बढी टिकाउ हुने गरेकोले उपभोक्ताहरुको रोजाईमा आफूहरुको श्रम मूल्यमा कमी आउदै गएको डोम समुदायको दुःखेसो रहेको छ । जीवन जिविकाको सवालसँग जोडिएको डोम जातिको पेशालाई आधुनिकतासँग जोडेर प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

Online Saptari

About The Author

%d bloggers like this: