• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परिवर्तन संस्थागत गर्न दलहरु बिच मेलमिलाप आवश्यकः पूर्वमन्त्री मण्डल

परिवर्तन संस्थागत गर्न दलहरु बिच मेलमिलाप आवश्यकः पूर्वमन्त्री मण्डल

राजविराज, २५ कात्तिक । नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तनलाई संस्थागत गर्दै अघि बढाउन राजनीतिक दलहरुबीच मेलमिलाप र एकता आवश्यक भएको बताएका छन् ।
नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा आइतबार राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विकासमा पछाडि परेको तराईको दक्षिणी क्षेत्रका प्रत्येक गाउँपालिकाका लागि सरकारले दुई करोडको बजेटसहितको स्पेशल प्याकेज छुट्याएकोमा प्रशंसा गर्दै प्रदेश सचिव सुमनराज प्याकुरेलले विकासको नयाँ लहर ल्याउन जनता जागरुक हुनु पर्ने बताए ।
बहुदलिय व्यवस्थामा प्रतिपक्षको भूमिकालाई सत्तापक्षले महत्व दिनुपर्ने भन्दै नेपाली कांग्रेसका सभापति दिनेश यादवले राणा शासन र पञ्चायतकालदेखि संघीय लोकतन्त्र प्राप्तीको हरेक संघर्षमा साथै रहेकोले मुलुकको समृद्धि र विकासमा पनि सँगै रहने बताए । प्रदेश सभा सदस्य तथा राजपाका नेता नेत्रविक्रम साहले दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकारले मधेस र दुई नम्बर प्रदेशका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा विना विकास तथा विकास र समृद्धि विना सुरक्षित वातावरणको सम्भावना नरहेको भन्दै देश र जनताका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । उनले विभिन्न अधिकारसहितको तीनै तहको सरकारले गतिका साथ पूर्ण तरिकाले काम गर्न थालेपछि मुलुकले पछाडि फर्कनु नपर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका सहइन्चार्ज विश्वनाथ साह, पूर्व मन्त्री उमेश यादव, प्रतिनिधि सभा सदस्य सरिता गिरी, पूर्व सभासद् ताराकान्त चौधरी, राजविराज नगरपालिका प्रमुख शम्भु यादवलगायतले नेकपाको सरकारले अनुकुल अवसरको पूर्ण सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।
केन्द्रीय सदस्य रामप्रित पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रीय सदस्य अशोक मण्डल तथा सञ्चालन कार्यदल सदस्य महेश यादवले गरे । चियापानमा नेकपा, नेपाली काँगे्रस, राजपाका नेताहरु, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, प्राध्यापक, कानूनव्यवसायी, पत्रकारहरु चियापानमा सहभागी भएका थिए ।