• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

साइकल यात्री गुरुङ्गलाई सप्तरीमा धोती, गम्छा र पागले स्वागत

साइकल यात्री गुरुङ्गलाई सप्तरीमा धोती, गम्छा र पागले स्वागत

राजविराज, ३१ असोज । वन विज्ञान अध्ययन संस्थान पोखरामा चौथो वर्षमा अध्ययनरत साइकल यात्री दिवस गुरुङ्गलाई बुधवार सप्तरीको राजविराजमा युवाहरुले स्वागत गरेका छन् ।
उदयपुरबाट साइकल यात्राको शुभारम्भ गरेका उनलाई युवाहरुले धोती, गम्छा र पाग लगाएर स्वागत गरिएको हो । राजविराज स्थित शहिद दशन चौकमा सप्तरीका युवाहरुको एक समूहले स्वागत गर्दै सफल यात्राको कामना गरेका छन् । स्थानीय शुभम् कर्ण, महेश साह, किशोर यादव, पुष्कर झा, उज्जवल आनन्द, रबि चौधरी, गुञ्जन झा, विवेक साह समेतले उनलाई स्वागत गरेका छन् । यसैगरी चर्चित मैथिली गायिका अन्जु यादवले समेत साइकल यात्री गुरुङ्गलाई गम्छा लगाएर स्वागत गर्दै मिथिला मधेशको भाषा संस्कृतिको विषयमा सन्देश पुर्याउन आग्रह गर्दै शुभकामना दिएका छन् ।
पर्यटन वर्ष २०२० को प्रवद्र्धन, स्वास्थ्य, वातावरण र पर्यटनकालागि साइकलको महत्व, अटिजम सम्वन्धी जनचेतना, रक्तदानको महत्व, जलवायु परिवर्तनको न्यूनिकरणका साथै जैविक विविधताको संरक्षण लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ उनी ४० दिने साइकल यात्रा अभियानमा लागेका छन् । अभियानका क्रममा शैक्षिक तथा सामाजिक संघ–संस्थाहरुसँग समन्वय गरी उद्देश्य प्राप्तिकालागि अगाडि बढ्ने जानकारी दिँदै उनले अभियानमा करिब १० हजार सर्वसाधारणमा जनचेतना जगाउने लक्ष्य रहेको बताए ।
प्रदेश नम्वर १ र २ का सम्पूर्ण जिल्लाहरु र समग्र तराई भ्रमण गर्ने जानकारी दिँदै साइकल यात्री गुरुङ्गले भने ‘तराईका जिल्लाहरुमा नयाँ पर्यटकीय गन्तब्य एवम् सम्भावनाहरुके अध्ययन गरी देश तथा विदेशमा यसको प्रचार–प्रसार गर्ने मेरो संकल्प छ, यसबाट देशको आर्थिक उन्नतिमा समेत टेवा पुग्नेमा आशावादी छु ।’ असोज २८ गतेबाट शुरु भएको साइकल यात्रामा करिब ७० देखि ८० हजार खर्च लाग्ने र उक्त खर्च आफैले व्यवस्थापन गरेको उनले ‘न्यूज टुडेलाई जानकारी दिए ।