सप्तरीमा चाडपर्व लक्षित अनुगमन तिब्र

सप्तरीमा चाडपर्व लक्षित अनुगमन तिब्र
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ असोज । चाडपर्वलाई लक्षित गरी संयुक्त बजार अनुगमन टोलीले सप्तरी जिल्लामा अनुगमन कार्यलाई तिब्रता दिएका छन् ।
समितिले बडा दशैं तिहार लगायतका पर्वका बेला हुनसक्ने कालोबजारी, ठगी, गुणस्तरहिन सामग्री विक्री वितरणलाई नियन्त्रण गर्न अनुगमन थालेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र राजविराज, बोदे वरसाइन, महुली, कञ्चनपुर, हनुमाननगर लगायत जिल्लाभरी अनुगमन कार्य तिब्र पारिएको छ ।
अनुगमनको क्रममा पसलमा मुल्य सुची नराखेको, खरिद मुल्य भन्दा चारदेखि छ गुणाबढी मुल्यमा रेडिमेड कपडा, जुत्ता, झोला लगायतका सामग्री विक्री वितरण गरी कालोबजारी गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार अधिकांश किराना पसल सञ्चालकहरुले म्याद गुज्रेका खाद्यान्न, पेय पदार्थ सहित दैनिक उपभोग्य सामग्रीहरु विक्री वितरण गर्ने गरेको भेटिएको छ ।
चाडपर्वका बेला उपभोक्ताहरुको चहलपहल बढी हुने गरेकोले ठगिने सम्भावना अत्यधिक रहेकोले अनुगमनलाई तिब्र पारिएको अर्का अनुगमन अधिकृत सुरेश कुमार सिंहले बताए । उपभोक्ताहरुलाई सचेत रहन आग्रह गर्दै कुनै पनि सामान खरिद गर्दा शंका लागेमा आफुहरुलाई वा स्थानीय प्रहरी प्रशासनलाई खबर गर्न आह्वान गरे ।
यता हालै राजविराज सहित जिल्लाको विभिन्न स्थानहरुमा भईरहेको अनुगमन सकारात्मक रहे पनि चाडपर्व लक्षित मात्रै भएको रुपनीका उपभोक्ता कृष्णदेव यादवले बताए । अखाद्य वस्तुको मिसावटका साथै मनपर्दी महँगो सामान बिक्री गर्नुका साथै गुणस्तरहिन सामान बिक्री चाडपर्व बाहेक अन्य बेला समेत हुने गरेकोले अन्य समयमा समेत अनुगमन हुनुपर्ने उनको सुझाव छ । पटक पटक गल्ती गर्ने व्यवसायीहरुलाई कारवाही गर्ने विषयमा अनुगमन समिति मौन रहने गरेको सचेत उपभोक्ताहरुको गुनासो छ ।

Online Saptari

About The Author