• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

यसपालीको दशैंः बाढीपीडितलाई हर्ष न विस्मात

यसपालीको दशैंः बाढीपीडितलाई हर्ष न विस्मात

राजविराज, २८ असोज । चारैतिर बडादशैंको उल्लास चलिरहँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीपीडितहरुलाई भने हर्ष नविस्मात झैं भएको छ ।
गत भदौ महिनाको दोश्रो साता सप्तकोशी नदीको पानीले करिब ३ सय घर डुबानमा परेर क्षति पुर्याएपछि बाढी पीडित बस्तीमा दशैंको उमङ्गले छुन सकेको छैन । भारतले कोशी योजना अन्तर्गत ब्यारेजको दक्षिणतर्फ सप्तकोशी नदीको मुलधारलाई पाइलट च्यानलका माध्यमले पश्चिमतर्फ फर्काएपछि घर डुबान भएका हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–५, ७, ११ र १२ का ती परिवार दशैं मनाउनुभन्दा पनि छाक टार्ने चिन्तामा छन् ।
चारैतर्फ दशैंको उत्साह छाएको अवस्थामा आफुहरुलाई कसरी छाक टार्ने भने चिन्ताले सताएको बबिता देवी मुखियाले बताईन् । बाढीले भत्किएको घर देखाउँदै उनले भनिन् ‘हामीलाई दशैं आएको अनुभूतिसम्म गर्न पाएका छैनौं, घर भत्किएकै छ, जेनतेन जोडजाम गरेर चुलो बल्दैछ ।’
बाढीले अधिकांश परिवारको घर समेत क्षतिग्रस्त भएर लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न सवै बाढीमा परेपछि किनमेल गर्ने कुरा त परै जाओस् आफुहरुले अहिलेसम्म दशैंको उल्लास बस्तीमा नरहेको अर्का बाढीपीडित लक्ष्मी मुखियाले बताए । ‘कतैबाट सहयोगसम्म पाएको छैन, हामी बाढीपीडितको दशैं यसवर्ष यस्तै बित्ने भो’ उनले भने ‘बालबच्चाका लागि त नयाँ लुगा, मीठो खानेकुरा खान दिनैप¥यो, तर भए पो व्यवस्था गर्ने ।’
बाढीले घर भत्किएका कारण त्रिपालको छाप्रो र आफन्तकोमा बसेर केहि दिनअघि मात्रै घर फर्किएका कतिपयले भने यसपालिको दशैं मनाउने सोच नै मरिसकेको अर्का बाढीपीडित कोशी राउनले बताईन् । हर्षोउल्लासका साथ दशैं मनाउने आफुहरुलाई समेत इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण बाढीले भत्किएको घर बनाउने कि दशैं मनाउने चिन्ताले पिरोलिएको उनले दुःखेसो सुनाईन् ।