ऋणबाट रेल ल्याईए देशले थेग्न सक्दैनः डा. महत

ऋणबाट रेल ल्याईए देशले थेग्न सक्दैनः डा. महत
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ असोज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले विना अध्ययन विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न नसक्ने बताएका छन् ।
राजविराजमा विहीबार आयोजित प्रेस युनियन सप्तरीको छैठौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् । व्यापक अध्ययन गरी प्रतिफल आउने वा नआउने हो यस विषयलाई गम्भीरताकासाथ लिनुुपर्नेमा जोड दिँदै उनले भने ‘बिना अध्ययन विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न सक्दैन, यस्तो कार्यलाई तत्काल रोक्नुपर्छ ।’
ऋण लिनुपर्ने नै हो भने रेल ल्याउने नाममा देशमा १५देखि २० हजार किलोमीटर दुई लेनको पक्की बाटो गाउँगाउँसम्म पुग्ने पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले विचार व्यक्त गरे । उनले वर्तमान सरकारले संघदेखि स्थानीय तहसम्म जथाभावी कर बढाएको भन्दै वहाँले गम्भीर आपत्ति जनाए ।
कम्यूनिष्ट नेतृत्वको वर्तमान सरकार प्रेसलाई दबाउन उद्दत छ, नेता महतले भने ‘प्रेसलाई दबाउनु भनेको लोकतन्त्रलाई दबाए जस्तै हो, यो हामीलाई कदापी स्वीकार्य छैन ।’ काँग्रेसले प्रतिपादन गरेकै बाटोमा अहिलेका कम्यूनिष्ट हिडिरहेको भन्दै उनले थपे ‘मनले चाहेर होस् वा नचाहेर कम्यूनिष्टहरु अहिले संसदीय अभ्यासमा आएका छन्, सरकारको नेतृत्वपनि उनीहरुले नै गर्दैछन् ।’
अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले नाराले मात्र अहिले कम्यूष्टि आफुलाई क्रान्तिकारी सावित गर्न खोजिरहेको बताउँदै भने ‘क्रान्तिकारी नाराले होइन, कामले भइन्छ ।’ काँग्रेसले राणा, पञ्चायत र राजाको हुकुमी शासन समाप्तिमा अगुवाई गरेको कारण कम्यूनिष्ट होइन काँग्रेसनै क्रान्तिकारी रहेको उनको दावी थियो । उनले पहाडसँग मधेशलाई अलग गर्न खोज्ने सिके राउत र मधेशबाट पहाडलाई छुट्याउन खोज्ने केपी ओली दुबै एक सिक्काका दुई पाटा रहेको भन्दै काँग्रेसले अलगाववादी नीतिको विपक्षमा रहेर समग्र मुलुकको एकिकरणमा जोड दिएको बताए ।
उद्घाटन समारोहमा सांसद तेजुलाल चौधरी, सांसद नमिता चौधरी, युवा नेता रञ्जित कर्ण, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, केन्द्रिय सदस्य अबधेश कुमार झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव, युनियनका संस्थापक सदस्य अर्जुन साह, क्षेत्रीय सभापति बद्री महात्मान लगायतका नेताहरुले सम्वोधन गरे ।
प्रेस युनियनका सप्तरी संयोजक गणेश लाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य आरएन विश्वास तथा सञ्चालन श्रवण देवले गरे ।

Online Saptari
Online Saptari

About The Author