• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलात्कारीलाई राज्यपक्षले जोगाउन खोजेको छः राजकिशोर

बलात्कारीलाई राज्यपक्षले जोगाउन खोजेको छः राजकिशोर

राजविराज, १८ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बलात्कारपछि हत्या भएको निर्मला पन्तको हत्यारालाई राज्यपक्षले जोगाउन खोजेको आरोप लगाएका छन् ।
विहिवार सप्तरीको राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले हत्याराको विषयमा छर्लङ्ग रहेकोले कानूनी दायरामा ल्याउनुको सट्टा गलत चरित्र अपनाएर जोगाउने प्रयासमा राज्य पक्ष लागेको बताए । देशलाई दुर्घटनामा पारेर संघीयता समाप्त पार्ने राज्यपक्षको नियतिका कारण बलात्कार, हत्या, हिंसा लगायतका जघन्य अपराधहरु मौलाएकोप्रति दुख व्यक्त गर्दै नेता यादवले भने ‘जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्दछ ।’
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा बोल्दै नेता यादवले विमानस्थलको नाममा तराई–मधेशको जङ्गल विनाश गर्ने षड्यन्त्र भईरहेको दावी गरे । उनले जङ्गल र चुरे विनास गरी तराई–मधेशलाई मरुभूमीकरण गर्न खोजेको आरोप समेत लगाए ।
पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका नेता यादवले जङ्गल विनास हुनबाट जोगाउन बैकल्पिक उपायको खोजी गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना भईरहेको भन्दै उनले भने ‘दुई तिहाई बहुमतको यो सरकार आफ्नै क्रियाकलापका कारण चौतर्फी आलोचना भईरहेको छ, जनताको विश्वास समेत गुम्दैगईरहेको छ ।
वर्तमान सरकारले आफ्नो रबैया सुधार नगरे सरकारलाई राजपाले समर्थन दिईरहनुको औचित्य नरहेको उनले बताए । टिकापुर घटना अनुसन्धानका गर्न गठन गरिएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा गठित तराई मधेश थरुहट जाँचबुझ आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरिएकोप्रति नेता यादवले आक्रोश व्यक्त गरे ।
देशमा संघीयता नै समाप्त पार्ने षडयन्त्र भईहरेकोले संघीयता पक्षधरहरु सचेत हुनुपर्नेमा उनले जोड दिए । सरकारले आफ्नो रबैयामा सुधार नल्याए आफुहरु संघर्षको बाटो रोज्न बाध्य हुने समेत राजपा अध्यक्ष मण्डलका सदस्य यादवले चेतावनी दिए ।
पत्रकार सम्मेलनमे पार्टीका महासचिव विनोद कुमार सिंह, केन्द्रिय नेताहरु गजेन्द्र कुमार मण्डल, विपी यादव,, राज्यमन्त्री सुरेश मण्डल, सांसद नेत्रबिक्रम साह, पार्टीका केन्द्रिय एवम् जिल्ला अध्यक्ष रामप्रित यादव, हरेराम यादव लगायतको उपस्थिति थियो ।