• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वन विनासको असरबारे गम्भिर रुपमा लिन अभियन्ताहरुको आग्रह

वन विनासको असरबारे गम्भिर रुपमा लिन अभियन्ताहरुको आग्रह

राजविराज, ९ असोज । चुरे मधेश विकास मञ्चले सोमबार तराई मधेश राष्ट्रीय परिषदको सहयोगमा निजगढ़ बजारको बुद्धचोकमा ‘चुरे वन जंगल तथा वातावरण जोगाऔं’ विषयमा वृहत सभाको आयोजना गरेको छ ।
स्थानीयका साथै टाङ्गिया बस्तीका जनताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम चुरेको अव्यवस्थित दोहनबाट भइरहेको हानी नोक्सानी तथा प्रस्तावित अंतर्राष्ट्रीय विमानस्थलले ल्याउन सक्ने वातावरणीय प्रभावको न्युनिकरणमाथि केन्द्रित रहेको थियो । सभामा पर्साका चर्चित सामाजिक कार्यकर्ता प्रकाश थारूले चारकोसे जंगलको दक्षिणी भेगका थरुहट क्षेत्रमा कृषकले अहिले वर्षको तीन बाली भित्र्याईरहेको तर अनियन्त्रित जंगल फड़ानी भए पानीका मुहानहरू सुक्दै जाने खतरा रहेको औंल्याए ।
पानीको सतह पछिल्ला केही वर्षमा धेरै तल गईसकेकोले विमानस्थल निर्माणको लागि न्युनतम चाहिने जग्गामात्र अधिग्रहण गर्नुपर्ने र अहिले प्रचारित विश्वको तेस्रो सबभन्दा ठूलो विमानस्थल बनाउनेतिर लागेर विश्वसामू हाँसोको पात्र नबन्न उड्ययन प्राधिकरणलाई सुझाव समेत दिए । थारूले यति ठुलो भूभागमा हुन लागेको वन विनासले आउने दिनमा कोलभी, गढीमाई, सिमरौनगढ, घोरहा बजार जस्ता दक्षिण भेगमा रहेका भूभाग बढी प्रभावित हुने धारणा राखे ।
उता लालबकैयाको छेउमै गाउँ भएका समाजशास्त्री भरत शाहले चुरेको अनियन्त्रित दोहनले नदिको उँचाई खतरनाक गतिले बढ़ीरहेको र वर्षैपिच्छे बाढ़ी आउने त्रास जनमानसमा फैलिदैं गएको बताए । उनले निजगढ़ एयरपोर्टको लागि माटो पुर्ने बेला फेरी चुरे कटान गरे समस्या झन बल्झिने तर्क दिए । साथै विश्वका साना तर धेरै यात्रीलाई सेवा पु¥र्याइरहेका लण्डनको ग्याट्विक, मुम्बईको क्षत्रपति शिवाजी, चीनको जियामेन इत्यादि जस्ता कुशल र प्रभावकारी एयरपोर्टबाट सिक्न समेत सरकारलाई आग्रह गरे । उनले प्रतिप्रश्न गर्दै उनले भने ‘६७४ हेक्टरबाट ५ करोड़ यात्रीलाई सेवा दिनसक्ने ग्याट्विक विमानस्थलबाट किन नसिक्ने ?’
टाङ्गिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले सरकारले बस्ती सार्न मुआब्जा वितरणमा ढिलासुस्ती गरेको तथा विमानस्थललाई बारा भन्दा बाहिर लग्ने चलखेल शुरूभएको प्रति खबरदारी प्रकट गरे । सरकारले चुरे छेउछाउ बसेका जनतालाई समतल भूभागमा नसारुन्जेल चुरेमा उत्खनन तथा सड़क निर्माण भइरहने हुनाले मधेशका उर्वर खेतियोग्य जमीन बचाउन चुरेभावरका जनतालाई समथल भूभागमा पुनर्वासको माग समेत गरे ।
निजगढ़का स्थानीय समाजसेवी कुमार लामाले निजगढ़ विमानस्थल ठुलो सानो जस्तो सुकै बनाए पनि निजगढ़ भन्दा अन्यत्र सार्न नहुने र पर्यावरणको ख्याल राखी निर्माण गर्नुपरेमा जोड़ दिए । कुनैबेला दक्षिण कोरिया र जापान जस्ता मुलुकलाई दान दिने हैसियत राखेको हाम्रो मुलुकको दुर्दशा फेर्ने परियोजनाको रूपमा निजगढ़ विमानस्थललाई सबैले सघाउनुपर्ने उनले आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथी तथा सामाजिक अभियन्ता सरोज रायका अनुसार जंगल कटानीको सोधभर्ना स्वरूप जति सुकै रुख रोपे पनि त्यो जंगल बन्न नसक्ने बरू बगैचा जस्तो हुने तर्क राखे । रुख रोप्न सकिए पनि दुर्लभ जंगली जनावरको वासस्थल कुनै बगैचा हुननसक्ने कुरा राखे ।
सरकारले यस परियोजनाका कुनै दस्तावेज सार्वजनिक नगरेकोले सरकारको रुख काट्ने नियत माथि शंका गर्न प्रशस्त ठाउँ रहेको समेत प्रष्ट गरे । विमानस्थलको सम्भाव्यता भएको २५ वर्ष अघि र आजको परिस्थिति र प्रविधि धेरै फरक भइसकेको, त्यतिबेला निजगढ़ र सिमरा सानो गाउँ छँदा भएको अध्ययनले यी दुबै शहर विकसित हुने अनुमान नगरेको तथा दुबै ठाउँलाई बाइपास गरेर नयाँ एयरपोर्ट शहर बनाउने सुझाउ रहेको उक्त रिपोर्ट अहिले काम नलाग्ने तर्क गरे ।

चुरे मधेश विकास मंचका अध्यक्ष सुनिल यादवले अहिलेको बेला तराईमधेशका सबै समुदाय मिलेर वन जंगल तथा चुरे संरक्षणका लागि हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । चुरेको अव्यवस्थित उत्खनन र बाटोघाटो निर्माणमा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको तथा कठोर नियमनकारी विभाग संचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष रामाधार यादव, प्रवक्ता राजेश भण्डारी, सचिव लक्ष्मी सिंह, पर्सा अध्यक्ष राकी झा, बारा अध्यक्ष लक्ष्मी यादव, रौतहट अध्यक्ष लक्ष्मण साह, सर्लाही अध्यक्ष सञ्जय साह, केन्द्रिय सदस्यहरू पन्नालाल पटेल, सूरज गुप्ता, अरविन्द यादव, कोषाध्यक्ष कृष्णाउति देवी साह तथा तराई मधेश राष्ट्रीय परिषद का सदस्य शशी यादव लगायतको उपस्थिति थियो ।