सरसफाइ, सचेतना र दायित्व

सरसफाइ, सचेतना र दायित्व
Bwtech New Add With Software & Bull SMS

-अजय कुमार झा

      अजय कुमार झा

भागवत पुराणका अनुसार, ब्रह्माजीले एक समय सृष्टिको परिकल्पना गर्नुभयो । सृष्टि गर्न निम्ति उहाँले मनु (पुरुष) र सतरूपा (स्त्री) लाई उत्पन्न गर्नुभयो । साथै तिमीहरू जाऊ र जगतमा सृष्टि गर भनी उहाँहरूलाई आज्ञा गर्नुभयो । सृष्टि गर्नका लागि उहाँहरू भूमि (पृथ्वी) तर्फ लाग्नुभयो । तर हिरण्याक्ष नामक दैत्यले भू देवी (भूमी) लाई समुद्रभित्र लगेर लुकाएर राखेको उहाँहरूले पाउनुभयो । देवताहरूले भू देवीलाई मुक्त गरेर लैजान नसकोस् भनेर हिरण्याक्षले भू देवीलाई विष्ठा (दिसा) को घेराभित्र पारेर राखेका पनि उहाँहरूले पाउनुभयो । मनु र सतरूपाले त्यो प्रतिकूल स्थिति हेरेर ब्रह्माजीको शरणमा पुग्नुभयो र यथास्थितिको जानकारी गराउनुभयो । तब ब्रह्माजीले सोच्नुभयो कि देवताहरू त विष्ठानजिक जाने होइनन्; एक शूकर (सुँगुर) मात्र यस्तो जीव हो, जो विष्ठानजिक जान सक्छन् र भू देवीलाई मुक्त गराउन सक्छन् । यस्तो सोचेर ब्रह्माजीले तत्काल भगवान नारायणको ध्यान गरी उहाँलाई यथास्थितिबाट अवगत गराई भू देवीको मुक्तिका लागि आग्रह गर्नुभयो । भगवान नारायणले सम्पूर्ण स्थितिको मूल्याङ्कन गरी वराह अवतार लिनुभयो र समुद्रभित्र पसी हिरण्याक्षको संहार गरी विष्ठासमेत सफा गरी भू देवीलाई मुक्त गर्नुभयो ।
वेद, उपनिषद्, पुराण, ग्रन्थ, साहित्य, चिन्तन, विचारधारा आदि मानवद्वारा मानवकै चेतना र ज्ञानको अभिवृद्धिका लागि बनेको हो । मनुष्य नै स्रष्टा र मनुष्य नै भोक्ता हो । श्रेष्ठ जन स्रष्टा र बाँकी भोक्ता हुन्छन् । उपरोक्त आख्यानको माध्यमले भागवत पुराणले दिन खोजेको सन्देश र चेतना के हो त ! यस आख्यानको सतही र स्थूल अर्थ जे जस्तो लागे पनि यसको गुढ अर्थभित्र भने सरसफाइको महत्व र मार्गदर्शन निहित छ । मूल प्रश्न भनेको विष्ठाबाट घेरिएकी वसुन्धरालाई कसरी मुक्त गर्ने भन्ने चिन्तनबाट वराह अवतार अभिप्रेरित रहेको प्रतीत हुन्छ ।
भागवत पुराणको यस आख्यानमा पाँचवटा पात्रको चरित्र चित्रण गरिएको छ । ब्रह्मा, मनु सतरूपा, हिरण्याक्ष, आम देवता र भगवान नारायण । भागवत पुराणको केन्द्र भगवान नारायण हुन् । भगवानले हेतु र कारणका लागि अवतरण लिएका हुन् । प्रत्येक अवतारले प्रत्येक युगको प्रतिनिधत्व गर्दछ । वैदिक ग्रन्थहरूमा वर्णित शुकर (संस्कृत) अर्थात् सुँगुर (अपभ्रंश) को स्वभाव विष्ठा ग्रहण गर्ने प्राणीको रूपमा देखिन्छ । आधुनिक समयमा सुँगुरको व्यवसायिक विकास निकै भएको छ । त्यसैले सुँगुरको जीवन शैलीमा पनि निकै परिवर्तन आएको छ । अबको जमानामा सुँगुर र विष्ठालाई एउटै सन्दर्भ बनाउनु उचित छैन । यद्यपि परम्परागत समाजहरूमा सृष्टिकालीन चिन्ह अझै पनि जीवित रहेको पाइन्छ ।
विष्ठा उति बेला पनि दुर्गन्ध फैलाउने वस्तु थियो, अहिले पनि छ । खुला दिसा गर्ने चलनमा अहिले निकै सुधार भए पनि गाउँमात्र के नगरका बाटा र गल्ली अनि नदी, पोखरी र जलाशयको डिल खुला दिसाबाट मुक्त भएको छैन । मानिसले दिसा (विष्ठा) लाई फोहोरमध्येका सबैभन्दा बढी घृणा गर्ने वस्तु मान्दछन् । तर पशु यस्तो भावदेखि अनभिज्ञ हुन्छ । मानिसले दिसा गर्न वा फोहोर गर्न जरुरी भए झैं दिसा अर्थात फोहोरको सफाइ पनि गर्न जरुरी छ । मानिसले गर्न नचाहेको सफाइ पशुले गरेको प्रसँगबाट हामीले के शिक्षा प्राप्त गर्ने ? पशुमा पनि उही भगवान (नारायण) को वास छ भन्ने अर्थमा पशु सानो र मानिस ठूलो भन्न मिल्दैन । मानिसले गर्न नसक्ने काम पशुले गरेको छ भन्ने कुराबाट मानिस सफाइप्रति कुन उचाइमा गएर अभिप्रेरित हुनु पर्दछ; यस आख्यानले भन्न खोजेको देखिन्छ । भगवानले देवताहरूलाई पनि चेतना दिनुभएको छ । सर्वश्रेष्ठ देवताको रूपमा भगवान नारायण स्वयंले धरतीमाथिको विष्ठाको परत अर्थात फोहोरलाई सफा गरेर देवता अर्थात् राम्रा मानिसलाई पनि सफाइप्रति प्रेरित गर्न खोज्नुभएको प्रतीत हुन्छ । देवताहरू विष्ठा नजिक आउँदैनन् भनेर देवताको कमजोरीको लाभ उठाएर दैत्यले फोहोरको यस्तो आतंक मचाउँछ कि सारा पृथ्वीमाथि संकटको साम्राज्य स्थापित हुन्छ । फोहोरबाट मानव समुदायको मुक्तिका लागि भगवान स्वयंको अवतरणले मानवीय जीवनमा सरसफाइको महत्व र मानिसको कर्तव्य स्पष्ट हुन्छ ।
सफाइ भनेको उज्जवलता, निर्मलता, स्वच्छता, पवित्रता हो । सफाइप्रति प्रेम र फोहोरप्रतिको घृणा भावले मानिसको सरसफाइप्रतिको दृटिकोण स्पष्ट पार्दछ । सरसफाइ मानिसले स्वयं गर्ने कार्य हो । हाम्रो सनातन संस्कृतिमा यो मान्यता छ कि जहाँ सफासुग्घर रहन्छ त्यहीँ लक्ष्मीको वास हुन्छ । सनातनधर्मी श्री लक्ष्मीका उपासक हुन्छ । यसर्थ महालक्ष्मीको उपासना गर्नुको अर्थ आफ्नो घर परिवार, वरपर सफासुग्घर बनाएर राख्नु सनातनधर्मीको धर्म, कर्तव्य र आचरण हुन आउँछ । सनातन धर्मग्रन्थहरूमा सरसफाइ, स्वच्छता र पवित्रताको विषयमा निर्देशनको व्यापकता छ ।
देवालय भन्ना साथ पवित्र स्थान मानिन्छ । देवालय/तीर्थालयमा जाँदा मानिस पवित्र भएर जानु अनिवार्य हुन्छ भन्ने मात्र होइन कि देवालय/तीर्थालयमा शीर निहुराएपछि अन्तःकरणसमेत निर्मल र पवित्र भएर आउँछ भन्ने कुरा व्यक्ति व्यक्तिले अनुभूत गरेको विषय हो । हरेक चाडपर्वमा सरसफाइको महत्व विशिष्ट छ । चाडपर्व भन्नासाथ कुरा सरसफाइबाट प्रारम्भ हुन्छ । तर कतिपय चाड सरसफाइ र पवित्रताको स्थापनाकै लागि आयोजन गर्ने परम्परा पनि छ ।
निजी जीवन र घर व्यवहारमा सरसफाइ
व्यक्तिगत स्वच्छताको अर्थ शरीर, पहिरन, खानपिन आदि सफासुग्घर राख्नु हो । स्वास्थ्यको परिभाषा न केवल कुनै रोगबाट मुक्त रहनु हो, बल्कि शारीरिक, मानसिक र सामाजिक तवरले निरोगी व तन्दुरुस्त रहनु हो । स्वास्थ्यका लागि स्नान अत्यन्त आवश्यक हुन्छ । स्नान शारीरिक र मानसिक स्वास्थ्यको रक्षक हो ।
स्वच्छताको अर्थ हाम्रो शरीर, मन र हाम्रो चारैतिरका चीज वस्तुलाई सफा र स्वच्छ बनाएर राख्नु हो । स्वच्छता मानव समुदायको एक आवश्यक गुण हो । यो विभिन्न प्रकारको रोगबाट सुरक्षाको सरलतम उपायमध्ये एक र सबै भन्दा प्रमुख उपाय हो । सरसफाइ जीवनको आधारशीला हो । यसमा मानिसको गरिमा, शालीनता र आस्तिकताको दर्शन प्राप्त हुन्छ । स्वच्छताको माध्यमले मानिसको सात्विक वृत्तिलाई बढ़ावा मिल्दछ ।
स्वच्छतामा आचरणको शुद्धता अत्यन्त जरुरी हुन्छ । शुद्ध आचरणले मानिसको अनुहार तेजस्वी रहन्छ । सबैले त्यस्तो व्यक्तिलाई आदरको दृष्टिले हेर्दछन् । त्यस्तो व्यक्तिप्रति मानिसमा अत्यन्त श्रद्धा हुन्छ । उनको सामु अरुको टाउको स्वतः निहुरिन्छ । स्वास्थ्य रक्षाका लागि स्वच्छता अनिवार्य तत्व हो । जब मनुष्य स्वच्छ रहन्छ, तब उसमा एक किसिमको स्फूर्ति र प्रसन्नताको सञ्चरण हुन्छ । व्यक्तिगत स्वच्छताको परिधिमा सिंगो परिवार र परिवारका सदस्यहरू स्वच्छतामा एक अर्काको सहयोग पनि आउँछ । परिवारमा वयस्क सदस्यको दायित्व दुई गुणा बढी हुन्छ । शिशु र वृद्ध आफ्नो सफाइका लागि वयस्कमाथि निर्भर रहन्छन् ।
सार्वजनिक स्थलमा सरसफाइ
सरसफाइ मानिसको प्राकृतिक गुण हो । मानिसले आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्न चाहनु स्वाभाविक हो । आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर फैलिन दिनु हुँदैन । सफासुग्घर राख्न सकेन भने माखो, मच्छर, बिच्छु, सर्पजस्ता हानिकारक किराहरू घरमा प्रवेश गर्ने छन् र जसबाट अनेक प्रकारको रोग र विषालु किटाणु घरमा चारैतिर फैलिन सक्छन् । यसले एक व्यक्तिलाई मात्र होइन, सिंगो परिवारलाई नै डस्ने र रोगग्रस्त बनाउने जोखिम हुन्छ । यदाकदा महामारीले गाउँ र टोललाई नै आफ्नो चपेटामा पार्ने घटनाहरू हुन्छन् । यसको कारक तत्वमध्ये फोहोर पनि एक हो ।
हाम्रो देश, पहाड, मधेश, गाउँ, सहर सबैतिर, वास्तविकता यो छ कि यहाँ अधिकांश मानिस वा परिवार सरसफाइप्रति सचेत छैनन् । उनीहरू आफ्नो घर र वरपर मात्र होइन चौक, चौतारा, विद्यालय, मंदिर आदि सार्वजनिक स्थानको सरसफाइप्रति पनि सचेत छैनन् । पवित्रस्थल मानिने देवालय, मंदिरहरू अनपेक्षित रूपमा अधिक फोहोर देखिन्छन् । आम मानिस मात्रको कुरा नगरौं, सामाजिक सेवाका लागि निरूपित नागरिक समाजदेखि सरकारी निकायका लागि निर्वाचित प्रतिनिधिहरू पनि सरसफाइप्रति सचेत देखिदैनन् । हाट, मेला, जस्ता सार्वजनिक आयोजनहरूमा सहभागी आगन्तुकहरू पुग्छन् र स्वच्छताको महत्वदेखि अनभिज्ञताका कारणले त्यहाँ ठूलो परिमाणमा फोहोर फैलाएर हिँड्छन् ।
सार्वजनिक सेवा प्रदायक सरकारी अड्डाहरू पनि धेरथोर यही अवस्थाका सिकार देखिन्छन् । सार्वजनिक अड्डाहरूमा अड्डाका अधिकारीदेखि सेवाग्राहीसम्म सबैले फोहोर भित्र्याउने काम त गर्दछन् तर फोहोर सफा पार्न पछि पर्दैनन् र सफा सुग्घर राख्न अघि सर्दैनन् । अड्डा परिसरमा फोहोर राख्ने कन्टेनरहरू राखिएका रहेछन् भने पनि आफूले विसर्जित गरेका फोहोर कुराहरू ती कन्टेनरमा राख्न लाज मान्छन् । पान खानु एउटा परम्परा नै हो । यसकोृ सांस्कृतिक महत्व पनि उत्तिकै छ । पान खानुलाई नबाबी ठाठदेखि लिएर पान स्वर्गमा पनि नपाइने वस्तुको रूपमा चर्चित छ । जर्दा बिनाको पान स्वास्थ्यका लागि आवश्यक पनि छ । तर परम्परामा पानसँगै पिकदानी पनि थियो, जसले पानबाट हुने फोहोरलाई रोक्दथ्यो । पानको परम्परा त कायमै रह्यो तर पिकदानी हरायो । जसले गर्दा पान सेवनका कारण फोहोर अत्यधिक बढेको छ । हिजो आज त झन पानको पर्याय स्वरूप अनेक थरिका गुटका सेवन गर्न थालिएको छ । गुटखा खाने र पटक पटक पिच्च पिच्च थुक फाली रहने बानीले फोहोर बढाएको छ । कार्यालयको पर्खालहरू फोहोर हुन थालेपछि पर्खाललाई जोगाउन पर्खालमा अचेल भगवानको फोटो टाँस्न थालिएको छ । सरकारी कार्यालयमा स्वीपर, चौकीदार र माली पनि भर्ना गरिएका हुन्छन् । यसका बावजुद सरकारी कार्यालयहरू फोहोरको रोगबाट मुक्त हुँदैनन् ।
सरसफाइ सचेतना
अधिकांश मानिसले सरसफाइलाई धेरै कम महत्व दिन्छन् र यस्तो स्थानमा बस्दछन्, जहाँ वरपर फोहोर फैलिएको हुन्छ । उनीहरू आफ्नो व्यवहारमा परिवर्तन हुनुपर्छ र वरपर सफा र स्वच्छ राख्नुपर्छ भन्ने कुराप्रति लापरवाही प्रदर्शन गर्दछन् ।
अनेकौं मानिसको यस्तो भनाइ हुन्छ कि सरसफाइको काम सरकारी निकायको हो । त्यसैले आफूले केही नगरी सबै जिम्मेबारी सरकारमाथि छोडी दिएको हुन्छ । सरसफाइ वडा कार्यालय, नगरपालिका, गाउँपालिका र अन्य निरूपित सरकारी निकायहरूको होइन भन्ने होइन, तर यति भनेर आम मानिसले आफुलाई कर्तव्यच्यूत गर्न मिल्दैन । मानिसले जबसम्म स्वच्छताको महत्वलाई बुझ्ने छैनन् तब सम्म उनीहरूले आफूलाई सभ्य र सुसंस्कृत भन्न सक्ने छैनन् । वर्तमान समयमा सरकारी तथा गैरसरकारी संंस्थाहरूले सरसफाइको पक्षमा अनेकानेक जागरण अभियान र कार्यकलाप गर्दछन् । तर तिनको प्रभाव कार्यक्रम चल्दासम्म मात्र रहन्छ ।
समाजमा खुला दिसा पिसावको प्रवृत्तिविरुद्ध अनेक प्रचार भइरहन्छन् । तर पनि अधिकांश मानिसले खुला दिसा गर्ने नराम्रो बानी त्याग्न सकेका छैनन् । जसले गर्दा अनेक रोग उत्पन्न भइरहेका छन् । यस्तो मानिन्छ कि फोहोर र रोग हमेशा एक साथ शरीरमा प्रवेश गर्दछन् । शरीरलाई स्वस्थ र निरोग राख्नको लागि स्वच्छता अत्यन्त आवश्यक हुन्छ ।
देश र समाजलाई सफा सुग्घर राख्नुपर्ने दायित्व केवल सरकारको मात्र होइन, अपितु सबैको कर्तव्य हो । समुदायले मिलेर स्वच्छताप्रति आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्छ । समाजका सबै सदस्यले आफ्नो वरपरको सफाइमा आफ्नो व्यक्तिगत र सामुहिक योगदान दिनुपर्छ । नदी, पोखरी, जलाशयका पानी फोहोर हुनबाट रोक्न सबैले मिलेर कार्य गर्नुपर्छ ।
मानिसमा स्वच्छताको विचार उत्पन्न गर्नका लागि शिक्षाको प्रचार गर्नु आवश्यक छ । शिक्षा पाएर नै मानिस स्वच्छतातर्फ प्रवृत्त हुन सक्छन् । दिनचर्यामा हामीले आफ्नो आचरणद्वारा बालबच्चालाई सरसफाइको उद्देश्य र महत्व बुझाउनुपर्छ ।
सरसफाइको विशेष अभियान
संयुक्त राष्ट्र संघको निर्देशनमा सन् १९८० मा नेपालमा पनि सरसफाइ विशेष अभियान सुरु भयो । प्रारम्भमा स्वास्थ्यका लागि पानी (नेवा), नेपाल रेडक्रस सोसाईटीजस्ता केही संस्थाहरूले सरसफाइबारे जनचेतना जगाउन र पूर्वाधारको विकास गर्ने काम गर्यो । दुई दशकसम्म सयौं संस्थाले सरसफाइप्रति चेतना जगाउने कार्यमा योगदान गरे । अझै पनि गरी रहेका छन् ।
सन् २००० मा नेपाल सरकारले राष्ट्रिय सरसफाई समितिको निर्माण गर्यो । सरकारले २०१५ सम्म ५४ प्रतिशत आधाभन्दा बढी समुदायका मानिसहरूलाई सरसफाइको पहुँचमा लैजाने र सन् २०१७ सम्म शत प्रतिशत परिवारमा सरसफाइको पहुँच कायम गर्ने लक्ष्य लियो । सरसफाइ गुरुयोजना बनाएर देशभर सञ्चालन भएको अभियानले सरसफाइ तथा स्वच्छताको आनिबानीमा निकै परिवर्तन ल्यायो । सन् २०१७ को अन्त्यमा उक्त अभियानको अन्त्य पनि भयो । देशका सबै जिल्ला, गाउँपालिका र नगरपालिकाहरू खुला दिसा मुक्त घोषणा गरिए । खुला दिसा मुक्त घोषणा गर्नुको तात्पर्य जहाँतहीँ दिसा गर्देनौं भनी समुदायका मानिसहरूले प्रतिबद्धता जाहेर गरेको हुनुपथ्र्यो । तर खुला दिसा मुक्त घोषणा कार्यक्रम सामुदायिक आधारमा कम र संस्थागत तथा औपचारिक आधारमा बढी भए । शत प्रतिशत घरपरिवारमा शौचालय निर्माण भएको घोषणा गरियो । तर यथार्थमा सबै घरपरिवारमा शौचालय बनेको घोषणा यथार्थमा आधारित थिएन । यस मानेमा घोषणा कार्यक्रमको आलोचना पनि भयो । गुरुयोजना अनुसार खुला दिसा मुक्त कार्यक्रमको दोस्रो र तेस्रो चरणको कार्यक्रम सञ्चालन हुन बाँकी छ । तर २०१८ को अन्त्य आउन लाग्दासम्म पनि ती चरणका कार्यक्रम के हुन् भन्ने जानकारी समुदायले पाउन सकेको छैन ।
शौचालय निर्माण हुनु मात्र लक्ष्य होइन । शौचालयको उपयोग, शौचालय उपयोगपछिको व्यक्तिगत सरसफाइका साथै चर्पीको नियमित सफाइ पनि महत्वपूर्ण विषयको रूपमा रहेको छ । त्यससँगै घरआँगनको सफाइ, समुदायको सफाइका विषय पनि गाँसिएका छन् ।
फोहोर उत्पन्न गर्ने काम ९९ प्रतिशत मानिसले र १ प्रतिशत मात्र पशुले गर्दछन् । मानिसले गर्ने गरेको फोहोर गर्न छोडेमा र पशुले गर्ने वा भएका अन्य फोहोरहरूलाई व्यवस्थित गरिएमा फोहोर जटिल समस्याको रूपमा आई लाग्दैन । आफ्नो घरभित्र बाहिर, बाटोघाटो, धारा, विद्यालय हाता सफा तथा सफाइमा सबैको जिम्मेबारी वहन गर्न सक्ने इच्छा शक्ति हुनुपर्छ । सरसफाइ समुदायको दायित्व हो किन कि १/२ वर्ष सघंसंस्थाले गर्दैमा उसैको जिम्मेवारी भन्न मिल्दैन ।
सरसफाइको प्रबर्द्धन अगाडि बढाएरमात्र वातावरणीय प्रदूषणमा कमी आउने होइन । पूर्ण सरसफाइको अवस्था निर्माण हुनु जरुरी छ । सचेतनाका कुराहरू प्रत्येक व्यक्तिले व्यवहारमा उतार्न आवश्यक छ । कतिपयले यसलाई असम्भव पनि भन्ने होला । तर यो सम्भव कुरा हो । वैदेशिक रोजगारका लागि कतार, मलेसिया, दक्षिण कोरिया मात्र पनि आदि जानेहरू फर्केर आएपछि त्यहाँको सरसफाइको गुण गान गर्दछन् । हामीले सरसफाइमा पूर्णता प्राप्त गर्दैनौं अथवा गर्न सक्दैनौ भन्ने छैन ।
विश्वका विकसित देशहरूमा विकास र आधुनिकताको जुन मानक तयार गरिएका छन् तिनमा स्वच्छताको महत्वपूर्ण स्थान छ । हामीले ती विकसित देशहरूको मोडेललाई अपनाएर अघि बढ्ने कुरा त गर्दछौं, तर के ती मानकहरूलाई आत्मसात गर्न तयार छौं, विचार गर्नु जरुरी छ । स्वच्छताको दायरा यति विस्तृत छ कि यसलाई व्यवहारमा ल्याउन विभिन्न स्तरमा विचार गर्नु आवश्यक छ । मन, वचन, कर्म, शरीर, हृदय, चित्त, समाज, परिवार, संस्कृति र व्यवहारदेखि लिएर धर्म र विज्ञानसम्ममा स्वच्छताको विशेष महत्व छ । स्वास्थ्य, जीवन, परिवार, समाज, संस्कृति, राष्ट्र र विश्व चेतनाको उच्च आदर्श प्राप्त गर्नका लागि स्वच्छता पहिलो आधार हो ।
-लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।

Online Saptari

About The Author

%d bloggers like this: