सप्तरी, ३० भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सरकारले ल्याउन लागेको फौज्दारी ऐन मिडियालाई बन्देज लगाउनकालागि नभई विकृति न्यूनिकरण गर्न खोजेको बताएका छन् ।
सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रेस स्वतन्त्रता हुनुपर्नेमा आफुहरु समेत प्रतिवद्ध रहेको बताउँदै सरकारले केही सञ्चारमाध्यमहरुमा देखिएको विकृति न्यूनिकरण गर्नेतर्फ एने केन्द्रित रहेको उनले दावी गरे ।
समाजिक सञ्जालहरुमा झन् अराजक एवम् छाडा प्रवृति बढ्दैगएकोले त्यसलाई व्यवस्थापन गर्नु सरकारको दायित्व भएको बताउँदै मन्त्री यादवले भने ‘हामी पत्रकारहरुको स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेका होइनौं, व्यवस्थापन गर्न ऐन ल्याउन लागेका छौं, यद्यपी कतिपय त्रुटीहरु भए त्यसलाई सच्याउन सकिन्छ ।’
संविधान जारी भएको दिनलाई राष्ट्रिय जनता पार्टीले कालो दिवसको रुपमा मनाउन लागेकोतर्फ ईङ्गित गर्दै उनले आफ्ना असन्तुष्टिहरु शान्तिपूर्ण विरोध गरेर राख्नु स्वाभाविक भएको बताए । सरकारसँग गरिएको सम्झौता अनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै मन्त्री यादवले भने ‘सरकारलाई समर्थन दिनुअघि भएको सहमती कार्यान्वयन हुनुपर्दछ, प्रधानमन्त्री पनि यस विषयमा गम्भीर हुनुहुन्छ तर केही समय त लाग्छ ।’
प्रदेश नम्वर २ को सबैभन्दा पुरानो गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था सुधार्नकालागि आफु गम्भीर रहेको उनले बताए । औद्योगिक क्षेत्रमा विद्युत, सुरक्षा, पानी लगायतका समस्याहरुको विषयमा आफुले प्रत्यक्ष रुपमा स्थलगत अवलोकन गरेको जानकारी दिँदै मन्त्री यादवले भने ‘प्रमुख जिल्ला अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय लगायतका प्रमुख एवम् सरोकारवालासँग पनि छलफल गरेको छु, कतिपय समस्या चाँडै समाधान हुन्छ ।’
प्रेस सङ्गठन नेपालका गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सांसदहरु गोबिन्द न्यौपाने, जगत प्रसाद यादव, रुबी कर्ण, प्रमिला कुमारी यादव, नेकपाका केन्द्रिय नेताहरु अशोक कुमार मण्डल, महेश यादव, छेदी रजक लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन पत्रकार दिनानाथ यादवले गरे ।