तिरहुतको दलित बस्तीमा अघोषित नाकाबन्दी (भिडियो समेत हेर्नुहोस्)

३६ परिवारलाई आवत–जावतमा समस्या
तिरहुतको दलित बस्तीमा अघोषित नाकाबन्दी (भिडियो समेत हेर्नुहोस्)
Bwtech New Add With Software & Bull SMS

सप्तरी, २५ भदौ । देशमा संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिन्छन् । तर सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर ४ का ३६ दलित परिवारले भने गाउँमा सरकार पुगेको अनुभूती गर्न पाएका छैनन् ।
राम अर्थात चमार जातीको बसोबास रहेको उक्त बस्तीसम्म पुग्ने बाटो नै चौतर्फी रुपमा थुनिएका कारण उनीहरु आवतजावतमा समस्या झेल्न बाध्य भएका हुन् । स्थानीय उपल्लो जातका व्यक्तिहरुले साबिकको बाटो आफ्नो नम्बरी जग्गामा परेको भन्दै घेरबेर गरेका छन् भने केहीले बाटोलाई नै मासेर धान खेतमा परिणत गरिदिएका छन् । यसरी आवत–जावत गर्ने बाटो नै चारैतर्फबाट घेरिएपछि त्यहाँका वासिन्दाहरु बस्तीसम्म जेनतेन पुग्ने गर्छन् । बाटोका कारण उनीहरु कष्टप्रद अवस्थामा जीवनयापन गर्न बाध्य भएका छन् । राम बस्तीसम्म एम्बुलेन्स त मोटरसाइकलसम्म लान सकिने अवस्था रहेको छैन ।
गाउँमा गर्भवती महिलालाई व्यथा लाग्दा वा कसैलाई सर्पले टोक्दा ढक्कीमा बोकेर लानुपर्ने अवस्था रहेको शत्रुध्न रामले दुःखेसो सुनाए । नयाँ जनप्रतिनिधी आएपछि आफुहरुको समस्या समस्या होला कि भने विश्वासका साथ मत दिएका जिताएका प्रतिनिधिहरुले समेत खासै चासो नदेखाएको गुनासो गर्दै उनले भने ‘पार्टीका नेताहरुले पनि गुहा¥यौं, सिडियो अफिसमा ज्ञापनपत्र बुझायौं तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन, हामीहरु अहिले अघोषित नाकाबन्दीकै अवस्थामा थुनिएका छौं ।’
तथा बिहेवारी हुँदा दुलहीलाई समेत हिडाएरै लानुपर्ने सिंगो बस्तीको पीडा रहेको छ ।
विगत दुईवर्षदेखि समस्या झेल्दैआएका उक्त बस्तीका चार परिवारले सहन नसकेर विस्थापित समेत भईसकेका छन् । माओवादी जनयुद्धकालमा समेत बस्तीका लागि नयाँ बाटो समेत बनाईएको थियो तर उक्त बाटोमा समेत घेरबेर गरेपछि आफुहरुको दैनिकी एकदमै कष्टकर रहेको बताउँदै रामेश्वर रामले भने ‘बाटो अभावले यो गाउँमा वाहिरका स्वजातीयहरु विहाबारी गर्न शंकोच मान्ने गर्छन्, विहामा गाउँमा आउने बरियातीको गाडिलाई बस्तीभन्दा टाढै राखिन्छन् भने दुलहा–दुलहीलाई बोकेर लानुपर्ने अवस्था छ ।’
‘जाति, धर्म, वर्ण वा पेशाका आधारमा भेदभावपूर्ण व्यवहार र निषेध हुनेछैन’ भन्दै अन्तरिम व्यवस्थापिका संसद्ले २०६३ मा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १२ वर्षपछि भईसक्दा पनि पनि समाजिक जनजिवनमा खासै परिवर्तन आउन सकेको छैन ।’ राम बस्तीका वासिन्दाहरुले गाउँमा पशुपालन गरेर जीवनयापन गर्न चाहे पनि बाटो नै भएका कारण मनको लड्डु घीउसँग खानु झै भएको डोमी देवी रामले पीडा सुनाईन् । उनले थपिन् ‘यो समस्या समाधान होला भने आश घट्दै गएको छ, यो समस्या समाधान गर्ने व्यक्ति हाम्रालागी भगवान नै साबित हुनेछ ।’
राम बस्तीको समस्या समाधान गर्न आफुहरुले पहल गरे पनि सफलता पाउन नसकेको स्थानीय राजनीतिकर्मी एवम् समाजसेवी देवनारायण यादवले बताए । बस्तीका वासिन्दाको पीडा देखेर मन कटक्क दुख्ने गरेको बताउँदै उनले भने ‘आवत–जावत गर्न बाटो नै नहुँदा चार परिवार बस्ती नै छाडेर अन्यत्र गए भने अन्य व्यक्तिहरु समेत बस्ती नै छाड्ने अवस्थामा छन्, त्यसैले यो समस्या अविलम्ब समाधान हुनुपर्दछ ।’
बस्तीमा रहेको अघोषित नाकाबन्दीबारे तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर यादवले उक्त विषयमा आफुलाई जानकारी नभएको बताए । यद्यपी उक्त समस्यालाई आफुले गम्भीरतापूर्वक लिएको भन्दै वडाध्यक्षसँग समन्वय गरी तत्काल पहल थाल्ने उनले प्रतिवद्धता व्यक्त गरे । (तस्विर समेत श्यामसुन्दर यादव/राजविराज)

(भिडियो हेर्नुहोस्)

Online Saptari
Online Saptari

About The Author