• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा दुई ओटा मेसिनबाट डायलायसिस सेवा, दुई ओटा अझैं सञ्चालन भएन

राजविराजमा दुई ओटा मेसिनबाट डायलायसिस सेवा, दुई ओटा अझैं सञ्चालन भएन

राजविराज, २१ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा शुरु भएको झण्डै तीन साता वितिसक्दा पनि दुई ओटा मेसिन अझैं सञ्चालन हुन सकेको छैन ।
उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहका बिच भदौ १ गते अस्पतालमा डायलायसिस सेवाको उद्घाटन गरेका थिए । उद्घाटनका दिन चार ओटा मेसिन मध्ये मात्र दुई ओटा सञ्चालनमा आएको थियो । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको विशेष पहलमा स्वास्थ्य सेवा विभागबाट दुई ओटा र थप दुई ओटा टेण्डर प्रक्रियाबाट खरिद गरिएको थियो ।
उद्घाटन अघि नै चार ओटै मेसिन सञ्चालनमा ल्याउन प्राविधिक टोलीले प्रयास गरे पनि मेसिनमा समस्या आएका कारण दुई ओटा मात्रै इन्सटल गरी चालु गरिएको थियो । उद्घाटन भएको तीन साता वितिसक्दा पनि दुई ओटा मेसिन सञ्चालनमा नआएका कारण विरामीहरुलाई समस्या भईरहेको डायलाइसिस शाखाका प्राविधिक मनोज देवले जानकारी दिए । उनका अनुसार दुई ओटा मात्रै मेसिन सञ्चालनमा रहेकोले हाल १४ जना विरामी वेटिङ्गमा रहेका छन् । चाहेर पनि विरामीहरुलाई सेवा दिन समस्या भईरहेको बताउँदै उनले भने ‘सेवा सुरु भएको दिनदेखि हामीले सिफ्टमा सात जना विरामीलाई डायलाइसिस सेवा दिँदैआएका छौं, दुई जना स्वास्थ्यकर्मी र एक जना ईलेक्ट्रिक कर्मचारी मात्र रहेकोले दैनिक दुई सिफ्ट भ्याउन समस्या भईरहेको छ ।’
अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सप्तरीका साथै अन्य छिमेकी जिल्लाहरुबाट सेवा लिन विरामीहरु आउने गरेको भए पनि दुई मेसिन सञ्चालनमा नआएकोले सेवा दिनसक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । हाल एउटा मेसिन मात्र सञ्चालन गरी एउटा मेसिन तयारी अवस्थामा राख्नुपर्नेमा आफुहरुले रिस्क लिएर भए पनि दुईओटै मेसिनबाट सेवा दिईरहेको जानकारी दिँदै उनले भने ‘दुई ओटा मेसिन समेत सञ्चालनकालागी पटक पटक सम्वन्धित निकायलाई घचघचाउँदै आएका छौं, यसै साताभित्र सञ्चालनमा आउँछ ।’
चार ओटै मेसिन चालु भए पनि आकस्मिक वा अपर्झट कुनै मेसिनले काम गर्न छाडेमा रिजर्वमा रहेको मेसिनले काम चलाउनुपर्ने भएकोले चाहेर पनि बढी विरामीलाई सेवा दिन सक्ने अवस्था नरहेको डा. दासले बताए । यद्यपी कम्तिमा थप दुई ओटा मेसिन ल्याउने प्रयासमा रहेको उनले ‘न्यूज टुडे’लाई जानकारी दिए ।