Top_Header_Right_Add

शहिद परिवार र आन्दोलनका घाईतेहरुको विषयमा गम्भीर छौंः मन्त्री साह

शहिद परिवार र आन्दोलनका घाईतेहरुको विषयमा गम्भीर छौंः मन्त्री साह

राजविराज, २० भदौ । प्रदेश २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनका शहिद परिवार तथा घाईतेहरुको भरणपोषण लगायतका सुविधाको विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका घाइते श्रवणकुमार झालाई बुधबार ३ लाख रुपैयाँको चेक उपलब्ध गराउँदै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । मधेश आन्दोलनबाटै देशमा संघीयता आएको तथा शोशित उत्पीडित मधेशी जनताको हक अधिकार सुनिश्चित हुनेतिर लम्किएको बताउँदै मन्त्री साहले भने ‘मधेश आन्दोलनको घाउ हामीले विर्सेका छैनौं, शहिदको बलिदानी र आन्दोलनमा प्रहरी दमनमा गम्भीर घाइते भएका योद्धाहरुको योगदानको उचित सम्मान गर्न हामी चुक्दैनौं ।’
अधिकारप्राप्तिको आन्दोलनमा आफु स्वयंले तत्कालिन सरकारको बर्बर दमनको अनुभूति गरेको बताउँदै प्रदेश सरकारको पहिलो बैठकले शहिदर परिवार र आन्दोलनका घाइतेहरुको विषयमा गरेको निर्णय कार्यान्वयन भईरहेको जानकारी दिए । शहिद परिवारको जीवनयापनका लागि एक थान दुधालु गाई वा भैसी तथा गोठ व्यवस्थापनकालागि ३० हजार रुपैयाँ समेत दिईने मन्त्री साहले बताए ।
२०७२ मंसिर ५ गते आन्दोलनको क्रममा प्रहरीको गोली झाको दायाँ खुट्टा लागेपछि उपचारको क्रममा उनको खुट्टा काट्नु परेको थियो । राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानिय सञ्चारकर्मी गंगा साह, रामसेवक यादवलगायतको सहभागीता थियो ।
मधेश आन्दोलनका अर्का घाइते राजविराज ६ निवासी भुवनेश्वर मण्डल बेलचनलाई समेत उनको घरमै पुगेर एक लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिने जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।