विपदमा धैर्य र धर्म नत्याग्नू

विपदमा धैर्य र धर्म नत्याग्नू
Bwtech New Add With Software & Bull SMS

-अजय कुमार झा

      अजय कुमार झा

धीरज धर्म मित्र अरु नारी । आपद काल परिखिअहिं चारी ।। धैर्य, धर्म, मित्र र नारी– यी चारैको विपत्तिको समयमा नै परीक्षा हुन्छ । मानिसको जीवनमा ‘विपद्’को सन्दर्भ गोस्वामी तुलसीदासजी (वि.सं. १५६८–१६८०) को समयमा पनि अति गम्भीर विषय थियो भन्ने कुरा श्रीरामचरित मानसको अरण्यकाण्डको एक चौपाईको यो अंशबाट बोध हुन्छ । यस पंक्तिको माध्यमबाट रचनाकारले विपद्मा पर्दा धैर्य नछाड्नु, धर्म नत्याग्नु भन्ने चेतनामूलक सन्देश दिनुभएको देखिन्छ । विपद्को समयमा कुनै पनि किसिमको अधर्मको मार्गमा जानु हुँदैन । अधार्मिक र नैतिक पतनको मार्गमा हिँड्नुबाट बच्नुपर्छ । हाम्रो धैर्य नै हामीलाई समाजमा मान–सम्मानको शिखरसम्म पुर्याउन सक्छ । कुनै विपत्ती आउँछ भने त्यस्तो विपत्तीमा धैर्य धारण गर्दै सही निर्णय लिनुपर्छ ।
नियमित, सामान्य तथा अपेक्षित अवस्थाभन्दा पृथक ढंगले वातावरणीय पक्षमा देखापर्ने आकस्मिक वा क्रमिक परिवर्तनका कारण अनियन्त्रित र त्रासदीपूर्ण अवस्थाको सिर्जना भई धनजनको क्षति हुने अवस्थालाई विपत्ती भनिन्छ । विपद् मानवीय वा प्राकृतिक कारणबाट आइपर्ने आपतकालीन स्थिति, नोक्सानी, खतरा वा जोखिमको अवस्था हो । विपद एक प्राकृतिक वा मानव निर्मित जोखिमको प्रभाव हो, जो समाज वा पर्यावरणलाई नकारात्मक रूपले प्रभावित गर्दछ । विपत् ज्योतिष विज्ञानबाट आएको शब्द हो, जसको अर्थ हुन्छ कि जब ग्रहहरू अवाञ्छित स्थानमा हुन्छन्, तब विपत् आउँछ । विपद्लाई अनुचित प्रबन्धित जोखिमको परिणामको रूपमा लिइन्छ । विपद् जो कम जोखिमको क्षेत्रमा हुन्छ, त्यो विपद् मानिदैन, जस्तै निर्जन क्षेत्रमा ।
विपद्ले वातावरणीय स्रोत साधन, विकासका पूर्वाधार, जीवन निर्वाहका संयन्त्रहरू तथा मानव जीवनसमेतको विनास गर्दछ । वर्षा जीवनको लागि आवश्यक छ । तर धेरै वर्षाका कारण बाढी आएर गाउँटोल डुबानमा पर्यो भने विपद्को घडी सुरु हुन्छ । वायु पनि जीवनको लागि अपरिहार्य छ । तर वायुको वेग बढेर आँधी–तुफान आयो भने विपद्को घडी सुरु हुन्छ । आगो पनि जीवनको लागि उत्तिकै आवश्यक छ । तर यही आगोले विकराल रूप लियो भने विपद सुरु हुन्छ । यस प्रकार पानी, हावा, आगोजस्ता प्रकृतिको स्रोत, आफ्नो लघु रूपमा जहाँ मानिसका लागि नभई नहुने तत्वको रूपमा रहन्छ भने त्यसको भयावह रूप मानिसको लागि जोखिमपूर्ण हुन्छ । मानिसलाई बिचल्लीमा पार्दछ ।
प्रलय पनि विपद् हो वा भनौं सबै भन्दा ठूलो विपद् हो । प्रलय एक युगमा एक पटक आउँछ । विपद्ले इतिहासलाई समाप्त मात्र पार्दैन बल्कि भविष्यको निर्माण पनि गर्दछ । विपद्ले भूगोलको रूप फेरि दिन सक्छ । विपद्का कारण संस्कृति, सभ्यता र धरामाथिको जीवन नै पटक पटक समाप्त भएको उदाहरण छन् । हामी बसेको राजविराज नगर विपद्कै परिणाम हो । झण्डै ८ दशक अघि सप्तकोसी नदीमा आएको बाढीले त्यतिबेलाको एक समृद्ध नगर सप्तरीको सदरमुकाम लिलजा, नरहा बजारलाई बगाएर नै लग्यो । उक्त घटनामा धनजनको अवर्णनीय क्षति भयो, जुन अत्यन्त विषद् घटना थियो । तर त्यसै कारणले मानिस विस्थापित हुँदै आजको राजविराज नगर बन्न पुग्यो । विपद्प्रति राजविराजवासी जागरुक र गम्भीर बन्नुपर्दछ ।
विपद् प्राकृतिक वा मानव सिर्जित एक यस्तो अनपेक्षित घटना हो, जसको व्यवस्थापनका लागि नियमित क्षमताभन्दा बढी क्षमताको खाँचो पर्दछ । विपत्तीले सामान्य दैनिक जनजीवनलाई अस्तव्यस्त र छिन्नभिन्न तुल्याइदिन्छ । धनजनको क्षति हुन्छ । सामान्य जीवनमा व्यवधान सिर्जना हुन्छ । भौगोलिक, वातावरणीय वा मौसमी सक्रियता, गतिशीलता वा अव्यवस्थाबाट उत्पन्न हुने बाढी, सुखा, जलसंकट, वन विनाश, औद्योगीकरण, आँधी, आगलागी, मरुस्थलीकरण, भूकम्प, ज्वालामुखी, उल्का, चट्याङ्ग, हिमताल, सामुद्रिक आँधी, सुनामी, फ्लू, एन्टिबायोटिक प्रतिरोध, ग्लोबल वार्मिङ्ग, अत्यधिक जनसंख्या, परमाणु युद्ध सामग्री आदि सबै विपद् हुन् । तर जुनसुकै किसिमको विपदा भए पनि विपदाको सामना गर्नु मूल विषय हो । यद्यपि यस्ता विपत्तीहरूको सिर्जना गराउनमा अप्रत्यक्ष रूपमा मानवीय भूमिकासमेत रहेको हुन्छ ।
विपद्मा परेको मानिस असामान्य स्थितिको सामना गरिरहेको हुन्छ । जीवन संकटमा परेको बेला के गर्ने नगर्ने अवस्था हुन्छ । विपद्को सामना गर्दा हार्नुको अर्थ मृत्युको भोग चढ्नु हो । अर्थात् विपद्मा परेका बेला धैर्य र धर्मलाई छाड्न हुँदैन । धैर्यता भनेको आलस्य होइन, होसयारीपूर्ण प्रयास हो । त्यस्तै यहाँ धर्म भनेको सनातन, बौद्ध, जैन, इस्लाम आदि धर्म होइन । धर्म भनेको मानिसको गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव, स्वाभाविक गुण; सहज वृत्ति आदि भनेर बुझ्नुपर्छ । मानिसले विपद्मा पर्दा आफ्नो गुणलाई छोडेर क्रन्दनमा लाग्नु हुँदैन । अनायास घरमा आगो लाग्यो भने के गर्ने ? भाग्न समर्थ व्यक्ति भाग्ने कि परिवारलाई जोगाउने उपायमा लाग्ने ? हालै भारतको मुंगेरमा, ११० फीट गहिरो बोरवेलको ४३ फिटमा फसेकी मात्र ३ सालकी सानाको करीब २९ घण्टा ४० मिनटपछि उद्धार भयो । विपद्मा परेकी तीन वर्षको बच्चाले दुई दिनसम्म देखाएको धैर्य र धर्म सलाम गर्न लायक छ । सानाको साहस विपद्मा पर्नेहरूको लागि प्रेरणादायी छ ।
विपद्मा परेका मित्रको उद्धार, राहत र पुनस्र्थापनामा मित्रले सहयोग गर्नैपर्छ, सहयोग नगर्ने मित्र कसरी मित्र कहलाउन सक्छ ? तुलसीदासजीको यो चौपाईमा विपद् आई पर्दाको अवस्थामा गर्नु र गरिनुपर्ने सबै कुरो समेटिएको छ । विपद्को विषयमा हिजोको र आजको सबै कुरा उस्तै छन् । रूपमा अन्तर देखिए पनि सारमा उही हो ।
विपद्लाई उहिले र अहिले पनि एक स्वाभाविक घटनाको रूपमा लिइन्छ । त्यसैले आपत्लाई दैवी प्रकोपको घटना मानिन्छ । तर आधुनिक विश्वमा मानिसको क्रियाकलापका कारणले पनि विपद् निम्तिएको छ । कुनै पनि समय वा ऋतुमा संसारको कुनै न कुनै भागले कुनै न कुनै प्रकारको विपद्को सामना गरिरहेकै हुन्छ । त्यसैले विपद् एक प्राकृतिक र स्वाभाविक घटना हो भने मनुष्यको केही अवाञ्छित क्रियाकलापले गर्दा आउने विपद अस्वाभाविक (कृत्रिम) घटना हो । प्रकोप पनि प्रकृतिमा आउने विकारको प्रकटीकरण नै भए पनि महामारी रोग आदिको प्रबलताको लागि बढी प्रयोग हुन्छ । पहिले पहिले हैजा, बिफर, मलेरिया, कालाज्वर आदि प्रकोपकै रूपमा आउँथ्यो । यता आएर हैजा, विफर आदि उन्मूलनको अवस्थामा पुगी सकेको छ ।
प्राकृतिक विकारका कारण उत्पन्न हुने विपद्लाई मानिसले नियन्त्रित गर्न सक्छ कि सक्दैन । भूकम्पलाई रोक्न सकिन्छ कि सकिदैन । भूकम्पको गतिलाई न्यून गर्न सकिन्छ कि सकिदैन । भूकम्पको केन्द्र र गति (रेक्टर स्केल) थाहा हुने यन्त्र छ । तर भूकम्पको पूर्वानुमान गर्ने यन्त्र छैन । अर्थात भूकम्पलाई रोक्न सकिदैन । त्यसैले जे गर्न सकिन्छ त्यो भनेको भूकम्पले उत्पन्न गर्ने विपद्को सामना गर्ने नै हो । भूकम्पले छोड्ने असरहरूको व्यवस्थापन गर्ने नै हो ।
विपद् उत्पन्न हुनुका पछाडि विभिन्न कारणहरू हुन्छन् । विपद् मानवीय नियन्त्रणभन्दा बाहिरको घटना भए पनि यसको सिर्जना हुनुमा भने मानवीय व्यवहार र क्रियाकलापहरू जिम्मेवार हुन सक्छन् । विकास, आविष्कार, आधुनिककिरणका क्रममा तिनको प्रकृतिमाथि पर्नसक्ने नकारात्मक असरका बारेमा सचेत भई त्यस्ता असरहरू न्यूनीकरणका लागि प्रभावकारी कदम नचालिनुको परिणामले नै अधिकांश विपद्हरू देखा पर्दछन् ।
वनजङ्गल विनास प्राकृतिक प्रकोपको एक प्रमुख कारण हो । वनजङ्गलको अभावमा अतिवृष्टि, अनावृष्टि, सुक्खा, खडेरी, बाढी, पहिरोजस्ता विपद् आइपर्दछन् । संसारमा बर्सेनि यस्ता विपद्मा परेर हजारौं मानिसले ज्यान गुमाएका हुन्छन् । नेपालमा वनजङ्गलको आकार पातलिँदै गएको छ । यसका अनेक दुष्परिणाम देखा पर्न थालेका छन् । चुरिया पर्वतमा वनविनाशका कारण तराईमा वर्षाको अनियमितता, सुखा, बाढीको विपद् देखा पर्नुका साथै तराईको मरुस्थलीकरण हुने अवस्था सिर्जना भइरहेको छ ।
जलवायु परिवर्तन आजको सिङ्गो विश्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । विश्वव्यापी तापमानमा वृद्धिका कारण हिउ पग्लने, हिमतालहरू फुटने, समुद्री सतह बढ्ने, प्रकृतिमा अनपेक्षित र असामान्य परिवर्तनहरू देखापर्ने क्रम तीव्र रूपमा बढ्दो छ । माल्दिभ्सजस्ता समुद्री टापु मुलुकहरू विश्व मानचित्रबाट हराउने स्थिति बन्दैछ ।
विकास प्रयास व्यवस्थित र सावधानीपूर्ण नहुने हो भने त्यस्तो विकासले विनाश निम्त्याउँछ । असुरक्षित निर्माण कार्यहरू, अव्यवस्थित सहरीकरण, कमजोर भौतिक संरचनाहरू आदि प्रकोपका उच्च सम्भावित स्रोतहरू हुन् । सडक विस्तारका नाममा वन विनास र जमिनको व्यवस्थित कटानले पहिरो तथा भूक्षय निम्त्याउँछ । प्रदेश नं. २ को बारा जिल्लामा अन्तर्राष्ट्रिय स्तरको हवाई मैदान बनाउने क्रममा २५ लाख रूख कटान गर्न लागिएको छ । एकै वर्षमा २५ लाख वृक्षको कटानले ल्याउने दुष्परिणामको चिन्ता बेलैमा लिनुपर्छ ।
जनसंख्याको वृद्धिसँगै स्रोधसाधनको अति दोहन र स्रोतसाधनको अभाव, अव्यवस्थित बसोवास, वनजङ्गल विनास, जमीनको खण्डीकरण, वातावरण प्रदूषण लगायतका थुप्रै समस्याहरू बढेर जान्छन् । उच्च गरिबी र कुपोषण, फोहोर आहारको अवस्थाले विभिन्न महामारी निम्त्याउँछ ।
विश्व राजनीतिमा देखिएको शक्तिको होडबाजी, शक्ति सञ्चयको प्रतिस्पर्धामा विनासकारी आणविक तथा जैविक हतियारहरूको विकास, सङ्कलन र एकअर्काका विरुद्धमा प्रयोग, युद्ध तथा आतंक आदिले विपद् उत्पन्न गर्दै आएको छ । हिरोशिमा र नागासाकीमा परमाणु बम विष्फोटनको असर आज ७० वर्षपछि पनि समाप्त भएको छैन ।
विपद्का कारण उत्पन्न हुने विपद्को व्यवस्थापन भनेको विपद्मा परेका मानिस/पशुको उद्धार गर्ने, उपचार गर्ने, आधारभूत राहत उपलब्ध गराउने र पुनस्र्थापन गर्ने हो । यो राज्यले गर्ने कार्य हो । राज्य भनेको सरकार मात्र बुझिने होइन, राज्यका सम्पूर्ण संयन्त्र, नागरिक समाज र समूहगत रूपमा व्यक्ति पनि । त्यस्तै आपतकालमा एउटा व्यक्तिले गर्ने कार्य पनि तुलसी–वाणीमा परिलक्षित छ । तुलसीदासका अनुसार व्यक्ति दुई प्रकारका देखिए; एक— आपतमा परेको, र अर्को— आपतमा परेकाको मित्र ।
विपद्का सम्भावनाहरू पहिचान गरी तिनलाई रोक्ने प्रयास गर्न, विपद् आई हालेमा त्यसबाट हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र विपद् आइपरेपछि त्यसको सामना गर्न गरिने आवश्यक पूर्वतयारी, योजना, संयन्त्र निर्माण, स्रोतसाधनको व्यवस्था र साङ्गठनिक एवं मानवीय क्षमता विकाससम्बन्धी सम्पूर्ण कार्यहरूलाई समग्रमा विपद् व्यवस्थापन भनिन्छ । विपद् आउनुपूर्व, विपद्को समयमा र विपद्को अवस्थामा योजना, सङ्गठन, स्रोतसाधन परिचालन, समन्वय, नियन्त्रण र अनुगमन, तथा मूल्याङ्कन गर्ने कार्य नै विपद् व्यवस्थापन हो । यसमा पूर्व तयारी गर्ने, योजना बनाउने, क्षमता विकास गर्ने, स्रोतसाधनको परिचालन गर्ने, जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा मानवीय सहायता प्रदान गर्ने, पुनःस्थापना र पुनः निर्माण गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।
भूकम्प होस्, बाढी होस्, वा आगलागी होस् वा अन्य कुनै प्रकारको विपद् होस् । त्यस्तो विपद्को स्थितिमा राज्यले गर्ने कार्य त राज्यले गर्ला नै तर विपद्मा परेका मानिसले वास्तवमा तत्काल के गर्नुपर्छ । यो कुरा निश्चय पनि निकै महत्वपूर्ण छ । आपतमा परेका मानिस वयस्क वा सोचसमझवाला मात्र हुन्छन् भन्ने होइन । वृद्ध, बालबालिका, शिशु, अपाङ्ग पनि हुन्छन् । तर समर्थ व्यक्तिका लागि यो निकै महत्वपूर्ण छ कि विपत्तीमा फसेको अवस्थामा तत्काल के गर्ने ?
विपत्तीको आकार ठूलो भए मात्र आपत्–विपद भनिन्छ । तर पुरानो वा कमजोर निर्माणका कारण कुनै भवन भत्किएर व्यक्ति वा परिवार थिचिन्छ भने आपत् विपद् भने पनि अवस्था भनेको त्यस्तै हुन्छ । उद्धार गर्नैपर्छ, उपचार गर्नैपर्छ, अन्य कार्य गर्नैपर्छ । यी कार्य राज्य र मित्रले गर्ने कार्य हो । तर एउटा व्यक्ति जो विपद्मा थिचिएको छ र उसमा श्वास र आश बाँकी छ भने उसले गर्नुपर्ने कार्य एकदमै महत्वपूर्ण छ । तुलसीदासजी भन्नुहुन्छ— आपतमा परेको अवस्थामा धैर्य र धर्म छोड्नु हुन्न ।
बाढीको कुरा सुन्नासाथै सबैभन्दा पहिले यो तय गर्नुपर्छ कि आफू बसेको स्थान कति सुरक्षित छ, यदि त्यो स्थान सुरक्षित छैन भने सुरक्षित स्थानमा जानुपर्ने हुन्छ । टर्च, औषधि, मोबाइल फोन, मूल्यवान वस्तु एवं कागजात त साथमा लिनुपर्छ तर सामानको मोह गरेर ठूलो भारी बोक्नु हुँदैन । किन भने जान बचे तो लाख उपाय । बाढी एउटा उदाहरण हो । भूकम्प, आगलागी, हुलदंगा, विष्फोट आदि कुनै पनि किसिमको विपद् वा दुर्घटनामा आफ्नो वा आफूहरूको जीवनको रक्षाका लागि तत्पर रहनुपर्छ र अवस्था अनुसार सम्भव भएसम्मको उपाय गर्नुपर्छ । विपद् पूर्व तयारीको क्रममा सञ्चालन गरिने चेतनामूलक कार्यक्रमहरूको उद्देश्य आत्मरक्षाको उपायप्रति जागरुक रहनुपर्छ भन्ने हो । जिम्मेवार निकायहरूले पनि विपद् गाइड प्रकाशित गर्नुपर्छ र विद्यालयको कक्षा, भेला, अन्तक्र्रिया वा घरदैलोको माध्यमले व्यक्ति व्यक्तिलाई विपद्बाट सुरक्षाको ज्ञान दिनुपर्छ ।
धैर्य र धर्मको अनुसरण एक तरहले सेल्फ डिफेन्स (आत्म रक्षा) को विषय पनि हो । अपराध कानूनको तहत सबै नागरिकलाई आत्मरक्षाको अधिकार हुन्छ । यस अधिकार अन्तर्गत व्यक्तिलाई अरुबाट आफ्नो ज्यान एवं सम्पत्तिको रक्षा गर्न पाउने अधिकार हुन्छ । आफ्नो रक्षा गर्दा प्रत्याक्रमणको क्रममा आक्रमणकारीको ज्यान गएमा बात लाग्दैन । तर विपद्को सवालमा अलि भिन्न के कुरा छ भने विपद्मा परेका व्यक्तिले आफ्नो जीवनको रक्षाका लागि तत्काल गर्नुपर्ने कार्य गर्नैपर्छ यद्यपि कि विपद्कारीमाथि प्रत्याक्रमण गर्न सकिन्न ।
-लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।

Online Saptari

About The Author

%d bloggers like this: