• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

अर्थमन्त्रि‍ खतिवडा भन्छन् ‘बजेट मधेश केन्द्रित छ, अब दोष देखाएर पन्छिन मिल्दैन’

अर्थमन्त्रि‍ खतिवडा भन्छन् ‘बजेट मधेश केन्द्रित छ, अब दोष देखाएर पन्छिन मिल्दैन’

सप्तरी, १८ भदौ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले मधेशको भौतिक पूर्वाधार, आर्थिक एवम् सामाजिक रुपान्तरणकालागि अत्यधिक बजेट मधेशमै केन्द्रित गरेको भन्दै सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । वर्तमान सरकारको प्राथमिकतामा मधेश नै रहेकोले यस्तो सुनौलो अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिदै उनले भने ‘मधेशको भौतिक पूर्वाधार, आर्थिक एवम् सामाजिक रुपान्तरणकालागी पर्याप्त बजेट विनियोजन गरेका छौं तर यस्तो सुनौलो अवसरलाई सदुपयोग गर्नु जरुरी छ ।’
स्थानीय, प्रदेश र संघ तीनै तह मिलेर काम गर्नुपर्नेमा जोड दिदै उनले एकअर्काको परिपुरक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । स्थानीय र प्रदेश सरकार आफै अधिकार सम्पन्न भएकोले अब संघीय सरकारलाई दोष देखाएर पञ्छिन नमिल्ने बताउँदै उनले भने ‘अब केन्द्रलाई दोष देखाएर पञ्छिन मिल्दैन, स्थानीय तह र प्रदेश सरकार आफैमा अधिकारसम्पन्न छ त्यसैले आआफ्नो जिम्मेवारी बुझेर अगाडि बढ्नु नै संघीयताको मूल ध्येय पनि हो ।’
आफुहरु मधेशलाई थप सहयोग गर्न प्रतिवद्ध रहेकोले प्राप्त बजेटलाई सदुपयोग गर्दै नपुग बजेटकालागी माग गर्न समेत स्थानीय र प्रदेश सरकारलाई आग्र्रह गरे । वर्तमान सरकारले तराई मधेशको मुख्य मार्गको रुपमा रहेको हुलाकी सडक निर्माण कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको तथा भारत र चीनबाट रेलवेको विषयमा समेत प्रक्रियाहरु अगाडि बढिसकेको अर्थमन्त्री खतिवडाले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमनले राजविराज विमानस्थललाई कार्गो एयरपोटको रुपमा विकास गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराए । यस्तै राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उपेक्षाको शिकार रहँदैआएको तथा यो वर्षको बजेटमा मात्र ६ लाख रुपैयाँ बजेट दिएर विभेदकारी चरित्र देखाएको भन्दै पर्याप्त बजेट व्यवस्था गरी औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन उनले आग्रह गरे ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक किशोर कुमार प्रधान, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य सप्तरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कुमार दासले स्वागत मन्तव्य तथा सञ्चालन प्रमेश्वर झाले गरे ।
यसअघि मन्त्री खतिवडाले राजविराजमा करदाता सेवा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरे । यस्तै अर्थमन्त्री खतिवडाले सोमवारै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण एवम् अवलोकन गरेका छन् ।