
जनकपुरधाम, १७ भदौ । प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे पनि सप्तरीका राजविराज स्थित नेपाल बैंक लिमिटेड र मातहतका कार्यालय अवज्ञा गरेका छन् ।
संघीय सरकारले जन्माष्टमीको विदा कटौती गरे पछि गत विहीवार प्रदेश नम्वर २ को मन्त्री परिषदको बैठकले कृष्णाष्टमीको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई अवज्ञा गर्दै सप्तरीमा नेपाल बैंक लिमिटेडले बैंकिङ्ग कारोबार खुल्ला राखेका छन् ।
प्रदेश सरकारले यसअघि मुस्लिम समुदायको ईद पर्वको अवसर पारेर सार्वजनिक विदा दिँदा सप्तरीको राजविराज स्थित जनकपुर उच्च अदालतको राजविराज ईजलास, सप्तरी जिल्ला अदालत, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, ग्लोबल आइएमई सहितका सरकारी तथा निजी बैंकहरु पूर्ण रुपमा सञ्चालनमा रहेको थियो । यद्यपी कृष्ण जन्माष्टमीको सार्वजनिक विदालाई जिल्ला प्रशासन कार्यालय सहित सम्पूर्ण सरकारी, गैरसरकारी तथा वित्तीय संस्थाहरुले पूर्णतः पालना गरेका छन् ।
नेपाल बैंक लिमिटेड खुल्ला रहे पनि सेवाग्राहीहरुको उपस्थिति एकदमै न्यून देखिएको थियो । सञ्चालनमा रहे पनि अन्य दिनको तुलनामा सेवाग्राहीहरुको चाप भने एकदमै न्यून रहेको थियो
नेपाल बैंक लिमिटेडका प्रमुख राजेन्द्र मण्डलले भने केन्द्रबाट सार्वजनिक विदाको विषयमा आधिकारिक जानकारी नआएकोले बैंकिङ्ग कारोबार सुचारु राखेको बताएका छन् । प्रदेश नम्वर २ सरकारले हिन्दूहरुको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिँदा पनि कार्यान्वयन नभएकोमा जिल्ला स्थित बुद्धिजिवी एवम् नागरिक अगुवाहरुले गम्भीर आपत्ति जनाएका छन् ।



