
राजविराज, १७ भदौ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिकहरुको सहभागितामा सर्लाहीको वागमती नगरमा सम्पन्न सम्मेलन विभिन्न ९ बुँदे सर्लाही घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ ।
नागरिक निगरानीको अवस्था र आवश्यकताबारे सम्वाद गर्न सम्पन्न नागरिक सम्मेलनमा प्रदेश २ को संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफल भएको नागरिक अगुवा एवम् विष्लेशक चन्द्रकिशोरले जानकारी दिएका छन् । नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको सम्मेलनले ठहर गरेका छ ।
संघीय सरकारका काम कार्वाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर सशक्त नागरिक खबरदारी आवश्यक रहेका परिप्रेक्ष्यमा प्रदेश स्तरीय नागरिक सम्मेलनले सर्लाही घोषणपत्र जारी गरिएको उनले जानकारी दिए । संघीयतालाई कार्यान्वयन गर्ने क्रममा सार्थक प्रादेशिक अभ्यासमा देखापरेको संवैधानिक अस्पष्टता, अलमल र अन्यौलको स्थितिलाई अन्त्य गर्न संविधानमा आवश्यक संशोधन रहेकोले तत्कालै संघीय सरकार र संसदले अग्रसरता लिन घोषणापत्रमा आग्रह गरिएको छ ।
संघीयतालाई बलियो बनाउन आठवटै जिल्लाको सामथ्र्य र विविधतालाई आत्मसात् गदैै स्थानीय र संघीय संरचनालाई प्रभावकारी बनाउन प्रादेशिक स्तरमा घनिभूत सम्वाद होस् जसले साझा मनोविज्ञान निर्माण गर्ने कार्यले सुदृढ बनाउनुपर्ने, केन्द्रिय शासकीय अभ्यासमा विद्यमान वेथिति र तदर्थवाद हावी रहेको अवस्थालाई चिर्दै प्रदेश २ को सरकारले सुशासनलाई व्यवहारमा उतार्न एकातर्फ संघीय सरकारको गलत नीतिलाई गलत भनोस्, अर्कोतर्फ प्रादेशिक तहमा नागरिकमैत्री शासन व्यवस्था सुनिश्चित गर्न पारदर्शी र उत्तरदायी सेवा उपलब्ध गराउन माग गरिएको छ । स्थानीय सरकारका योजना निर्माणमा समन्वयकारी भूमिका खेल्न प्रदेश सरकारले विभिन्न किसिमको सहकार्य गर्न आवश्यक आवश्यकता महशुष गर्दै सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै गरीब र सीमान्तकृतलाई प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
समृद्धिसँगै आएका ठूला परियोजनाले प्रायः स्रोतको दोहन गर्ने, वातावरण विनास गर्ने र विपन्न समुदाय विस्थापित गर्ने स्थिति बनिरहेकोले लोक सुनवाइको लागि सम्बन्धित पक्षले तत्काल पहल गरी समृद्धिका विभिन्न मोडेलबारे स्थानीय समुदायका आवश्यकतालाई सम्बोधन गर्ने गरी सार्थक सम्वादलाई स्थान दिन सुझाइएको छ । विकास सूचकांकको सन्दर्भमा बढी पिछडिएका विपन्न समुदाय, दलित र मुस्लिमको बाक्लो उपस्थिति रहेको जिल्लामा संघीय र प्रदेश सरकारका विकास परियोजनाले पछाडि पारिएका समुदायलाई समावेश गर्नुपर्ने हाल बनिरहेका ऐन–कानून र नीति–नियम समावेशी भएको–नभएको सवालमा निरन्तर खबरदारीले बाटो समात्नुपर्ने घोषणापत्रमा जनाईएको छ ।
चुरे शृङ्खला पहाड र मधेसजोड्ने सेतुको सँगै प्रदेश २ लाई एकताबद्ध गर्ने आधार समेत भएकोले प्रादेशिकस्तरमा उत्पादनको मेरुदण्ड नै चुरेको पर्यावरणीय व्यवस्थासँग अन्योयाश्रित रहेकोले प्रदेशको सामथ्र्य, कृषि उत्पादन र समग्र विकास निर्माणका गतिविधिलाई चुरेबाट अलग्याएर हेर्न नमिल्ने भएकोले चुरेको संरक्षणदेखि हुलाकी सडकको अविलम्व निर्माण जस्ता विकास निर्माणतर्फ सबै पक्षको ध्यान जानुपर्नेभन्दै ध्यानाकर्षण गराईएको छ ।
प्रदेश २ का सबै जिल्ला खुला सीमानाको रुपमा भारतसँग जोडिएकाले हाल दुबै देशको प्रबुद्ध समितिले प्रस्ताव गरेको प्रतिवेदनमा खुला सीमानालाई नियमन गर्न जे जस्ता सुझाव प्रस्तावित रहेकोले स्थानीय सरोकारलाई पूर्णतःउपेक्षा गरेकोले सिमा व्यवस्थासँग दीर्घकालीन महत्वको सवालमा स्थानीय समुदायको चाहनालाई पहिलो आधार बनाईनुपर्ने घोषणापत्रमा जनाईएको छ ।
नागरिक सम्मेलनले ठहर गरेका सबै महत्वपूर्ण सवाललाई सार्थक तुल्याउन निरन्तर नागरिक निगरानीको आवश्यकता आत्मसात् गर्दै आउने दिनहरुमा एकले अर्को जिल्लाका सार्वजनिक सरोकारका विषयहरुमा सघाउने, आपसी सहकार्यलाई बढाउने तथा प्रदेश तहमा समेत समन्वय र सहकार्य गरी नागरिक निगरानीलाई प्रभावकारी बनाउने कार्यमा सहमति भएको भन्दै उक्त कार्यका लागि केन्द्रमा रहेका गतिशील नागरिकको समेत सहयोगकोलागी आह्वान गरिएको छ ।
सम्मेलनमा सप्तरीबाट भोला पासवान, विष्णु मण्डल, शिवहरि भट्टराई, सिरहाबाट अशोक कामति, धनुषाबाट डा. सुरेन्द्र लाभ, डा.भोेगेन्द्र झा, उर्मिला यादव, शबनम खातुन। किशोरी साह, महोत्तरीबाट ध्रुव राय, सर्लाहीबाट रजनीकान्त झा, महेन्द्र प्रसाद कर्ण, यामीनि कुमार दिप, सरस्वती सुब्बा, लक्ष्मी सिंह दनुवार र जयशंकर सिंह सहभागी भएका थिए । यसैगरी रौतहटबाट कुशहरि मैनाली, रामनरेश यादव, बाराबाट देवेन्द्र गिरी, राजेश्वर चौरसिया, प्रेमलाल चौधरी, पर्साबाट निभा सिंह, रामेश्वर सेढाई, चन्द्रकिशोर र भरत सहनी उक्त सम्मेलनमा सहभागी भएका थिए ।



