• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बढ्दो बलात्कार लगायत यौनजन्य घटनाप्रति सरोकारवालाको चिन्ता

बढ्दो बलात्कार लगायत यौनजन्य घटनाप्रति सरोकारवालाको चिन्ता

राजविराज, १४ भदौ । सप्तरी जिल्लामा बलात्कार लगायत यौनजञ्य हिंसाका घटनामा बृद्धि भईरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वय तथा सर्च फर कमन ग्राउण्डको सहकार्यमा विहीबार राजविराजमा आयोजित ‘यौनजन्य हिंसाबाट पीडित महिलाको न्याय र सुरक्षामा पहुँच’ विषयक सम्वाद कार्यक्रममा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । अबोध बालिकादेखि बृद्धासम्म बलात्कारको शिकार भएको घटनाहरु प्रकाशमा आएको भन्दै यसको न्यूनिकरण र दोषीलाई कडा कार्वाहीको भागिदार बनाउन सरोकारवालाहरुले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बढ्दो जघन्य प्रकृतिका यौनजन्य हिंसाले गर्दा समाजिक संरचना नै ध्वस्त हुने अवस्थामा पुगेकोले यसलाई रोक्नकालागि प्रहरी प्रशासन मात्र नभई समाजका हरेक निकायले आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । महिला हिंसासँग सम्वन्धित कुनै पनि घटनालाई आफुहरुले गम्भीरतापूर्वक लिने गरेको बताउँदै उनले भने ‘दोषीलाई कुनै पनि बहानामा हामी छाड्दैनौ, कानूनी कठघरामा उभ्याउन कुनै कसर बाँकी राख्दैनौं ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले मदिरा सेवन, मोबाइल वा इन्टरनेटमा पोर्न साइटहरुमा पहुँच, नैतिक शिक्षाको अभाव, घरपरिवार र समाजले आफ्नो भूमिका नबुझिदिनु जस्ता कारणले बलात्कार लगायतका यौनजन्य हिंसामा बृद्धि हुँदैगएको बताए । केही समययता देशैभरि भएका यौनजन्य घटनाहरुले सिङ्गो नेपाली समाजलाई नै चिन्तित तुल्याएको बताउँदै उनले भने ‘स्कूल कलेज पढ्ने विद्यार्थीहरुका साथै समाजमा समेत यस विरुद्ध नैतिक आचरणका साथै कानूनी कार्वाहीको प्रावधानबारे सचेतना जगाउनु जरुरी छ ।’
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्वन्धित मुद्दामा न्यायालय अत्यन्तै गम्भीर रहेको प्रतिवद्धता व्यक्त गरे । महिलासँग सम्वन्धित विभिन्न कसुरमा आएको नयाँ कानूनी व्यवस्थाबारे समेत उनले जानकारी दिए । प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले बलात्कार हुने शंकेत पाएपछि महिलाले आत्मरक्षाकालागि हदैसम्मको उपायहरु अपनाउनुपर्नेमा जोड दिए । साहित्यकार एवम् महिला अधिकारकर्मी करुणा झाले मोबाइल, इन्टरनेट, समाजिक सञ्जालको दुरुपयोग, लागु पदार्थ सेवन, नैतिक आचरणको कमी लगायतका समस्याहरुले गर्दा महिला हिंसाका घटनाहरु चुलिदैगएकोले दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक समेत रहेकी महिला सेल प्रमुख सुजाता तुम्बाहाम्फेले सप्तरी जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा जबरजस्ती करणी सम्वन्धी ३६ ओटा तथा जबरजस्ती करणी उद्योग सम्वन्धी १७ ओटा मुद्दा दर्ता भएको जानकारी दिईन् । कार्यक्रममा नेपाल पत्रका महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रदेश सचिव रामनारायण विश्वास, पत्रकार एवम् प्रा. सुरेन्द्र प्रसाद गुप्ता, सर्च फर कमन ग्राउण्डका सप्तरी संयोजक महेन्द्र महतो, एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख मनिषा सिम्खडा, मानव अधिकारकालागि एकल महिला समूहकी प्रदेश संयोजक अनिता देवकोटा, वैतनिक वकिल मिस्टर चौधरी, अधिवक्ता डोमन साह, हुकोडनका कार्यक्रम प्रवन्धक रामकुमार यादव, सबल नेपालकी अध्यक्ष जुना गिरी, स्वास्थ्यकर्मी सुषमा यादव, जिल्ला कानूनी सहायता केन्द्र, सप्तरी जिल्ला बार एसोसिएसन लगायतका संघ संस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्रकुमार झाद्वारा सहजिकरण गरिएको कार्यक्रम महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले धन्यवाद ज्ञापन गरे ।