• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीमा उदाहरणीय बन्दै टर्की पालन, गाउँमै लाखौं कमाइ

सप्तरीमा उदाहरणीय बन्दै टर्की पालन, गाउँमै लाखौं कमाइ

राजविराज । वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी कमाउन थालेका छन् ।
स्थानीय २३ वर्षिय शाहिद अली र मामा पर्ने २४ वर्षिय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपियन टर्की जातको पंक्षी पालन गरेर नयाँ व्यवसाय थालेका हुन् । आफ्नै मामा आशिकको सल्लाह अनुसार शाहिदले गत वैशाखमा काठमाण्डौबाट २ सय टर्कीको चल्ला ल्याएर गाउँमै पालन शुरु गरे । पाँच सय पचास रुपैयाँका दरल चल्ला मगाएर थालिएकोमा हालसम्म करिब सय ओटा बिक्री समेत गरिसकेका छन् । खोर निर्माण समेत गरी साढे तीन लाख रुपैयाँको लगानीमा शुरुवात गरिएको उक्त व्यवसायबाट लागत खर्च उठिसकेको शाहिदले बताए ।
शुरुमा डराएरै थालिएको टर्की पालनबाट राम्रो आम्दानी हुन थालेकोमा आफुहरु थप उत्साहित भएको जानकारी दिए । उनका अनुसार साढे पाँच सय चल्लामा लगानी गरेकोमा अहिले एउटा टर्की कम्तिमा ६ हजार रुपैयाँमा बिक्री भईरहेको छ । प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुने भाले टर्की १० देखि १३ किलोसम्म हुने गर्छन् भने पोथी पाँचदेखि आठ किलोसम्मको हुने गर्छन् ।
जिल्लामै पहिलो पटक नौलो व्यवसायको रुपमा आफुहरुले शुरुवात गरेकोले टाढाटाढाबाट मान्छेहरु रुचीका साथ हेर्न आउने गरेको तथा टर्की किन्न आउन थालेको शाहिदले बताए । ‘टर्कीको मासु स्वादिलो हुनुका साथै कोलस्ट्रोल र फ्याट एकदमै न्यून हुनुका साथै तागतिलो हुने गरेका कारण हर्ट, डायबिटिज, युरिक एसिड लगायत विरामीहरुका लागि समेत अत्यन्तै लाभदायक हुने गरेका कारण टर्कीको माग एकदमै बढेको छ’ उनले भने ‘हामीकहाँ चल्ला किन्न समेत मान्छेहरु आउन थालेका छन् ।’
माग बढेपछि काठमाण्डौमा समेत चल्ला पाउन समस्या भएपछि आफ्नै फार्ममा रहेको टर्कीले अण्डा दिन थालेकोले चल्ला उत्पादन गरी यो व्यवसायलाई थप बिस्तार गर्ने सोच बनाएको आशिकले जानकारी दिए । आशिकका अनुसार १० कट्ठा जग्गा भाडामा लिएर एक हजार टर्की पालन गर्ने सोच बनेको छ । उनीहरुको फार्मबाट ईटहरी, बिराटनगर, ओखलढुङ्गा, धरान लगायतका सहरहरुमा टर्की पठाउन थालिएको छ । यद्यपी माग अनुसारको टर्की पुर्याउन नसकेको जानकारी दिँदै उनले भने ‘यो व्यवसायबाट हामी अत्यन्तै उत्साहित छौं, यसलाई सप्तरी जिल्लामा ब्राण्डकै रुपमा स्थापित गर्ने संकल्पका साथ अगाडि बढेका छौं ।’
विदेशी पर्यटकहरुले औधी मन पराउने टर्कीलाई कुखुरालाई खुवाउने जस्तै दाना र हरियो घाँसको मुख्य आहारको रुपमा रहेको छ । जिल्लामा समेत टर्कीको मासु खाने पारखीहरुको संख्या विस्तारै बढ्दै गएको जानकारी दिँदै आशिकले भने ‘जिल्लावासीमा समेत टर्कीको स्वाद बसाउनका लागि फत्तेपुरमा फ्रेस हाउस खोलेका छौं, युवाहरुले विदेश गएर कठिन परिश्रम गर्नुभन्दा गाउँमै यस्तै व्यवसाय गरेर समाज र देशकालागि योगदान दिएर स्वाभिमान बन्नुपर्दछ ।’
यसरी बन्यो टर्की पालनको योजना
शाहिद स्नातक गरेर मोरङ्गको बिराटनगर स्थित सरोचियाको माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत थिए । शिक्षण पेशामा रहेका शाहिदलाई आफ्नै मामा आशिकले बाहिर बस्नुभन्दा बरु आफ्नै गाउँमा टर्की पालन गरेर राम्रो आम्दानी कमाउन सकिने योजना सुनाए । आफ्ना एक साथीले काठमाण्डौमा टर्की पालन गरेर राम्रो आम्दानी कमाईरहेको कुरा सुनाएपछि शाहिद बिराटनगरको जागिर छाडेर टर्की पालन शुरु गरे ।
जिल्लामै पहिलो पटक टर्की पालन व्यवसाय थालेपछि घरपरिवार, आफन्तजनका साथै समाजले समेत विश्वास गरेन । शुरुमा उनीहरुले थुप्रै आलोचना सहे । तर मामा–भाञ्जाले आफ्नो संकल्पलाई पुरा गर्न लागिरहे । टर्की ठूलो भएपछि गाउँमै खरिद गर्नेहरु आउन थालेपछि अहिले दुई युवा चौतर्फी प्रशंसापात्र बनेका छन् ।
शाहिदसँग शिक्षण पेशाको राम्रो अनुभव भएका कारण हाल स्थानीय एक निजी विद्यालयमा समेत प्रिन्सिपलको जिम्मेवारीमा रहेर शिक्षा क्षेत्रमा समेत योगदान दिईरहेका छन् । अर्का युवा आशिकको काठमाण्डौमा आफ्नै व्यवसाय समेत रहेकोले फार्ममा समेत आउजाउ गरिरहन्छन् । टर्कीको बिक्री लगायतका कामहरुको जिम्मा उनले लिएका छन् भने मुख्य रुपमा फार्म सम्हाल्ने जिम्मा शाहिदलाई दिएका छन् ।