• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सरकारी उपेक्षाका कारण निराश बन्दै भारदहका केरा कृषक

सरकारी उपेक्षाका कारण निराश बन्दै भारदहका केरा कृषक

राजविराज, ७ भदौ । प्रदेश नम्वर–२ मै केरा खेतीको हब मानिने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु सरकारी उपेक्षाका कारण केरा खेतीबाट विस्थापित हुन थालेका छन् ।
रसायनिक मलखाद, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित हुन थालेका हुन् । कोशी नदीको बगर तथा आसपास क्षेत्रमा जिल्लाको भारदह, पोर्ताहा, मधवापुर, योगिनियाँ, हनुमाननगर, भलुवा लगायतका गाउँका करिब पाँच किसानले करिब एक हजार बिघामा केरा खेती गर्दैआएका छन् ।
केरा खेती गरेरै प्रत्यक्ष रुपमा पाँच सय परिवारको गुजाराको माध्यम बनेको केरा खेतीका लागि सहज रुपमा मलखाद, किटनाशक औषधी, प्राविधिकको रेखदेख र उचित बजारभाउ समेत समेत नपाउँदा केरा खेतीबाट विस्थापित हुने अवस्था आएको केरा कृषक रामजनम यादवले दुःखेसो सुनाए ।
केरा खेतीकालागि सहज रुपमा सप्तरी जिल्लामा मलखाद समेत उपलब्ध नहुने गरेको बताउँदै उनले भने ‘सप्तरी जिल्लामा रसायनिक मल उपलब्ध नभएपछि सुनसरीबाट दुःख गरेर ल्याउनुपर्ने अवस्था छ, अर्को मुख्य समस्या प्राविधिक सहयोग समेत नपाउनु हो ।’ निक्कै मेहनत गरेर उत्पादन भएको केराले उचित बजार भाउ नपाउने अवस्था रहेकोले विस्तारै केरा खेतीबाट किसानहरु विस्थापित हुन थालेको उनले बताए ।
शुरुमा केही किसानले थालेको केरा खेती अहिले सघन रुपमा हुँदै आए पनि सरकारी
स्तरबाट आफुहरुले कुनै सुविधा नपाएको अर्का केरा कृषक सुधेश्वर रजकले बताए । केरा हुर्काउन आफुहरुलाई निक्कै मेहनत गर्नुपरेको बताउँदै उनले भने ‘प्रदेश नम्वर २ को ब्राण्डको रुपमा भारदहको केरा खेतीलाई स्थापित गर्न सकिन्छ तर यसतर्फ हालसम्म कुनै पहल भएको छैन ।
अत्यधिक मेहनतका बावजुद पनि उत्पादित केराले उचित मूल्य पाउने अवस्था नरहेकोले केरा खेतीमा लागेका युवाहरु विस्तारै निराश भएर वैदेशिक रोजगारीतर्फ आकर्शित हुन थालेको स्थानीय सञ्चारकर्मी समेत रहेका केरा कृषक राजु शर्माले बताए । केरा खेतीलाई प्रोत्साहन गर्नुका साथै बजार व्यवस्थापनमा ध्यान दिईए सप्तरी जिल्लाको मात्र नभई प्रदेशको आर्थिक समृद्धिमा समेत मद्दत मिल्ने प्रबल सम्भावना रहेको उनको भनाइ छ ।
यस्तै भनाइ रहेको भारदह व्यापार संघका अध्यक्ष कुन्दन कुमार मण्डल ‘पप्पु’को । केरा खेतीमा पाँच कृषक प्रत्यक्ष रुपमा आवद्ध रहेको तथा त्यसमा करिब २ हजार कृषि मजदुर समेत रोजगारी पाएकोले भारदहको केरा खेतीलाई थप व्यवस्थित गरी किसानहरुलाई सुविधा दिन सके निरुत्साहित हुँदै गएका किसानलाई प्रोत्साहन गर्न सकिने उनको भनाइ छ ।
यस विषयमा प्रदेश नम्वर २ का भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशकै नमूना केरा खेती हुने भारदहलाई स्पेशल जोनको रुपमा विकास गर्न विशेष योजना ल्याईने विश्वास व्यक्त गरे । विगतमा केरा किसानहरुले झेल्दैआएको मलखाद, किटनाशक औषधी, कृषि प्राविधिक लगायतको समस्यालाई समाधानकालागि पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
बाघनगर, नटबर, जहाजी, चिनीचम्पा, कुरकुटिया लगायत विभिन्न जातका केरा बाह्रै महिना उत्पादन हुदै आएको यहाँबाट दैनिक ५ ट्रक केरा निर्यात हुने गर्दछ । काठमाण्डौ, पोखरा, नारायणघाट, वीरगञ्ज, जनकपुर, विराटनर लगायत शहरको २५ प्रतिशत माग भारदहको केरा बगानले नै पूर्ति गर्दै आएको छ ।