‘सप्तरीमा घरेलु हिंसाका घटना अत्यधिक’

‘सप्तरीमा घरेलु हिंसाका घटना अत्यधिक’
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ भदौ । सप्तरी जिल्लामा हुने विभिन्न प्रकृतिका घटनाहरुमध्ये करिब ८० प्रतिशत घरेलु हिंसा नै रहेको राजविराजमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरुले स्वीकार गरेका छन् ।
युके एड र सर्च फर कमन ग्राउण्डको सहयोग एवम् नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वयमा मङ्गलवार आयोजित ‘हिंसा प्रभावित महिलाको न्याय र सुरक्षामा पहुँच’ विषयक सम्वाद कार्यक्रममा सरोकारवालाहरुले यस्तो ठहर गरेका हुन् । जिल्ला सर्वाधिक घरेलु हिंसाबाट महिलाहरु पीडित हुने गरे पनि न्यायिक तथा अद्र्ध न्यायिक निकायमा एकदमै कम हिंसा पीडित महिला पुग्ने गरेको सरोकारवालाहरुले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीकी प्रहरी निरीक्षक समेत रहेकी महिला सेलकी प्रमुख सुजाता तुम्बाहाम्फेले प्रहरीमा परेका उजुरीहरुमा करिब ५ सय घरेलु हिंसासँग सम्वन्धित रहेको बताईन । ‘महिला हिंसाका घटनामा हामीहरु अत्यन्तै सम्वेदनशिल छौ’ उनले भनिन् ‘घरेलु हिंसाका घटनाहरु न्युनिकरण विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको भए पनि विभिन्न कारणले अपेक्षाकृत पीडित महिलाहरु अझैं प्रहरीमा आउन सकेको छैन ।’ केही झुटा मुद्दा समेत प्रहरीमा आउने गरेकोले त्यस्ता विषयहरुलाई बुझेर मात्रै मुद्दा दर्ता गर्ने गरिएको प्रहरी निरीक्षक तुम्वाहाम्फेले बताईन् ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार दिल कुमार बर्देवाले सप्तरी जिल्लामा महिला हिंसा सम्वन्धित घटना समेत अत्यधिक रहेको बताए । परिवारजनबाट ज्येष्ठ नागरिक, पतीबाट पत्नी पीडित भएका मुद्दाहरु समेत अदालतमा आउने गरेको जानकारी दिँदै उनले भने ‘महिला हिंसा लगायत विभिन्न कसुरहरुको विषयमा नयाँ कडा कानुन समेत लागु भईसकेको कुरा जनमानसमा जानु जरुरी छ ।
हुकोडन राजविराजका प्रबन्धक रामकुमार यादवले प्रहरीमा समेत सानातीना विवादहरु आपसी समझदारीमा समाधान गर्ने गरेको भए पनि मेलमिलाप प्रक्रियाको विषयमा वास्तविकता बुझेर मात्रै दुवैपक्षको जीतजीत हुने गरी मेलमिलाप गराउनुपर्नेमा जोड दिए । राजविराज नगरपालिकाकी उपमेयर समेत रहेकी न्यायिक समितिकी संयोजक साधना झाले न्यायिक समितिमा ४५ ओटा मुद्दा रहेको ७ ओटा, ज्येष्ठ नागरिक, श्रीमान् श्रीमतीसँग सम्वन्धित मुद्दा रहेको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, महिला अधिकारकर्मीहरु अनिता देवकोटा, उमा पोखरेल, ज्ञानु भट्टराई, सर्च फर कमन ग्राउण्डका प्रतिनिधि महेन्द्र महतो, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षद्वय श्यामसुन्दर यादव, सुधा देव, सचिव जितेन्द्र कुमार झा, कोषाध्यक्ष शुभचन्द्र झा, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत, सरकारी वकिल कार्यालय, वैतनिक कानून व्यवसायी समेतको सहभागिता रहेको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: