• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी

औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी

राजविराज, ४ भदौ । कार्यालयका कर्मचारीको लापरवाहीका कारण वषौंदेखिको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि समाधान नभएको भन्दै राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको व्यस्थापन कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ ।
उद्योगीहरुको सङ्गठन उद्योग संघका पदाधिकारीहरुद्वारा संयुक्त रुपमा औद्योगिक क्षेत्रमा तालाबन्दी गरिएको हो । कार्यालयमा उपस्थित कर्मचारीहरुलाई बाहिर निकालेर करिब १२ बजेको समयमा तालाबन्दी गरिएको संघका अध्यक्ष जिबछ यादवले जानकारी दिएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–५ मलेठ–बसबिट्टीमा अवस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा नियमित हट लाइन विद्युत सेवा, पानी, सुरक्षा, फोहोर व्यवस्थापन र भत्किएका पर्खालहरु तत्काल मर्मत हुनुपर्ने लगायतका मागहरु राख्दै आफुहरुले अनिश्चितकालिन तालाबन्दी गरेको उनले बताए ।
‘हामीहरुले मागबारे पटक–पटक कार्यालयलाई जानकारी गराउँदा पनि आज–भन्दै टार्दैआएकोले बाध्य भएर अनिश्चितकालिन तालाबन्दी गरेका हौं’ उनले भने ‘अझैं हाम्रो मागमाथि सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’
औद्योगिक क्षेत्रमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघले सोमवार अनश्चितकालिन तालाबन्दी गरेको हो । भारत सरकारको सहयोगमा २०५१ सालमा स्थापित औद्योगिक क्षेत्र सुरुदेखि नै विभिन्न समस्यावाट प्रभावित हुदै आएपनि कर्मचारीको वेवास्ताका कारण अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उद्योगीहरुको आरोप छ ।
विद्युत पटक–पटक आउने र जाने क्रमले गर्दा आफुहरुको उद्योग घाटामा गईरहेकोले उक्त समस्याको अविलम्ब समाधान हुनुपर्ने संघका महासचिव रामकुमार दासले बताए । ऋण काढेर उद्योग सञ्चालन गरेको जानकारी दिँदै उनले भने ‘समस्यै समस्याका बीच हामीले उद्योग लगाएका छौं तर कम्तिमा विद्युत, पानी र सुरक्षाको प्रबन्ध भए राहत हुनेथियो, यदी यस्तै रह्यो भने उद्योग नै बन्द गर्नु बाहेक अर्को विकल्प रहँदैन ।’
वि.सं. २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो औद्योगिक क्षेत्रमा १० मध्ये ३ वटा सेडमा मात्रै उद्योग सञ्चालनमा छन् । आफ्नै लगानीमा सेड निर्माण गरी कोशी पोलिमर्श उद्योग समेत सञ्चालनमा रहेको छ । हाल औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ३ वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को. ईलेक्ट्रोड्स, पदमज्योती प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् ।
औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भईरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
यता राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा उद्योगीहरुले गरेको तालाबन्दीप्रति कार्यालय प्रमुख दिपक आचार्यले चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले अघिसारेको मागमा उल्लेखित समस्याहरु समाधानकालागि आफुहरुले पहल गरिरहेको उनले बताए ।