• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

आश्वासनमा सिमित नहोस् मेडिकल कलेज स्थापना

आश्वासनमा सिमित नहोस् मेडिकल कलेज स्थापना

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जनकपुरमा प्रदेश सभालाई सम्बोधनका क्रममा प्रदेश २ मा विशेष रुपमा विकासीय कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । यस प्रदेशमा आफ्नो बढी बिरोध भएको भन्दै उनले यहीँ विकासीय काम पनि बढी गरेर देखाउने उद्घोष गरेका हुन् । उनले यसैक्रममा सप्तरीको सदरमुकाम राजविराजमा मेडिकल कलेज स्थापनाका बारेमा सोच बनेको समेत उल्लेख गरेका छन् ।
बरिष्ठ गणतन्त्रवादी नेता स्व.रामराजाप्रसाद सिंहको नाममा उक्त मेडिकल कलेज स्थापना गरिनेतर्फ विचार भईरहेको समेत प्रधानमन्त्री ओलीले खुलासा गरेका छन् । राजविराजमा मेडिकल कलेज स्थापनाकालागि पहल भईरहेको विषयमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट निर्वाचित भए यता निकै चर्चामा छ । यादव उप–प्रधान तथा स्वास्थ्य मन्त्री भईसकेपछि त उक्त कलेज स्थापनाका साथसाथै गिर्दो अवस्थामा रहेको यहाँको स्वास्थ्य सेवाको स्तर पनि उकासिएला भन्ने जनअपेक्षा पनि नरहेको होईन ।
सप्तरी जिल्लाबाट विगतमा पनि कोही न कोही मन्त्री लगायत अन्य उच्च पदमा प्रतिनिधित्व नगरेका होईनन् । तर पनि यस जिल्लामा विकासीय काम जे जति हुनु पर्ने हो त्यो त भएन नै । यसका अतिरिक्त स्वयम् आफैंले गरेका प्रतिवद्धता पनि ती उच्च पदस्थले पूरा गर्न नसकेका अनगिन्ती उदाहरण छन् ।
यस पटक यहाँ मेडिकल कलेज स्थापनाकालागि राम्रो संयोग जुरेको मान्न सकिन्छ । विभागीय मन्त्रीदेखि राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव समेतले राजविराजमा मेडिकल कलेज स्थापनाको विषयलाई जोड दिँदै आएका कारणले पनि संयोग राम्रो देखिँदै छ । त्यसमाथि प्रधानमन्त्री स्वयम्ले पनि शनिबार जनकपुरमा सम्बोधनका क्रममा यस विषयको उठान गरिदिँदा सप्तरीवासी अझै उत्साहित भएका छन्, जसलाई स्वाभाविक नै मान्नु पर्दछ ।
लामो समयको प्रतिक्षा पछि बल्ल राजविराज विमानस्थलको स्तरोन्नति भई यहाँ नियमित विमान सेवा सञ्चालन भईरहेको छ । अव मेडिकल कलेज पनि स्थापना भई दिएमा यहाँ विकासको गति आउनेमा शंका मान्नु पर्दैन । विकासीय दृष्टिले पछाडि पर्दै गएको सप्तरीको अवस्था सुधारकालागि यहाँ मेडिकल कलेजको स्थापना सप्तरीवासीको सपना पनि मान्न सकिन्छ । यदि यो सपना पूरा भयो भने यस जिल्लामा पनि विकासको ढोका अवश्य खुल्नेछ, कुनै आशंका रहने छैन ।
विगतको अनुभवलाई कोट्याउने हो भने यहाँ काम भन्दा आश्वासन बढी रहने गरेको कुरा पनि नौलो होईन । चुनावका बेलामा दिएको आश्वासन थोरै पनि पूरा नगरिएका कारणले सप्तरी बारम्बार ठगिँदै आएको छ । यस पटक मेडिकल कलेज स्थापनाको विषय विगतको जस्तो आश्वासनमा मात्रै सिमित नहोस् । सप्तरीवासी जनताले चाहेको यस सपनाले कार्यरुप लेओस् । यसकालागि सबै पक्षबाट ईमान्दारितापूर्ण पहलको आवश्यकता छ । यसकालागि खास गरी यहाँका राजनीतिक दल तथा जनप्रतिनिधिहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु बढी जरुरी देखिन्छ ।