• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

कलाकारहरुद्वारा मैथिली निर्देशक धर्मात्माको निधनमा श्रद्धाञ्जली सभा

कलाकारहरुद्वारा मैथिली निर्देशक धर्मात्माको निधनमा श्रद्धाञ्जली सभा

राजविराज, ३० साउन । मैथिली सिनेमा एवम् हास्यव्यंग्य श्रृंखलाका चर्चित निर्देशक धर्मेन्द्र धर्मात्माको निधनमा सप्तरीका कलाकारहरुद्वारा राजविराजमा श्रद्धाञ्जलीसभाको आयोजना गरियो ।
जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताहरुले धर्मात्माले मैथिली कला क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरे । मैथिली क्षेत्रमा कलाकारहरुको प्रतिभालाई प्रष्फुटित गरी छोटो समयमै उदाहरणीय काम गरेको भन्दै सहभागी कलाकर्मीहरुले मुक्तकण्ठले प्रशंसा गरे ।
स्व. धर्मात्मालाई श्रद्धाञ्जली दिने क्रममा अधिकांश कलाकारहरुको आँखा रसाएका थिए भने केही कलाकर्मी रोएका थिए । स्व. धर्मात्माको विषयमा मन्तव्य व्यक्त गर्ने अधिकांश वक्ताहरुको गला नै केहीबेर गला नै अवरुद्ध भएका थिए ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव, निर्देशक राजु चौधरी, निर्देशक एवम् छायांकार कुन्दन कुमार मण्डल ‘पप्पु’, गायकहरु कैलाश झा, सन्नु कुमार, केशव कुमार चौधरी, गीतकारहरु अशोक झा, रबेन्द्र मडर ‘रवि’, नायक करण साह, कलाकार महेन्द्र प्रसाद मण्डल ‘बनवारी’, जिबछ दास, पशुपति दास, भूपेन्द्र कुमार मण्डल, सरस्वती राउत, दशनी यादव, प्रिती अधिकारी, धर्मेन्द्र चौधरी, धर्मात्माका सहकर्मी सुरज साह, अमरदिप साह, पशुपति दास, प्रदिप चौधरी लगायतले स्व. धर्मात्माको योगदानबारे चर्चा गरे ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ मोहनपुर निवासी चर्चित फिल्म निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को मङ्गलवार विहान उपचारको क्रममा निधन भएको थियो ।
विगत केही महिनादेखि विरामी भई उपचारार्थ रहँदैआएका उनको काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा २७ वर्षको अल्पायुमा निधन भएको हो । उनी मधुमेह, ब्लड प्रेसर सहित विभिन्न रोगबाट ग्रसित भई विरामी रहँदैआएका थिए ।
विगत एक दशकदेखि मैथिली कला क्षेत्रमा सक्रिय रहँदैआएका उनले एक दर्जन भन्दा बढी मैथिली फिल्महरुको निर्देशन एवम् अभिनय गरिसकेका छन् । छोटो समयमै मैथिली कलाक्षेत्रमा पहिचान बनाउन सफल धर्मात्माले धर्मेन्द्र धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को व्यानरमा राधा सङ्ग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोग जस्ता फिल्महरुको निर्माण गरेका छन् । पछिल्लो समय ‘कलंक’ नामक मैथिली फिल्म छायांकनमा व्यस्त रहेका उनी अचानक गम्भीर रुपमा विरामी परेका थिए ।
यस अतिरिक्त मैथिली कलाक्षेत्रको विकासका साथै कलाकारलाई व्यवसायिकतातर्फ उन्मुख गराउने अभियानमा जुटेका धर्मात्माले ‘मैथिली खुशी’ युट्युब च्यानल मार्फत मैथिली हास्यव्यंग्यमा विभिन्न विषयवस्तुलाई आधार बनाएर सर्वाधिक करिब दुई सय भन्दा कमेडी श्रृंखला निर्माण गरिसकेका छन् । मैथिलीमा सर्वाधिक लोकप्रिय रहेको उनको च्यानलमा सम्भवतः हालसम्मकै सर्वाधिक ३ लाख ५४ हजार ७ सय १४ सब्सक्राइबर रहेको छ भने मैथिलीमा सर्वाधिक हेरिने च्यानलको रुपमा समेत स्थापित छन् । उनका च्यानलमा रामलाल, फूलमतीया र जनकपुरवाली पात्रको नाम मैथिलीभाषी दर्शकहरु बिच निक्कै चर्चित छन् ।
काठमाण्डौमा सघन उपचारका क्रममा मृत्यु भएका धर्मात्माको शव मङ्गलवार राती नै जन्मस्थान ल्याई अन्तिम संस्कार गरिएको छ । मानसरोवर यादव एवम् मिना देवी यादवका सुपुत्र धर्मात्माका पत्नी रेखा यादव, ६ वर्षका छोरा शंकर र डेढ वर्षको छोरी रहेको छ । समान्य परिवारमा जन्मिएका उनी सानैदेखि कलाक्षेत्रतर्फ आकर्शित हुँदै मैथिली कलाक्षेत्रमा समर्पित भएका थिए । उनको निधनमा सिङ्गो मिथिला क्षेत्रका कलाकर्मीहरु स्तब्ध भएका छन् ।