राजविराज औद्योगिक क्षेत्र जलमग्न, उद्योगहरुमा समेत समान्य क्षति

राजविराज औद्योगिक क्षेत्र जलमग्न, उद्योगहरुमा समेत समान्य क्षति
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ साउन । शनिवार रातीको वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टी स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ ।
भारत सरकारको सहयोगमा २२ बिग्घा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको हो । गत वर्षको बाढीका कारण भत्किएका पर्खालहरु अझै मर्मत हुन नसक्नु तथा पानीको समुचित निकास हुन नसक्दा औद्योगिक क्षेत्र जलमग्न हुन पुगेको उद्योग व्यवसायीहरुले गुनासो गरेका छन् ।
पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगहरुमा समेत पानी पस्दा लाखौंको क्षति भएको कोशी पोलिमर्शका सञ्चालक प्रमेश यादवले जानकारी दिए । उनका अनुसार उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकल लगायत कच्चा पदार्थहरुमा क्षति भएको छ । ‘सरकारी उपेक्षाको मार खेप्दै उद्योग सञ्चालन गर्दैआएकोमा उद्योगमा पानी पसेर क्षति भएको छ’ उनले भने ‘अझैं पनि पानीको निकास नभए तथा वर्षा भएमा थप क्षति हुने सम्भावना बढेको छ ।’
औद्योगिक क्षेत्रमा व्यापक समस्या रहेको भन्दै हाल जलमग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब समस्या समाधान गर्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष जिबछ यादवले बताए । ‘पर्खाल भत्किएको एक वर्षभन्दा बढी भईसकेको छ तर अहिलेसम्म सरकारको ध्यान पुग्न सकेको छैन’ उनले भने ‘यो समस्या समाधान भएन भने हामीहरु आन्दोलनको बाटो रोज्न बाध्य हुन्छौं ।
उद्योगी व्यवसायीहरुको समस्याप्रति कसैको ध्यान पुग्न नसकेका कारण औद्योगिक क्षेत्र जर्जर बन्दैगएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघका महासचिव रामकुमार दासले बताए । संघीय सरकार र प्रदेश सरकारले समेत यो औद्योगिक क्षेत्रलाई उपेक्षा गरेको बताउँदै उनले भने ‘यो औद्योगिक क्षेत्र नचलोस् भन्ने मनसायले बजेट समेत नदिएर विभेद गरेको छ ।’
यस विषयमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख दिपक आचार्यले समान्य वर्षामै औद्योगिक क्षेत्र जलमग्न भएकोले केही उद्योगहरुमा समेत क्षति भएको स्वीकार गरे । उक्त समस्या समाधानका लागि रुपनी गाउँपालिका प्रमुख हरेराम यादव लगायतका सरोकारवालालाई जानकारी गराएर पहल थालिसकेको उनले बताए ।
संघका सचिव २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेपछि स्थापना कालदेखि नै विभिन्न समस्यावाट प्रभावित हुदै आएको औद्योगिक क्षेत्रमा १० मध्ये ३ वटा सेडमा मात्रै उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भईरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । आफ्नै लगानीमा सेड निर्माण गरी कोशी पोलिमर्श उद्योग समेत सञ्चालनमा रहेको छ ।
हाल औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ३ वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को. ईलेक्ट्रोड्स, पदमज्योती प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् ।

Online Saptari
Online Saptari

About The Author